संविधानको दोस्रो संशोधन सर्वसम्मत, नेपाली भूभाग नक्सामा समेटियो


लक्की चौधरी
काठमाडौं, जेठ ३२ गते । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढी मतले पारित भएको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्तावमा मतविभाजन हुँदा सर्वसहमतिले पारित भएको हो । सोअघि विधेयकमाथि दफाबार छलफल भएको थियो ।

प्रतिनिधिसभामा कुल सदस्य संख्या २७५ मध्ये शनिबार २५८ जनाको उपस्थिति थियो । उपस्थित सबै सदस्यले पक्षमा मतदान गर्नुभयो । विधेयकको विपक्षमा शुन्य मत परेको सभामुख अग्नीप्रसाद सापकोटाले बताउनुभयो । मत विभाजन गर्दा उपस्थित सबै सदस्यले पक्षमा मतदान गरेकोभन्दै सभामुख सापकोटाले विधेयक दुई तिहाईभन्दा बढीले पारित भएको घोषणा गर्नुभयो । बैठकमा १७ जना सांसद अनुपस्थित रहनुभयो ।

संशोधन प्रस्ताव पारित भएसँगै नेपाली भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग नेपाली नक्सामा समेटिएको छ । संसदबाट विधेयक पारित भएपछि नयाँ नक्साले संवैधानिक मान्यता प्राप्त गरेको छ ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम १३७ को उपनियम (९) मा संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाई सदस्यको बहमुतबाट स्वीकृत भएमा विधयेक पारित भएको मानिनेछ व्यवस्था छ ।

त्यस्तै, उपनियम (१०) मा संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ व्यवस्था छ ।

दफाबार छलफलमा कुन नेताले के भने
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जिम्मेवारीकासाथ सहमति र सहकार्यद्वारा जनतालाई राहत दिने परम्परा नेपालीमा रहेको बताउनुभयो । देशको भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा सबै एक हुनु नै देशको हितमा छ उहाँले भन्नुभयो । ‘राजतन्त्र’ले हिजो गुमाएको नेपाली भूभाग ‘गणतन्त्र’ले फर्काइरहेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।

‘यो सामुहिक विवेकको प्रतिफल हो, व्यक्ति विशेषको मुद्दा होइन’ उहाँले भन्नुभयो । राजनीतिक र कुटनीतिक तहमा नेपाल–भारत सरकारसँग वार्ता संवाद गरेर समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । यस विषयलाई गम्भीरतापूर्वक लिइदिन उहाँले भारत सरकारँग आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काली नदी पूर्वको भूभाग नेपालको रहेको स्पष्ट रहेकाले सरकारको प्रस्तावमा आफूहरुले समर्थन गरेको बताउनुभयो । ‘राष्ट्रिय हितमा सबै नेपाली एक हुन्छन् भन्ने सन्देश प्रवाह भएको छ’ उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले छिमेकी मुलुकबीच कुनै असर नपर्नेगरी कुशल वार्ताद्वारा समस्या समाधान गरिनुपर्ने बताउनुभयो । राष्ट्रियताको सवालमा सबै दल र नेपाली जनता एक ठाउँमा आउनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले गुमेको नेपाली भूमि नक्सामा फर्काउने ऐतिहासिक काम भएको बताउनुभयो । अब बाँकी काम वार्ता र संवादबाट पूरा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । राजनीतिक दलका नेताहरु कुरामात्र गर्छन्, काम गर्दैनन् भन्ने नेपाली जनताको आशंका मेट्ने काम भएको उहाँले प्रष्ट पार्नुभयो । राष्ट्रियताको विषय सबै नेपालीको साझा मुद्दा भएकाले सबै एकजुट भएको उहााले बताउनुभयो । वार्ता र संवादबाटै नेपाली भूमि फिर्ता ल्याउन उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिङ्देनले मुलुकको अखण्डता, सार्वभौमसत्तासँग सम्बन्धित विषय भएकाले संशोधनमा सबैको साथ र समर्थन रहेको बताउनुभयो । सरकारको प्रस्तावमा आफ्नो दलको निसर्त समर्थन रहेको बताउनुभयो । भारतलाई सम्झाएर, चित्त बुझाएर नेपाली भूमि फिर्ता लिनुपर्ने उहाँले प्रष्ट पार्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा सांसद विष्णुप्रसाद पौडेलले आजको दिन नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिने बताउनुभयो । नक्सा नबनाईकन नेपाली भूमि फिर्ता ल्याउन असम्भव भएकाले पहिले नक्सा सार्वजनिक गरिएको उहाँले बताउनुभयो । गुमेको नेपाली भूमि वार्ता र संवादबाटै फिर्ता ल्याउने उहाँले विश्वास दिलाउनुभयो ।

नेकपाका नेता भीमबहादुर रावलले भौगोलिक अखण्डताका लािग सबैको आवाज एक हुनु गौरवको कुरा भएको बताउनुभयो । नक्सामा भूभाग अङ्कित भएपनि व्यवहारिकरुपमा फिर्ता ल्याउन बाँकी रहेकाले कुटनीतिक कुशलता देखाउनुपर्छ भन्नुभयो ।

राष्ट्रिय जनमोर्चा पार्टीका सांसद दुर्गा पौडेलले नेपाली भूमिलाई कुटनीतिक वार्ता र संवादबाटै फिर्ता ल्याउनुपर्ने बताउनुभयो । छिमेकी मुलुक भारतले अहिलेसम्म आग्रह नमानेकाले संयुक्त राष्ट्र संघसम्म पुग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले ७१ ठाउँमा नेपाली भूमि भारतद्वारा मिचिएकाले कालापानीसँगै सबै भूमि फिर्ता ल्याउने पहल गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया