हमार पहुरा डट कम
धनगढी, असार १० गते । कैलाली जनपुस्तकालय धनगढीले यसवर्षको पूर्ण कृष्णा राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार काठमाडौ निवासी साहित्यकार भागिरथी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिभा छनौट समितिको पुस्तकालयमा बसेको बैठकले उक्त निर्णय गरेको कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टिएन जोशीले बताउनुभयो ।
वरिष्ठ साहित्यकार सुश्री श्रेष्ठ प्रिया पत्थरले आफ्ना माता पिताको स्मृतिमा कैलाली जनपुस्तकालय धनगढीमा तीन लाख रुपियाँको अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष एकजना साहित्यिक प्रतिभालाई राष्ट्रिय स्तरमा पुरस्कार प्रदान गर्नेगरि सो पुरस्कार स्थापना गरिएको पुस्तकालयका अध्यक्ष जोशीले जानकारी दिनुभयो । पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र रहेको छ।
कैलाली जनपुस्तकालयका अध्यक्ष डा. जोशीको अध्यक्षतामा बसेको बैठकमा पुरस्कारका संस्थापक सुश्री श्रेष्ठ प्रिया पत्थर, पुरस्कार छनौट समितिका सदस्य साहित्यकार तथा प्राध्यापक जगन्नाथ जोशी, हेमन्ती जोशी र पुस्तकालयका सचिब टङ्क जोशीको उपस्थिति थियो।
पुरस्कृत हुने साहित्यकार भागिरथी श्रेष्ठका २ दर्जन कृति प्रकाशित हुनुका साथै बिगत पाँच दशकदेखि साहित्यिक क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानस्वरूप उक्त पुरस्कार प्रदान गर्न लागिएको पुस्तकालयले जनाएको छ। लकडाउन पछि उपयुक्त समयमा सो पुरस्कार निजलाई प्रदान गरिने अध्यक्ष डा. जोशीले बताउनुभयो ।