कैलालीको पूर्वी क्षेत्रमा भारी बर्षा, स्थानीय २० घर परे बाढीको डुवानमा


अविनाश चौधरी
धनगढी, असार १९ गते । कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ । विभिन्न नदी र खोलामा आएको बाढी गाउँघरमा पसेर डुबान भएको हो । बिहीबार राति भारी वर्षा भएपछि नदी र खोलाहरूमा बाढी आएको छ । वर्षाका कारण भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकामा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार काँढा नदीमा बाढी आउँदा जोशीपुर गाउँपालिका–३ राजीपुर र वडा नम्बर ४ फरिया गाउँमा गरी करिब २० घर डुबानमा परेको छ । घरमा दुई फिटमाथिसम्म पानी पुगेको जनाइएको छ ।

यसैगरी, फरियास्थित हिरालाल चौधरीको घरमा पानी पस्दा कच्ची घर भत्केको विष्टले जानकारी दिनुभयो । ‘घरका सबै सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ’, उहाँले भन्नुभयो, ‘घरबाहेक अरु क्षति भएको छैन ।’

यसैगरी, बर्दगोरिया गाउँपालिका–६ स्थित बासकोटी ९घैला० खोलामा बाढी आउँदा खोला किनारमा रहेको करिब १६ घर डुबानमा परेको छ । बाढीले एउटा गोरु र स्थानीयले पोखरीमा पालेको माछा बगाएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

यस्तै, घोडाघोडी नगरपालिका–२ टनकपुरमा लक्ष्मी न्यौपानेको घर पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । भजनी नगरपालिका–१ र ३ वडामा पनि केही घर डुबानमा परेका छन् । डुबानमा परेका घरको विवरण सङ्कलन गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय भजनीका इन्चार्ज जनक धामीले बताउनुभयो । ‘यी वडाहरूमा पहिलेदेखि डुबान भइरहन्छ’, उहाँले भन्नुभयो, ‘घर डुबेपनि ठूलो समस्या भएको छैन । प्रहरीको टोली त्यसतर्फ खटेको छ ।’

राति भएको भारी वर्षाका कारण जिल्लाको पूर्वी क्षेत्रमा रहेको काँढा, कान्द्रा, पथरैयालगायत नदीमा बाढी आएको जनाइएको छ । भजनी नगरपालिकाको केही भूभाग जलमग्न भएको वडा नम्बर १ का स्थानीय गङ्गाराम चौधरीले बताउनुभयो ।

(गोरखापत्र अनलाईन डट कमबाट)

तपाईको प्रतिक्रिया