अधिकृतको कार्यकक्षमा तालाबन्दी


Napa

कारी महतो
खैरहनी, (चितवन) पुस १२ गते । खैरहनी नगरपालिकाको नवनियुक्त कार्यकारी अधिकृत अमरनाथ ढकालको कार्यकक्षमा सर्वदलीय संयन्त्रले तालाबन्दी गरेको छ । कार्यकक्षको ढोकामा प्रेस विज्ञप्ति टाँस गरी तालाबन्दी गरेपछि विभिन्न कामकाज लिएर आएका सेवाग्राहीहरु प्रभावित भएका छन् ।

विभिन्न ११ राजनैतिक दलका प्रतिनिधि मध्ये ८ दलका प्रतिनिधिद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नवनियुक्त कार्यकारी अधिकृत अमरनाथ ढकालको कार्यशैली र भूमिका सकारात्मक नरहेको भन्दै तालाबन्दी गरेको हो । नगरक्षेत्रको विकासमा समर्पित राजनैतिकदल, जनता र संघ संस्थाप्रति प्रमुख ढकाल अपमानजनक ढंगले प्रस्तुत हुनेगरेको दलका नेताहरुको आरोप छ ।

नगरपरिषदबाट गरिएको निर्णयलाई औचित्यहीन भन्दै हाल भैरहेको विकास निर्माणलाई अलपत्र पार्ने, औचित्यहीन बनाउनेगरी काम गरेकाले कार्यकारी अधिकृत ढकाललाई अबिलम्ब फिर्ता हुनुपर्ने माग दलका प्रतिनिधिले गरेका छन् । यसअघि नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटा थिए । नयाँ अधिकृतले काम थालनी गरेदेखि अधिकृत र राजनैतिक दल संयन्त्र बीच मनमुटाब बढ्दै गएको   छ ।

प्रेस विज्ञप्तिमा नेपाली काँग्रेसका प्रतिनिधि अमृत मैनाली, एमालेका कृष्णलाल चौधरी, एमाओवादीका रामेश्वर पोखरेल, फोरम लोकतान्त्रिकका नारायणप्रसाद महतो, मालेका कृष्णप्रसाद थपलिया, राजमोका रविन्द्र पाठक, नेकपा–माओवादीका चुडामणि दर्जी, संघीय लोकतान्त्रिक मञ्च (थरुहट) का प्रतिनिधि टिकेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया