रोपाइँको काम सकिएपछि कामको खोजीमा थारु युवाहरु शहर प्रवेश गर्दै


अविनाश चौधरी
धनगढी, असार ३१ गते । कैलारी गाउँपालिका– ७ का प्रदीपकुमार चौधरी विगतमा भारत गएर मजदुरी गर्नुहुन्थ्यो । रोपाइँ सकिएलगत्तै हरेक वर्ष उतै गएर पसिना बगाएको अनुभव छ, उहाँसँग । यस वर्ष भने उहाँ भारत नगई धनगढीमै मजदुरी गरिरहनुभएको छ । ‘कोरोना भाइरस व्यापक भइरहेको बेला भारतबाट फर्केर आएँ’ चौधरीले भन्नुभयो । ‘गाउँमा रोपाइँ सकियो । धनगढी पुगेर अब घर बनाउने काम गरिरहेको छु ।’

यस्तै, सोही गाउँपालिकाको मोहनपुर गाउँका खोजराम चौधरी पनि धनगढीमै ज्यालादारीको काम गरिरहनुभएको छ । कोरोना महामारीका कारण कामको लागि भारत जान सम्भव नरहेकाले मजदुरी गर्न धनगढी आएको उहाँ बताउनुहुन्छ । चार पाँच वर्ष भारतमा गएर मजदुरी गरेको छु, चौधरीले भन्नुभयो । ‘अब तत्काल भारत जान सम्भव छैन । त्यसैले घर खर्च जुटाउन धनगढी आएँ ।’

प्रदीप र खोजराम मात्रै होइन, कामको खोजीमा धेरै युवाहरू अहिले धनगढी धाउन थालेका छन् । गाउँघरमा रोपाइँको काम सकिएपछि फुर्सद्को समयमा रुपियाँ कमाउन उनीहरू धनगढीकेन्द्रित हुन थालेका हुन् ।

रोपाइँ सकिएपछि कमाउनका लागि विगतमा युवाशक्ति प्रायः भारततिर जाने गर्दथे । यो बेला भारत जाने नेपालीहरूको गौरीफन्टा नाकामा लर्को लाग्ने गर्दथ्यो । तर, यो वर्ष नाका बन्द गरिएको छ । यताबाट, भारततर्फ जान दिइएको छैन, बरु भारतमा रहेका नेपालीहरू स्वदेश फर्किनेक्रम जारी छ ।

प्रदीपले भन्नुभयो, ‘फरक यत्ति हो, गत वर्षसम्म भारत गएर काम गरियो, यो वर्ष आफ्नै देशमा गर्दैछु ।’

कोरोना प्रभावका कारण बेरोजगारी दर उकालो चढ्ने सम्भावना बढेकाबेला स्वदेश फर्किएका युवा कामको खोजीमा सहर पस्न थालेका हुन । रोपाइँ सकिएपछि उनीहरू समूह बनाएर काम खोज्न धनगढीतिर आउन थालेका छन् । जसरी, भारततिर जाने गरेका थिए । ‘गुजारा चलाउन मजदुरी नगरी सुख छैन’, प्रदीपले भन्नुभयो, ‘फरक यत्ति हो, गत वर्षसम्म भारत गएर काम गरियो, यो वर्ष आफ्नै देशमा गर्दैछु ।’

धनगढीमा ज्यालादारी मजदुरीको कामबाहेक अन्य काम मिल्न मुस्किल रहेको युवाको भनाइ छ । कोरोना भाइरसले अर्थतन्त्र नै तहसनहस पारेकाबेला ज्यालादारीको काम पाउन पनि सहज नरहेको उनीहरू बताउँछन् । नियमित काम नपाएपछि कुनै–कुनै दिन कोठामै बस्नुपर्ने बाध्यता आइपर्ने गरेको सुनाउँछन् ।

कोभिड–१९ को प्रभावले धेरै व्यक्तिको रोजगारी गुमेको छ । सुदूरपश्चिम प्रदेशमा मात्रै एक लाखभन्दा बढी मान्छे भारतबाट स्वदेश फर्केका छन् । उनीहरू सबै घरमा बसेका छन् । ‘परदेशबाट फर्केर मेरा सबै भाइहरू घरमै छन्’, रामबहादुर चौधरीले भन्नुभयो । ‘बरु, मजदुरी नै किन नहोस् । तर, काम गर्नका लागि उनीहरूलाई धनगढी आउन भनेको छु ।’

खेतीपातीको काम सकेर मजदुरी गर्न आउने बढेपछि निर्माण कार्यका लागि मजदुर खोज्न खासै समस्या नरहेको घर निर्माणको ठेक्कापट्टाको काम गर्दै आउनुभएका धनगढीका सियाराम चौधरी बताउनुहुन्छ । ‘बरु, पानी परिरहेकाले अहिले नियमित काम हुन सकिरहेको छैन’, उहाँले भन्नुभयो । ‘लकडाउनको क्रममा काम गर्ने कामदार पाउन भने समस्या छैन ।’

(गोरखापत्र अनलाइनबाट)

तपाईको प्रतिक्रिया