जनकपुरमा राष्ट्रपतिमाथि भएको घटनाबारे संसदलाई जानकारी

राष्ट्रपतिमाथिको प्रहार धार्मिकस्थलमाथिको प्रहारः गृहमन्त्री बस्नेत


CA

काठमाडौं, पुस १२ गते । गृहमन्त्री शक्तिबहादुर बस्नेतले विरोध र आन्दोलनको नाममा मधेसमा अराजक गतिविधि भइरहेको बताउनुभएको छ । मन्त्री बस्नेतले जनकपुरमा पुस १ गते राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको आक्रमण र दूव्र्यहारको घटनाबारे आइतबार संसद बैठकलाई जानकारी गराउनुभयो ।

व्यवस्थापिका संसदलाई पुस १ गते जनकपुरको जानकी मन्दिरमा भएको घटना र तराई मधेसको पछिल्लो स्थितिबारे जानकारी गराउँदै आइतबार मन्त्री बस्नेतले त्यस्तो बताउनुभयो । यसअघिको पुस ८ गते बसेको संसद बैठकमा सांसदहरुले राष्ट्रपतिमाथि भएको दुव्र्यवहारबारे सरकारले वास्तविकताबारे जानकारी गराउनुपर्ने माग राख्नुभएपछि सभामुख ओनसरी घर्तीले सरकारलाई सो घटनाबारे संसदलाई जानकारी गराउन निर्देश गर्नुभएको थियो ।

जनकपुर घटनाबारे जानकारी गराउँदै मन्त्री बस्नेतले गृहमन्त्रालयको निर्देशनमा त्रुटिरहित सुरक्षा योजनाअनुसार राष्ट्रपति भण्डारीको जनकपुरको जानकी मन्दिरमा पूजापाठको व्यवस्था मिलाइएको जानकारी गराउनुभयो । उहाँको अनुसार विवाह पञ्चमीका दिन अञ्चल प्रहरी कार्यालय जनकपुर र जानकी मन्दिरको दूरी जम्मा नौसय मिटरको रहेको थियो । जानकी मन्दिरसम्म राष्ट्रपतिलाई पु¥याउने व्यवस्था सुरक्षाकर्मीले मिलाएको उहाँले जानकारी गराउनुभयो ।

पूजापाठपछि पन्ध्र मिनेटमा राष्ट्रपति अञ्चल प्रहरी कार्यालयमा फर्कुनुभएपछि केही उच्छृङ्खल समूहले मन्दिरमा तोडफोडको प्रयास गरेको मन्त्री बस्नेतले संसद बैठकलाई जानकारी गराउनुभयो । आम नागरिकको पूजापाठ शुरुभएपछि मन्दिर परिसरभित्र एक समूह प्रवेश गरेर तोडफोड र उच्छृङ्खल घटना घटाउने काम भएको र लात्ती प्रहारले मन्दिरको गर्भगृहको बारमा असर पुगेको जानकारी उहाँले दिनुभयो ।

“सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गर्दासमेत स्थिति सामान्य नभएपछि सुरक्षाकर्मीले लाठीचार्ज र केही थान अश्रुग्यास प्रहार गरेको हो” प्रष्ट पार्नुहुँदै मन्त्री बस्नेतले भन्नुभयो, “राष्ट्रपति भण्डारी फर्कनुभएपछि मन्दिरको महन्ठ र पूजारीमाथि पुनः आक्रमण भयो, जुन दुःखद छ ।”

विवाह मण्डप जलाउने र पेट्रोलबम प्रहार गरेर जनजीवन आतंकित गर्ने काम उच्छृङ्खल समूहले गरेपनि प्रहरीको प्रयासले अवस्था नियन्त्रणमा आएको मन्त्री बस्नेतले बताउनुभयो । पुस २ गते सामाजिक सञ्जालमार्फत् सामाजिक सद्भाव भड्काउनेखालको गलत सूचना संप्रेषण गरिएको बताउनुहुँदै मन्त्री बस्नेतले भन्नुभयो, “राष्ट्रपतिमाथिको प्रहारले धार्मिकस्थलमाथिको प्रहार र लैङ्गिक हिंसाजन्य काम भएको छ ।”

Vidya

घटनाबारे विस्तृत प्रतिवेदन दुईदिन भित्र सार्वजनिक हुने जानकारी गराउनुहुँदै मन्त्री बस्नेतले ११ जना पुरुष र ४ महिलालाई सुरक्षाकर्मीले नियन्त्रण लिई छानविनको काम भइरहेको बताउनुभयो । सो मध्ये तीन जनालाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको र एकजनालाई प्राथमिक स्मारक ऐनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढेको मन्त्री बस्नेतले संसदलाई जानकारी गराउनु   भयो ।

गृहमन्त्रालयकाको सहसचिवको नेतृत्वमा सुरक्षा निकायका तीनवटै प्रमुख रहेको छानविन समितिले बुझाएको प्रतिवदेनको आधारमा यथोचित ढंगले कारवाहीको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता मन्त्री बस्नेतले संसद बैठकमा गर्नुभयो । सरकारले मधेसी मोर्चासँग संवाद र छलफल जारी राखेकाले स्थितिलाई सामान्य पार्नेकाम चाँडै हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया