हमार पहुरा डट कम
काठमाडौँ, साउन १० गते । थारु समुदायले आज गुरही पर्व २०७७ मनाउँदैछन् । त्यसैगरी सबै नेपालीहरु आज नाग पञ्चमी नाग देवताको पूजापाठ गरी मनाइरहेका छन् ।
थारु समुदायमा विशेषगरी केटाकेटीले यो पर्व मनाउन रमाउँछन् । गुरही (पुतला) लाई ठटाएर रमाइलो गर्ने र सँगै लगेको भूजा बाँडेर खाने प्रचलन थारु समुदायमा छ । गुरहीलाई अलच्छिनको प्रतीककोरुपमा लिइन्छ । रोगव्याधी र महामारी गाउँमा प्रवेश नगरोस् भनेर गाउँको चौरहामा गुरही ठटाउने गरिन्छ । खासगरी गुरही ठटाएपछि गाउँघरमा रोगव्याधी नलाग्ने, सुख शान्ति हुने विश्वास गरिन्छ ।
थारु बरघरले पुतलालाई गुरहीको प्रतीककोरुपमा सडकमा बाँधेपछि थारु केटाहरुले सोंटा (ठटाउने साधन) गुरही ठटाउँछन् । पछि त्यसलाई विसर्जन गर्छन् (अस्राउँछन् ।) गुरहीलाई पिटिसकेपछि थारु युवतीले आफूसँगै घरबाट लगेको विभिन्न परिकारका भूजा वितरण गर्छन् ।
सरकारी आर्थिक वर्षअनुसार साउनमा पर्ने यो पहिलो पर्व हो । त्यसैले गुरही (नागपञ्जमी) लाई प्रथम पर्वको संज्ञा दिने गरिएको छ । तर थारु समुदायले माघ पर्वलाई नयाँ वर्षकोरुपमा मनाउँछन् । थारु क्यालेण्डरअनुसार आर्थिक वर्ष माघ महिनाबाट शुरु हुने भएपछि थारु समुदायका लागि गुरही प्रथम पर्व मान्ने कि नमान्ने वहस जारी छ । गुरहीकै दिनदेखि सर्पहरु पतालमा प्रवेश गर्ने विश्वास थारु समुदायमा विद्यमान छ ।
नाग पञ्चमी
साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नागपञ्चमी पर्व मनाइँन्छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महत्व रहेको वर्णित छ ।
नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ । काठमाडौँ उपत्यकामा भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलको हरिनाग, टुँडिखेल सुन्धारा छेउको मीननाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुङ्गा, धापाखेलको नागदह, चोभारपारि टौदह, नक्साल नागपोखरी र चाँगुनारायण नगरपालिका वडा नं ८, कलमसीस्थित कल्पेश्वर नागमा विशेष रूपमा पूजाअर्चना गर्ने प्रचलन छ ।