नेपालमा उत्पादित कपडाको निर्यातमा भन्सार छुटदिने प्रधानमन्त्रीको घोषणा


Oli

काठमाडौं, पुस १३ गते । नेपालमा उत्पादित कपडाको निर्यातमा भन्सार छुटदिने अमेरिका सरकारको निर्णयको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र च्याम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँगको सोमबारको भेटमा प्रधानमन्त्री ओलीले व्यावबसायीहरुलाई यसखाले कपडा र गार्मेन्टको उत्पादन बढाउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले लामो समयदेखि तराइमा भएको आन्दोलनका कारण बन्द उद्योगहरु खुलाउन सरकारले विशेष पहल गर्ने आश्वासन दिनुभएको छ ।

“लामो समयदेखि उद्योगधन्दा बन्द हुँदा देशको अर्थतन्त्र ध्वस्त भएको छ, उद्योग खुलाउन सरकारले विशेष योजना छिट्टै ल्याउछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसमा उद्योगी व्याबसायीले पनि दृढतापूर्वक सरकारलाई साथ दिनुपर्छ ।”

आफ्नो उत्पादनलाई विश्व बजारमा प्रतिष्पर्धा गराउन उत्पादनको गुणस्तर र मूल्यमा ध्यान दिन व्यबसायीहरुलाई प्रधानमन्त्रीले सो अवसरमा आग्रह गर्नुभयो । प्रधानमन्त्रीले कृषि र उद्योगलाई समायोजन हुने गरी उद्योग सञ्चालन गर्न पनि आग्रह गर्नुभयो ।

“कपास रोप्नेदेखि गलैंचा बुन्नेसम्मका काम स्वदेशमै भयो भने कृषि र उद्योग एकीकृतरुपमा अगाडि बढाउन सकिन्छ” भन्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “जब कच्चा पदार्थ आफैंसँग हुन्छ त्यस्ता उद्योगले लामो समयसम्म उत्पादन दिन पनि सक्छन्, आत्मनिर्भर पनि हुन्छन् ।”

कार्यक्रममा महासंघका अध्यक्ष पशुपति मुरारका, उद्योग परिसघंका अध्यक्ष नरेन्द्र बस्नेत, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष सुरज बैद्य लगायतले लामो समयको बन्दले उद्योग व्यवसाय चौपट भएकोले उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो । सो अवसरमा उहाँहरुले धरान, उदयपुर, सिन्धुली सडक पुनर्निर्माण गरेर बैकल्पिक मार्ग सञ्चालन गर्न पनि प्रधनमन्त्रीसँग माग गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया