मानक थारु भाषा बहस ४

विचार

भुलाई चौधरी

मध्य–पूर्वीया थारु भाषामा एउटा उखान छ “बड बड घोडी भाँसल ज्या त नर घोडी कहे कतेक पाईन“ अर्थात् कस्ता कस्ता भाषा विद्वानहरु त मानक बनाउन फलामको चिउरा चपाएजस्तै गाह्रो महसुस गरिरहेका हुन्छन् । सामान्य मानिसले यसमा के भूमिका गर्न सक्लान् । कुरो सही हो । त्सैले कोई विश्वासै न गर्नुस् कि यस्तो विविधता भएको भाषामा पनि मबाट मानक भाषा बन्ला । विश्वास गर्नुस् केवल तपाई हामी सबैको सामूहिक उदार प्रयासबाट मात्र हुन्छ । जब सबैले निस्कपट रुपले लगातार सहयोग र साथ दिने हो भने ढिलै हुँदा पनि हामीले एक दिन थारु मानक भाषा बनाउन समर्थ हुन्छौं ।

भनिन्छ, संसारमा जे जति समस्या आएको हुन्छ, सबै समस्या आफ्नो समाधान लिएर आएको हुन्छ । अहिले हामीमाझ आएको थारु मानक भाषा पनि एउटा चुनौति हो । यहि उद्देश्यबाट प्रेरित भएर यस शूभ काममा लागेका महानुभावको सेवामा केही जानकारी साझेदारी गर्न यो लेखेको छु ।

भाषा गतिशील एवम् परिवर्तनशील हुन्छ । भाषामा आएको स्थिति र प्रचलनलाई व्याकरण अनुरुप मानकीकरण गर्नुपर्ने हुन्छ । मानक भाषा लेख्न सजिलो छैन् । त्यसमा पनि थारु भाषाको जहाँ १७ वटासम्म भाषिकाहरु पहिचान गरिएको छ । यी भाषिकाहरुको क्षेत्र पूर्व मेचीदेखि पश्चिम महाकलीसम्म लामो भूभाग रहेकाले यी भाषिकाहरुमा समानताभन्दा विविधता बढी भएको अनुमान गरिन्छ ।

मानक भाषा के हो
थारु मानक भाषा भनेको सबै थारुले मान गर्ने, स्वीकार गर्ने, सहजरुपमा लिने, सबैले त्यो भाषा बोल्न लेख्न सकिने वा अहिले कम्तिमा थारुहरु आपसमा एक अर्का क्षेत्रको थारुसँग बोल्दा, सम्वाद गर्दा बीचमा कुनै अर्को भाषाको सहारा न लिनुपर्ने अवस्थाको भाषालाई थारु मानक भाषा भन्न सकिन्छ । यो थारुबीचको साझा सम्पर्क भाषा हुन्छ । यो थारु थारुबीचको मिश्रण भाषा हुन्छ । जो सबै क्षेत्रका थारुहरुको लागि बोधगम्य भाषा हुन्छ । यो रेडीमेड बनेको कहि पनि पाउँदैन । हामी थारुले आफैले बनाउनु पर्छ ।

यो मानक भाषाको विभिन्न बुझाई हुन्छ । यहाँ हाम्रो थारु मानक भाषाको बुझाई निम्न स्तरीय अर्थात् थारु भाषाको अहिले एकीकरण स्तरीय सोंच हो । जबकि अरु भाषाहरुको हकमा मानकीकरणको अर्थ भाषाको उच्च स्तरीकरण हो । न कि केवल एकीकरण ।
प्रायः धेरै भाषाहरुको हकमा मानकीकरणको प्रक्रियामध्ये धेरै भाषाहरुमध्ये जो एउटा भाषा हरेक किसिमले सबल भाषा हुन्छ, त्यस भाषालाई मानक भाषा मानेर सबैले त्यही भाषालाई प्रवर्धन र संरक्षण गर्ने भाषा हो । यस प्रक्रियामा जुन भाषालाई छनौट गरेको हुन्छ ऊ भाषा स्थिर हुँदै जान्छ । अरु भाषाहरु हराउँदै जान्छन् । यो प्रक्रिया थारु भाषामा लागु हुँदैन् । किनकी हरेक भाषिका आफैमा मानकको लागि योग्य छ । कुनै पनि क्षेत्र वालाले आफ्नो भाषिका हराउन दिन मान्दैन । यो नै थारु भाषामा मानक भाषा बनाउन सबैभन्दा नाकारात्मक कुरो हो । मानक भाषाको आधार कुनै व्याकरणिक या भाषा वैज्ञानिक तथ्य अथवा नियम हुँदैन् । यसको आधार मूलतः सामाजिक स्वीकृति हो ।

सकारात्क कुराहरु
थारु मानक भाषा बनाउन सबैभन्दा ठूलो सकारात्क कुरो के हो भन्ने यो भाषा जहाँको हुँदा पनि यसको जडा एउटै हो । हामी सबै एउटै जातका हौ । हामी सबै थारु हौ । चाहे ऊ १००० किलोमिटर पूर्वका होस् वा १००० किलोमिटर पश्चिमको । हामी एकलाई अर्कोप्रति माया ममता र सहानुभूति छ । त्यसमा पनि भाषिक रुपले हामी एक सूत्रमा बाँधिएका छौ । जबदेखि थारु संस्कृति परिवारबाट “थारु संस्कृति“ पत्रिका प्रकाशन हुन थाल्यो । हामी धेरै किसिमले एक अर्काको भाषाबाट परिचित भयौ । मलाई लाग्छ यी कुराहरु पक्कै थारु भाषाका मानक भाषा लैख्न मदत गर्नेछ । थारु भाषाका अन्य पत्रपत्रिका, अनलाइन, रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम, न्युज पोर्टल, न्यूमिडियाका कारण पनि हामी एकअर्कासँग नजिक भएका छौं । यति मात्रै होईन यो हरेक किसिमले धनी भाषा छ ।

समस्याहरु
कुनै पनि समस्याको समाधान गर्न सबैभन्दा पहिला समस्याको पहिचान हुनु जरुरी हुन्छ । यहाँ थारु मानक भाषा लेख्न निम्न अनुसारका समस्याहरु पहिचान गरिएको छ ।
१) भाषाको सन्दर्भमा एकतामा अनेकता छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १७ वटासम्म भाषिकाहरु पहिचान भएको छ । यी सबै आफ्नोमा हरेक किसिमले पोख्त छन् ।

२) हाम्रो मानसिकता संकुचित छ । हामी जो कोही पनि आफ्नै भाषिकाको वकालत गर्ने पक्षमा लागि परेका छौ । सबै आफ्नै हठ रोगबाट ग्रसित छौं ।

३) अहिलेसम्म कुनै साझा सोंच छैन् । कुनै संघ संस्थाले पहल गरिदिएको छैन् । आफ्नै संस्था थाकसबाट संस्थागत कुनै काम भएको छैन् । केही साथीहरु आफ्ना विचार पोखिरहेका छन्, काम भने त्यति हो ।

४) केही काम भएको छ तर त्यसमा पनि त्यसको पालना न गरेर व्यक्तिहरु आफनै गुणधुनमा लागि परेका छन् ।
५) समन्वयकर्ताको निकै अभाव देखिन्छ ।

मानक कसरी बन्छ
मानक भाषा कुनै एक दुई व्यक्ति विशेषले बनाउन सक्ने होईन । यो एउटा प्रक्रिया हो । जुन प्रक्रियालाई मानकीकरण भनिन्छ । मानकीकरण रुपात्मक एकीकरणको प्रक्रिया हो । जसमा व्याकरणिक रुपलाई अनेकतामा एकताको आधार मानेर मानक बनाउने गरिन्छ । यो मानकीकरण प्रक्रियामा निम्न अनुसारका चरणहरु हुन्छन् । (प्रस्तावित, विशेषज्ञहरुको वृहत बैठकबाट खुडकिल्लाहरु सुधार गर्न सकिन्छ)।

१) पहिला थारु आयोग र थाकसले थारु भाषा र थारु संस्कृति विज्ञ, अनुभवी तथा प्रेमीहरुको सहभागितामा सबै थारु भाषिकाहरुको प्रतिनिधित्व भाषा थारु मानक भाषा बनाउन नीतिगत संस्थाबाट स्वीकृति लिने ।

२) मानक भाषाको नाम “थारु मानक भाषा“ राख्ने र पुरै थरुहटमा थारुभाषाको नाममा स्वीकृति प्रदान गर्ने ।

३) थारु मानक भाषालाई सरल, सरस र वैज्ञानिक भाषा बनाउनको लागि भाषिक आवश्यक कुराहरु जस्तै थारु भाषाको वर्णमाला, ह्रस्व, दीर्घको प्रयोग, आगन्तुक शब्दको प्रयोग र यसको हिज्जे, मौलिक शब्दको उच्चारण, ध्वनि र सामाजिक स्वीकृति र अध्ययन अनुसन्धानको आधारमा हिज्जे लेख्ने निर्णय लिनु पर्ने ।

४) हरेक भाषिकाअनुसार लगभग ३००० शब्दसम्मको दरले शब्द संकलन गर्न व्यवस्था गर्ने ।
५) हरेक भाषिका अनुसार व्याकरणिक विश्लेषण गर्न प्रश्नावली भर्न व्यवस्था गर्ने ।
६) सबै भाषिकाहरुबाट आएका शब्दहरुलाई अर्थसहित कम्प्युटराईज गर्न व्यवस्था गर्ने ।

७) प्रश्नावलीबाट आएका जानकारीहरुको लिखत बनाई विचार गोष्ठीमा प्रस्तुत गर्ने र पूर्ववालाहरुसंग पनि निष्कर्ष तुलनात्मक अध्ययन गर्ने सम्भव छ कि छैन, त्यसअनुसार जिम्मेवार संस्थामा निर्णय गर्ने ।

८) निर्णय पश्चात् सो अनुसारको व्याकरण निर्माण गर्ने र सो व्याकरणलाई बढी सभा गोष्ठी गरी हरेक जिल्लामा बढी भन्दा बढी सबैलाई परिचित गराउने ।

९) मानक भाषा बनाउने काममा सहभागी हुने सबै महानुभावहरुलाई यो भाषामा बोल्न लेख्न बाध्य गर्ने, प्रतियोगिताहरु आयोजना गर्ने, केही संयुक्त पत्रपत्रिका,एफ.एम. संचालन गर्ने ।

जस्तोसुक्कै मानकीकरण प्रक्रिया किन नहोस् मानक भाषा बनाउनका लागि यसका सही खुडकिलाहरुको अतिरिक्त कार्य सम्पादन गर्नका लागि निम्न कुराहरु विचार गर्नुपर्ने हुन्छ ।

१) विषयवस्तु सम्बन्धमा अध्ययन अनुसन्धानमा आधारित भई स्वच्छ मनले भद्र भाषा तया व्यवहारमा जानकारीमुलक बहस चलाउने ।
२) आफ्नो गोरुको बार्है टक्कावाला मानसिकताबाट सबै जना मुक्त हुने ।
३) सबैको कुरो धैर्यतासाथ सुन्ने र मनन गर्ने ।
४) तन, मन, धनले सर्वसम्मतिबाट आएको निर्णय मान्ने र आफ्नो व्यवहारमा उतार्ने ।
५) मानक भाषाले मौलिक पहिचानमा कुनै ठूलै बाधा वा नोक्सान न पुर्याई मातृभाषा तथा राष्ट्रियभाषा समेत लेखपढ गर्न सजिलो र सरस बनाउन मद्दत गर्नेछ ।

६) मानक भाषा न बनुन्जेलसम्म यो काम सफल बनाउन आवश्यक मद्दत गर्ने र धैर्य गर्ने ।
७) यो मानक बनाउने काम बिथोल्न कोई पनि त्यस्तो क्रियाकलाप नगर्ने ।

मानकबाट फाईदा
सबैलाई थाहा छ कि संचार विकासको मुख्य आधार हो । जहाँ एउटा साझा भाषा, विकसित भाषा, सरस भाषा संचारको माध्यम हुँदैन । त्यो समाज द्रुत्तर गतिमा विकास गर्न सक्दैन । उनीहरुको आपसमै संचार ग्याप हुन्छ र त्यस्तो भाषीयहरु विकासको बाटोमा द्रुत्तर गतिमा हिड्न सक्दैनन् । त्यसकारण आपसी भाषिक विविधतालाई तन, मन, धन समेत लगानी गरेर यसलाई अन्तगरी एउटा साझा भाषा (मानक भाषा) को निर्माण गरौ र विकासको भरपूर आनन्द लिऊ ।

(लेखक थारु भसा साहित्य केन्द्र नेपालका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया