थारु अट्वारी : महाभारतका ‘बकासुर’ युद्ध प्रसङ्ग

संस्कृति खोज/विश्लेषण

लक्की चौधरी

थारु समुदायको मौलिक पर्व हो ‘अट्वारी’ । पारिवारिक सम्बन्ध बनाइराख्ने यो पर्वको मुख्य विशेषता हो । पश्चिम नेपालका थारु समुदायले विशेषगरी यो पर्व मनाउँछन् । थारु पुरुषले ‘व्रत’ बस्ने पर्वको रुपमा पनि यो चिनिन्छ । थारु महिलाले कृष्णजन्माष्टमी (अष्टिम्की) मा व्रत बस्छन् । पुरुषहरु अट्वारीमा । पश्चिम नेपालका थारुको वर्ष दिनमा व्रत बस्ने पर्व यिनै दुईटा हुन् । वर्षभरी अनेकौ पर्व आउने गरे पनि अन्य पर्वमा थारु समुदायका सदस्यहरु व्रत बस्दैनन् । थारु महिलाले अष्टिम्कीमा कृष्ण भगवानको व्रत बस्छन् । तर थारु पुरुषहरु किन अट्वारीमा ‘व्रत’ वस्छन् ? यसको महिमा कसरी शुरुभयो ? यस विषयमा यो आलेखमा चर्चा गरिएको छ ।

थारु समुदायको देवथानमा अरु देवता सरह पाँच पाण्डवको पनि उच्च स्थान छ । महाभारतकालिन प्रसङ्ग यसमा जोडिन्छ । महाभारत युद्धका प्रमुख ‘हिडन’ निर्देशक भगवान कृष्ण थिए । पात्रहरु अनेक भए पनि कृष्णकै निर्देशनमा महाभारत युद्ध भएको थियो । धर्म र अधर्मको लडाईमा ‘धर्म र सत्य’कै जीत हुनुपर्छ भन्ने मूल उद्देश्यसाथ भगवान कृष्ण मानव अवतारमा पृथ्वीमा अवतरण भएका थिए । पाण्डव र कौरवबीच घमासान युद्ध भयो । पाण्डवहरु धर्म र सत्यका पक्षमा उभिए । कौरवहरु अधर्म र असत्यको पक्षमा । कौरवको नेतृत्व हस्तिनापुरका राजा धृतराष्ट्रले गरेका थिए । धृतराष्ट्र–गान्धारीका दुर्योधन सहित सय जना छोरा थिए । पाण्डव पक्षको नेतृत्व युधिष्ठिरले गरेका थिए । तर भगवान कृष्णको निर्देशनमा सबै काम हुन्थे । कुन्तीका छ जना छोरा कर्ण, युधिष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेव थिए । तर जेठा छोरा कर्ण कौरवको पक्षमा युद्ध लडे । सुर्यपुत्र कर्णलाई कुन्तीले जन्मदैं नदीमा बगाई दिएकी थिइन् । दुर्बासा ऋषिले सिकाएको मन्त्रलाई परीक्षणका लागि जप गरेपछि सूर्यदेव प्रकट भए । सूर्यदेवले कुन्तिलाई पुत्रकोरुपमा ‘कर्ण’ उपहार दिए । तर कुन्ति अविवाहित रहेकीले समाजको डरले कर्णलाई नदीमा बगाई दिइन् । नदीमा बच्चा रोएको फेला पारेपछि एक शुद दम्पतीले कर्णलाई हुर्काएको थियो । कर्णले भगवान पर्शुरामसँग धनुणविद्या सिकेका थिए । ब्राह्मण भनेर धनुणविद्या सिकेका कर्णले पछि सुदपुत्र भएको पर्शुरामले थाहा पाएपछि उनलाई श्राप दिए । आफूलाई झुक्याएर विद्या सिकेको भन्दै पर्शुरामले अन्तिम लडाईमा धनुण विद्याले काम नगर्ने श्राप दिए । उसो त नहकुल र सहदेव कुन्ती पुत्र थिएनन् । पाण्डुका कान्छी श्रीमती माद्रीबाट दुई सन्तान जन्मेका थिए । तर पाँच भाइको माया प्रेम अत्यन्त गाढा थियो । पाँचै जना कुन्तिपुत्रको नामले परिचित भए । भगवान कृष्णको लीलासँग महाभारत जोडिएकाले महाभारतका प्रमुख पात्र पाण्डवहरु देवताका रुपमा पुजिन्छन् । उसो त छ जना ‘भाइ’ सबै कुनै न कुनै देवताका पुत्र थिए । कुन्ति र माद्रीले उपहारको रुपमा पुत्र प्राप्त गरेका थिए ।

पाँच पाण्डवको जन्म
हस्तिनापुरका राजा पाण्डु दुवै पत्नी (कुन्ती र माद्री) सहित शिकार गर्न जंगल गए । उनले मृगको जोडीलाई मैथुनरत देखे । बाणले ती दुवै मृगलाई घायल गरिदिए । मर्दै गर्दा मृगले पाण्डुलाई श्राप दिए, “राजन ! तिमी धेरै क्रुर पुरुष रहेछौ । मलाई मैथुनको समय बाण हानेर ठूलो गल्ती गर्यो । जब तिमी कसैसँग मैथुनरत हुनेछौ, त्यतिबेला छिम्रो मृत्यु हुनेछ ।” श्राप सुनेर राजा पाण्डु दुःखी भए । उनका दुई रानी थिए । तर सन्तान थिएनन् । उनले दुवै रानीसँग भने, “हे देवीहरु ! अब म आफ्नो सबै वासनाहरु त्याग गरेर यस वनमा एक्लै बस्छु, तिमीहरु हस्तिनापुर फर्केर जाउ ।” उनको कुरा सुनेर दुवै रानी दुःखी भए र भने, “हे नाथ ! हामी तपाई विना एक क्षण जीवित रहन सक्दैनौं । आफूसँगै हामीलाई पनि वनमै बस्ने कृपा गरिदिनुहोस् । उनीहरुको कृपा सुनेर राजा पाण्डुले दुवै रानीलाई आफूसँगै वनमा बस्ने अनुमति दिए ।

राजा पाण्डु आफ्नो गल्तीबाट एकदम दुःखी थिए । चिन्तामा डुबेका थिए । त्यही समय पाण्डुले अमावस्याको दिन ऋषीमुनीहरुलाई ब्रह्माको दर्शनका लागि जाँदै गरेको देखे । आफूलाई पनि साथ लैजान राजा पाण्डुले ऋषीहरुसँग आग्रह गरे । त्यतिबेला राजाका पुत्रहरु थिएनन् । एक ऋषिले भने, “राजन ! निःसन्तान पुरुष ब्रह्मलोक जाने अधिकारी हुन सक्दैन । अतः हामी तिम्लाई लैजान असमर्थ छौं ।” ऋषिमुनीको कुरा सुनेर पाण्डुले आफ्नो पत्नी कुन्तीसँग भने, “हे कुन्ती ! मैले जन्मलिनु व्यर्थ भयो । सन्तानहिन व्यक्तिले पितृ ऋण, ऋषि ऋण, देव ऋण, मनुष्य ऋणबाट मुक्ती पाउन सक्दैन । के तिमीले ‘पुत्र’ प्राप्तीमा मलाई सहयोग गर्न सक्छौ ?” राजाको कुरा सुनेर कुन्तीले भनिन्, “हे आर्यपुत्र ! दुर्वासा ऋषिले मलाई यस्तो मन्त्र सिकाउनु भएको छ, जसबाट म कुनै पनि देवतालाई बोलाएर मनोवान्छित (मनमा चिताएको) वस्तु प्राप्त गर्न सक्छुँ । तपाई आज्ञा गर्नुहोस् म कुन देवतालाई बोलाउँ ।”

कुन्तीको कुरापछि राजा पाण्डुले धर्मराजलाई आमन्त्रित गर्न भने । दुर्वासा ऋषिको मन्त्र पढेपछि धर्मराज देवता प्रकट भए । धर्मराजले कुन्तीलाई छोरा उपहार दिए । उनको नाम ‘युधिष्ठिर’ राखियो । फेरि अर्को पुत्रका लागि अर्को देवतालाई आमन्त्रित गर्न भने । कुन्तीले वायु देवलाई आमन्त्रित गरे । वायु देवले पुत्र उपहार दिए । उनको नाम ‘भीम’ राखियो । पुनः अर्को आमन्त्रणमा इन्द्र देवता प्रकट भए । उनले पुत्र उपहार दिए । उनको नाम ‘अर्जुन’ राखे । सोही मन्त्र कुन्तीले आफ्नो सौतेली बहिनी ‘माद्री’लाई सिकाईन् । माद्रीले पनि त्यही मन्त्र जप गरिन् । माद्रीले अश्वनीकुमार देवतालाई स्मरण गरिन् । देवताले दुई पुत्र दिए । नाम ‘नहकुल’ र ‘सहदेव’ राखियो ।

हस्तिनापुरका राजा विचित्रविर्यका तीन छोरा थिए । धृतराष्ट्र, पाण्डु र विदुर । धृतराष्ट्र आँखा देख्दैनथे । राजा विचित्रविर्यको शेषपछि कसलाई राजा बनाउने छलफल चल्यो । जेष्ठताका हिसावले धृतराष्ट्र राजा बन्नुपर्ने हो । तर उनी शारीरिक अपाङ्गता भएकाले विदुरकै प्रस्तावमा माहिला छोरा ‘पाण्डु’ हस्तिनापुरका राजा बनाइए । त्यसबाट धृतराष्ट्र क्रुद्ध बने । एकदिन राजा पाण्डु कामले थकित भएकाबेला रानीहरुलाई लिएर वनमा केही दिन मन बहलाउने गरी शिकारमा निस्किए । उनको अनुपस्थितिमा धृतराष्ट्रलाई गद्दीमा बसाइयो । राजकाजको स्वाद पाएपछि उनी गद्दीबाट ‘हट्न नपरोस्’ मनमनै सोचे । राजा पाण्डु जंगलबाट फर्केर नआवस् भन्ने उनलाई लागिरहेको थियो । उनको सो विचारप्रति धृतराष्ट्रका पत्नी ‘गान्धारी’ले पटक पटक सम्झाएकी थिइन् । “राजाको सुखभोग हाम्रो कर्ममा लेखिएको छैन, कारण तपाई आँखा देख्नु हुन्न । आँखा नदेख्ने राजा कसरी प्रजालाई खुशी पार्न सक्छ ?” उता जंगलमै भएकाबेला राजा पाण्डुलाई एकदिन रानी माद्रीसँग यौनकार्य गर्न इच्छा लागेछ । यौन चाहनाका कारण आफूले पाएको श्राप पनि उनले विर्से । जब यौन कार्य गर्न शुरु गरे त्यतिबेला उनको मृत्युभयो । रानी माद्री राजा पाण्डुसँगै सति गइन् । रानी कुन्ती छोराहरुका लागि भनेर छोरासहित हस्तिनापुर फर्किए । राजा पाण्डुको मृत्यु भएकाले धृतराष्ट्र नै राजा भइरहे । विदुर महामन्त्री थिए ।

कुन्ती र माद्रीका छोराहरु जवान भए । उता धृतराष्ट्र र गान्धारीबाट जन्मेका सय जना छोराहरु पनि जवान भइसकेका थिए । दुर्योधन जेठो छोरा थिए । पाण्डुका पुत्रहरुलाई ‘पाण्डव’ भनेर चिनिन्थे । धृतराष्ट्रका छोराहरु ‘कौरव’को नामले चिनिन्थे । धृतराष्ट्रको शेषपछि हस्तिनापुरको राजा को बन्ने ? वहस शुरुभयो । पाण्डु पुत्रहरुले राजकाज आफूले पाउनु पर्ने तर्क गरे । दुर्योधनले बुवाको शेषपछि आफू ‘राजा’ हुने अडान लिए । लामो छलफल र वहसपछि पाण्डुका जेष्ठपुत्र युधिष्ठिरलाई राजकुमार बनाइयो । दुर्योधन त्यसबाट क्रोधित भए । राजगद्दीका लागि युद्ध हुने अवस्था सिर्जना भएपछि धृतराष्ट्रले हस्तिनापुरलाई दुई भागमा विभाजित गरिदिए । इन्द्रप्रष्ट र हस्तिनापुरमा । इन्द्रप्रष्टका राजा युधिष्ठिर बने । हस्तिनापुरका राजकुमार दुर्योधन । तर दुर्योधनको मन कपटले भरिएको थियो ।

दुर्योनका मामा ‘सकुनी’ थिए । गान्धार राज्यका राजकुमार थिए, उनी । उनले पनि दुर्योधनलाई राजकुमार बनाउन चाहन्थे । दुर्योधन मामाबाटै दिक्षित थिए । सकुनी जुवा पासामा निपूर्ण थिए । पासा खेलेर पाण्डुका पाँचवटै पुत्रलाई उनले हराए । यहाँसम्म कि इन्द्रप्रष्ट र रानी द्रोपडीलाई समेत उनले जुवाबाट जिते । पाँच पाण्डवहरु कङ्गाल भए । आफूसँग केही रहेन उनीहरुको । १२ वर्ष वनबास र १ वर्ष अज्ञातबासको निर्णय सुनाइयो । पाँच पाण्डवहरु आमा कुन्तीलाई लिएर वनबास गए । यता दुर्योधन खुशीसाथ हस्तिनापुरको राजकुमार भएर बसे । १२ वर्ष र १ वर्ष अज्ञातबास पछि पाण्डवहरु फेरि फर्केर आउने छन् । ‘फेरि समस्या हुन्छ’ भनेर दुर्योधन र सकुनी मिलेर एउटा षडयन्त्र रचे । वनबास पछि पाण्डवहरु बस्ने आलिसान भवन ‘लक्ष्यगृह’ निर्माण गराए । निकै खर्च गरेर दुर्योधनले सो भवन बनाएका थिए । त्यसमा प्रवेश गर्ने बाटो त थियो तर निस्कने बाटो थिएन । अर्थात् एकतर्फी थियो । सकुनी र दुर्योधनले सो घरमा आगो लगाएर कुन्ती सहित पाँच पाण्डवलाई मार्ने योजना बनाएका थिए । योजनाबारे पाण्डवहरुले ढिलो भएपनि जानकारी पाए । भाग्नका लागि घरभित्रै सुरुङ खन्न लगाए । आगो लगाउने एकदिन अगावै उनीहरु सुरुङ मार्ग भएर घरबाट बाहिर निस्किए । घरमा आगो लाग्यो । सबैजना जलेर नष्ट भए भनेर हस्तिनापुरमा दुर्योधन, सकुनीले खुशीयाली मनाए । मदिरा पान गरे । अव हस्तिनापुरको राजा दुर्योधन मात्र हो भनेर रमाए । तर भगवान कृष्णको कृपाले पाण्डवहरु बाँच्न सफल भएका थिए ।

बकासुर बध
बकासुर एक दानवको नाम हो । अज्ञातबासका बेला उनको बध भीम (भेवाँ) ले गरेका थिए । भारतको इलाहवाद जिल्लामा पर्ने चक्रनगरीमा किसानहरु बस्थे । पाँच पाण्डवहरु १२ वर्षे वनवास सकाएर एक वर्षे अज्ञातबासमा थिए । अज्ञातबासका बेला हस्तिनापुरका कुनै सदस्यले देखेमा (चिनेमा) पुनः १२ वर्ष वनवास र एक वर्षे अज्ञातबास थपिने शर्त राखिएको थियो । त्यही भएर पाण्डवहरु अज्ञातबासका समय लुकेर बस्थे ।

अज्ञातबास भएकैबेला पाँच पाण्डवहरु आमा कुन्तीसहित घुम्दैफिर्दै चक्रनगरी गाउँमा पुगे । जहाँ बकासुर राक्षसको आतङ्क थियो । हरेक दिन पालैपालो गाउँबासीले दानव बकासुरलाई गुफामा गएर भोजन (खाना) पुर्याउँथे । भोजनसँगै गाउँको एक सदस्यलाई उसले मारेर खान्थ्यो । गाउँको एक घरमा पाँच पाण्डवहरु केही दिनका लागि शरण लिएका थिए । त्यही घरको पालो खाना पुर्याउने आयो । त्यो घरमा श्रीमान श्रीमती एक छोरी र एक छोरा थिए । घरका सदस्यबीच दानवलाई खाना पुर्याउन को जाने ? छलफल चल्यो । बच्चाका बुवाले ‘म जान्छु’ भने । उनको श्रीमती तयार भएनन् । ‘श्रीमान विना बच्चा टुहुरा हुन्छन् । बरु म जान्छु’ भनिन् । छोरीले ‘हैन म जान्छु, बुवा–आमालाई किन दुःख दिने’ भनिन् । छोरा सानै थियो । उनीहरुको पीडा र त्रासबारे कुन्तीलाई थाहा भयो । उनले के को त्रास हो ? जिज्ञासा गरिन् । तर घरका सदस्यले बताउन चाहेनन् । निकै आग्रहपछि घरका सदस्यले चक्रनगरी गाउँ बकासुर दानवको आतङ्कबाट त्रसित रहेको बताए । आज उसको भोजन (खाना) बन्ने पालो आफ्नो भएको सुनाए । बकासुरलाई भोजन लिएर जाने गाउँका सदस्यलाई राक्षसले खानासँगै मारेर खान्थ्यो । कुन्तिले सल्लाह दिइन् । मसँग पाँच जना छोरा (पुत्र) छन् । कुनै एक जनालाई राक्षसले मारेर खायो भने पनि चार जना बाँकी रहन्छन् । तर तिमीहरुको त एउटा छोरा र एउटी छोरीमात्र छ । त्यसैले ‘खाना लिएर राक्षसकहाँ मेरो कुनै एक पुत्र जान्छ’, प्रस्ताव गरिन् । उनको कुरालाई घरका सदस्यले मान्न तयार भएनन् । पाहुनालाई कसरी राक्षसको आहारा बनाउने ? ‘पाप काम हुन्छ’ भने । तर कुन्तिको सल्लाह पछि घरका सदस्य तयार भए । कुन्तिले गाउँको समस्याबारे आफ्ना पुत्रहरुलाई बताइन् । पाँचै पुत्रहरुवीच राक्षस कहाँ खाना लिएर को जाने, छलफल चल्यो । युधिष्ठिर आफू जेष्ठ पुत्र भएकाले आफू जाने अडान सुनाए । भीम ‘म जाने’ भने । अर्जुनले आफूलाई जान दिन आमा कुन्तिसँग विन्ती गरे । नहकुल र सहदेवले पनि आफूमध्ये कुनै एकलाई जान दिन आग्रह गरे । कुरा नमिलेपछि भीमले एउटा तर्क अघि सारे । म चारवटै भाईभन्दा बढी खाना खान्छु । सबैको भागको आधा हिस्सा निकालेर आमाले मलाई खान दिनुहुन्छ । कारण– भीमको ज्यान ठूलो थियो, बरावर खाना बाँडेमा उनी अघाउँदैनथे ।

सबै भाइको आधा हिस्सा खाना खाएको ऋण चुक्ता गर्नुपर्ने विन्ति गरेपछि कुन्तीले भीमलाई राक्षस बकासुर कहाँ खाना पुर्याउन अनुमति दिइन् । पाँच पाण्डवले निर्णय गरिसकेका थिए कि राक्षसलाई मारेर गाउँबासीलाई त्रासबाट मुक्त गर्ने । त्यो काम पाँच पाण्डवमध्ये जो कोहीले गर्न सक्थे । उनीहरु धनुण विद्यामा निपूर्ण थिए । अन्तमा भीम लहरु (वयल गाडा) मा खाना राखेर जंगलमा रहेको राक्षसको गुफामा पुगे । राक्षसका लागि लगेका सबै खाना पहिले ‘भीम’ आफैले खाए । त्यो चाल पाएपछि राक्षस गुफाबाट बाहिर निस्क्यो । आफ्नो खाना खाएको देखेर राक्षस क्रुद्ध बन्यो । भीममाथि आक्रमण गर्यो । तर भीम बलवान थिए । दुवैबीच घमासान युद्ध भयो । घण्टौंसम्म लडाई चल्यो । अन्तिममा भीमले राक्षस बकासुरको बध गरे । त्यो सूचना पाएर चक्रनगरका गाउँबासी खुशी भए । अव गाउँका कुनै सदस्यले ज्यान गुमाउनु नपर्ने भयो । खुशीले उनीहरु गाउँमा भोजभतेर लगाए । खुशीयाली मनाए । कुन्ति पुत्रहरुलाई फूलमाला लिएर भेट्न गए । तर उनीहरु एकाविहानै झिसमिसेमै गाउँ छाडेर अन्तै हिडिसकेका थिए । यसरी भीमले गाउँबासीको रक्षा गरेका थिए ।

अट्वारीको प्रसङ्ग
भेवाँ (भीम) सहित पाँच पाण्डव जहाँ शरण लिएर बसेका थिए, ‘त्यो थारु गाउँ थियो ।’ गाउँका सदस्यहरुलाई दानवको चङ्गुलबाट जोगाएकै कारण थारुहरुले भीमलाई देवताको रुपमा स्वीकारे । पाँच पाण्डवलाई ‘देवथानमा स्थान दिए’ भन्ने किंवदन्ती छ । आज थारु गाउँका सबै देवथान (मर्वा) मा पाँच पाण्डवको स्थान सुरक्षित छ । जुनसुकै पूजामा पुजिन्छन् । मन्त्रमा शिव, पार्वती, व्रह्मा, विष्णुसँगै पाँच पाण्डवको प्रसङ्ग चल्छ । राक्षसबाट थारु चेली तथा गाउँबासीलाई रक्षा गरेकै सम्झनामा थारु पुरुषहरु अट्वारीमा भीमको ‘व्रत’ बस्छन् । पूजा गर्छन् । राक्षस बकासुरको बधपछि गाउँबासी गाउँमा खुशीयाली र भोज भतेर लगाएर रमाएका कारण व्रतपछि थारु व्रतालुले आफ्ना चेलीबेटीलाई उपहारका रुपमा मीठा परिकार पुर्याउँछन् । यसरी पुर्याइने मीठा परिकारलाई थारुमा ‘अग्रासन’ भनिन्छ । भीमको स्मरणमा व्रतालुले खाना ग्रहण गर्नुभन्दा पहिले अग्र भागमा छुट्याएर राखिएको परिकार भएकाले त्यसलाई अग्रासन भनिएको हो । त्यहीबेला व्रतालुले नुहाई धोई सफा भएर अग्नी देवताको पनि पूजा गर्छन् । यसवर्ष भदौ ७ गते थारु समुदायले अट्वारी पर्व मनाउँदै छन् । अट्वारी पर्व हरेक वर्ष कुशेऔंसी पछिको पहिलो आइतबार मनाइन्छ । अट्वारी पर्व मनाउनेबारे थारु समुदायमा अनेक किंवदन्ती छ । तथापि भेवाँसँग जोडिएको यो किंवदन्ती तर्कपूर्ण छ । भेवाँलाई पूजा गर्नुको अर्थ महाभारतको प्रसङ्गलाई जोडेर हेर्दा बढी वैज्ञानिक र प्रासङ्गिक हुन्छ ।

(लेखक थारु संस्कृतिका खोजकर्ता हुन् ।)

तपाईको प्रतिक्रिया