थाकसको थारु मानक भाषा वहस ४, ‘भाषाले थारुलाई धुव्रीकृत गरिनु हुन्न’


हमार पहुरा डट कम
काठमाडौं, भदौ २० गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को आयोजनामा भइरहेको थारु मानक भाषा वहस भाग ४ शनिबार सम्पन्न भएको छ । भर्चुवल कार्यक्रममा तीन जनाले आफ्नो प्रस्तुती तथा तीन जनाले टिप्पणी गर्नुभयो ।

कार्यक्रममा बमबहादुर चौधरी (रुपन्देही), महेश चौधरी (सप्तरी) र श्रवणकुमार सुतिहार (मोरङ) ले प्रस्तुति गर्नुभयो । त्यसैगरी महेश चौधरी (दाङ), भुलाई चौधरी (सप्तरी) र नन्दलाल चौधरीले टिप्पणी गर्नुभयो । प्रस्तुति गर्ने तीनै जनाको चिन्ता भाषाका कारण थारुहरुबीच ध्रुविकरण आउन नहुने थियो ।

पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म बसोबास गर्ने सबै थारु भएकाले समुदायलाई जोड्नेखालको एउटा मानक भाषा बनाउनमा जोड दिनुभयो । फरक फरक मानक बनाउँदा समाज ध्रुविकृत हुने र फुटको विउँ रोपिने चिन्ता उहाँहरुको छ ।

वक्ता बमबहादुर चौधरीले दाङ भेलाले प्रस्तुत गरेको ११ अक्षर (त,थ,द,ध,ञ,ण,ष,श,क्ष,त्र,ज्ञ) प्रयोग नगर्ने विषयमा आफू सहमत नरहेको बताउनुभयो । भाषाको विकास गर्न सबै व्यन्जन र स्वण वर्णको प्रयोग गर्न आवश्यक रहेको भन्दै उहाँले पूर्वदेखि पश्चिमसम्मका थारुलाई जोड्न एउटा मानक भाषा बन्न आवश्यक रहेको बताउनुभयो । एउटा मानक बनाउन सकिने प्रशस्त आधार रहेको उहाँले चर्चा गर्नुभयो ।

अर्का वक्ता महेश चौधरी (सप्तरी) ले पूर्व र पश्चिमका शब्द संकलन गरी एकीकृत शब्दकोष तथा व्याकरण बनाएर थारु मानक भाषा बनाउनमा ढिलाई गर्न नहुने बताउनुभयो । थारु समुदाय पूर्वदेखि पश्चिममा छरिएर बसेकाले ठाउँ अनुसारको भाषाको प्रभाव थारु भाषामा परेकाले लवजमा सामान्य फरक भएपनि साझा भाषा बनाउनमा कुनै समस्या नरहेको बताउनुभयो । पूर्वको थारु भाषा पश्चिमका थारुले बुझ्ने र पश्चिमका थारु पूर्वका थारुले सजिलै बुझ्नु नै भाषा एकरुपताको उदाहरण भएको उहाँले चर्चा गर्नुभयो ।

अर्का वक्ता श्रवणकुमार सुतिहारले थारु भाषाको ठाउँअनुसार उच्चारण सामान्य भेद रहेपनि जरा एउटै भएकाले एउटै मानक भाषा बनाउन सहज रहेको बताउनुभयो । भाषालाई खुम्च्याउनुभन्दा बृहत बनाएर जान आवश्यक रहेकाले सबै वर्णको प्रयोग अनिवार्य रहेको बताउनुभयो । सबै क्षेत्रबाट प्रतिनिधित्व हनेगरी थारु विज्ञहरु समेटेर कार्यदल गठन गरी मानक भाषा बनाउनमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महेश चौधरी (दाङ) ले थारु समुदाय धेरै अगाडि बढिसकेकाले पुनः पछाडि फर्कने कुनै सम्भावना नरहेको बताउनुभयो । मानक भाषा बनाउँदा देवनागरिको सबै वर्णहरुको प्रयोग अनिवार्य रहेकाले भाषालाई खुम्च्याउनेतर्फ कोही लाग्न नहुने बनाउनुभयो । दाङ पश्चिममा तालब्य ट, ठ, ड, ढ र दन्त्य त, थ, द, ध सबै वर्णको समानरुपमा कथ्य र लेख्यमा प्रयोग भइरहेको बताउनुभयो ।

कार्यक्रममा भुलाई चौधरी र नन्दलाल चौधरीले समेत आफ्नो सुझाव राख्नुभएको थियो । थाकसले हरेक शनिबार भर्चुवलरुपमा मानक भाषा वहस सञ्चालन गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया