थारू मानक भाषा वहस ३

विचार/विश्लेषण

लक्की चौधरी

थारू मानक भाषाको वहस उत्कर्षमा देख्दा मन खुशी छ । विभिन्न कोणबाट विचारहरु प्रवाहित भइरहेका छन् । यसले मानक बन्ने आधार तयार बन्दैगएको महशुस गराउँछ । भाषाका यत्ति धेरै विज्ञहरु हुँदा हुँदै पहिचान गर्न सकिएको थिएन । यो वहसले थारू विज्ञको पहिचान गरेको छ । विज्ञको ‘नाडी’ (लारी) छाम्ने अवसर वहसले जुराइदिएको छ । पाठक, स्रोता, दर्शकले सञ्चार माध्यमबाट वहस नियालिरहनु भएको छ । अवश्य मूल्याङ्कन पनि गरिरहनुभएकै छ । हिड्ने पक्की बाटो सजिलै बन्दैन । धेरै माथापच्ची हुन्छ । पहिलो कुरा बाटोका लागि जग्गा चाहियो । सरकारले उपलब्ध गराउने कि व्यक्तिले निक्र्यौल गर्नुप¥यो । त्यसपछि त्यसको नाप नक्सा गर्नुपर्छ । डिजाइन बनाउनुपर्छ । इन्जिनियर, ठेकेदार देखि काम गर्ने श्रमिक लगाउनुपर्छ । आवश्यक बजेट, कच्चा पदार्थसहितका सामग्री जोहो गर्नुपर्छ । दायाँबायाँ एक इन्च पनि जग्गा अरुको नजावस् ख्याल गर्नुपर्छ । ख्याल नगरिए लडाई, झगडा र द्वन्द्व सिर्जना हुनसक्छ । समय खर्च हुन्छ । यी सबै काम गरिसकेपछि बाटो पक्की बन्छ । सबैलाई हिड्न र दौड्न सहज हुन्छ । छेउछाउका जग्गा जमिनको दर रेट आकासिन्छ । वातावरण स्वच्छ हुन्छ । स्थानीयलाई ‘शान’ हुन्छ । घर छेउमै पक्की बाटो बनिसकेपछि सबै किसिमले आवत–जावत सहज हुन्छ । व्यापार, व्यवसार, उद्यम फस्टाउँछ । मानिसको ओहोर–दोहोर बृद्धि हुन्छ । घरहरु बन्नेक्रम बढ्छ । वस्ती विकास र विकास निर्माणका काम सहजरुपमा हुँदै जान्छ ।

मानक कुनै व्यक्तिको लागि होइन । यो त समाज र समुदायका लागि हो ।

भाषालाई मानकीकरण गर्दा पनि त्यस्तै माथापच्ची हुन्छ । जुन काम हामीले भर्खर शुरु गरेका छौं । आज जुन किसिमको सकस र द्वन्द्वको अनुभूति भइरहेको छ, मानक बन्ने तयारीको रुपमा बुझिनुपर्छ । सडक पक्की बन्नेक्रममा अनेक समस्या, झमेला आउँछ । बाटोघाटो खाल्डाखुल्डी पर्छ । धुलो उड्छ । खाल्डाखुल्डीमा साईकल, मोटरसाइकल, गाडी अल्झिन्छन् । मान्छेलाई पैडल हिड्न सकस हुन्छ । सडक जाम हुन्छ । तर बनिसकेपछि सुगम हुन्छ । ठीक त्यस्तै, हामी थारु मानक भाषा बनाउने सडक बनाउने चरणमा छौं । आरोप प्रत्यारोप, टिकाटिप्पणी, आक्षेप वहस हुनु सामान्य हो । तर वहस कर्ताले अरुको चरित्रमा आँच नपुगोस् भन्नेतर्फ ख्याल गर्नुपर्छ । मानक कुनै व्यक्तिको लागि होइन । यो त समाज र समुदायका लागि हो । साझा सम्पत्ति हो । त्यसैले वहस पनि सभ्य र शालीन हुनुपर्छ । जति सभ्य, बौद्धिक, शालीन र तार्किक वहस भयो त्यति राम्रो मानक तयार हुन्छ । ठेकेदारले प्रशस्त बजेट र विना झन्झट सडक पक्की बनाउने अवसर पायो भने गुणस्तरीय बनाउँछ । त्यसैगरी हामीले साझा र धेरैभन्दा धेरैलाई स्वीकार्य मानक बनाउन हाम्रो तर्क र वहस त्यहीअनुसारको हुनुपर्छ ।

के हो भाषा विज्ञान
भाषाको समग्र पक्षमा अध्ययन गर्ने विज्ञान नै भाषा विज्ञान हो । अर्थात् भाषा विज्ञान भनेको भाषाको वैज्ञानिक रुपमा अध्ययन गर्ने शास्त्र हो । भाषाको उत्पत्ति धेरै पुरानो भए पनि भाषा विज्ञानको विकास १९ औं शताब्दीमा मात्र भयो । भाषाको उत्पत्ति, स्वरुप, विकास आदिको वैज्ञानिक एबम् विश्लेषणात्मक अध्ययन यसमा गरिन्छ । भाषा विज्ञानका अध्येताहरु भाषा विज्ञानीको नामले चिनिन्छन् । भाषा संरचना गर्नु भनेको व्याकरण बनाउनु हो । शब्दकोष तयार गर्नु हो । भाषा विज्ञानका दुई पक्ष हुन्छन् । तात्विक र व्यहारिक । तात्विक भाषा विज्ञानमा भाषाको ध्वनिसम्भार (स्वर विज्ञान र ध्वनि विज्ञान (फोनेटिक्स), व्याकरण (वाक्य विन्यास) र शब्दार्थ (अर्थ विज्ञान) को अध्ययन हुन्छ ।

व्यवहारिक भाषा विज्ञानमा अनुवाद, भाषा शिक्षण, वाक चिकित्सा आदि पर्छन् । यसको अतिरिक्त भाषा विज्ञानको ज्ञान विज्ञानसँग गहिरो सम्बन्ध हुन्छ । यसैबाट समाज भाषा विज्ञान, मनोभाषा विज्ञान र गणनामूलक भाषा विज्ञान बन्छ । भाषा विज्ञानले बनाउने भाषा समाजमा स्वीकार्य पनि हुनुपर्छ ।

बुझाईमा हाउगुजी
थारूको साझा एउटा मानक भाषा बनाउँदा ‘थारु भाषिका मर्छन्’, ‘भाषिक सौन्दर्यता समाप्त हुन्छ’ भन्ने हाउगुजी देखिन्छ । जुन अल्पज्ञान    हो । थारू मानक भाषा बनाउँदा कुनै भाषालाई मारेर बनाउने होइन । सबै भाषिकाको सहायताले एउटा साझा लेख्य मापदण्ड बनाउने हो । भाषिकाहरु स्थानीयमा बोली र लेखाई (कथ्य र लेख्य) दुवैमा यथावत प्रयोग हुनेछन् । त्यसमा किञ्चित अवरोध हुँदैन । मानिसले अहिले जे बोलिरहेका छन्, त्यही बोल्छन् । मात्र एउटा लेख्य मापदण्ड बनाएर लेखाईमा एकरुपता ल्याउने काम ‘मानक’ हो । जसरी अहिले पश्चिम दार्चुलादेखि पूर्वको झापा, इलाम, ताप्लेजुङसम्मका मानिसलाई आफ्नो भाषिका बोल्ने, लेख्ने छुट छ । सामान्य चिठीपत्र, गीतबाँस लेख्दा त सामान्य लेख्य भए पुग्छ । अड्डा अदालत, प्रशासनिक, कार्यालयमा मात्र स्तरीय लेख्यको अभ्यास हुन्छ । जसलाई ‘मानक सम्पर्क भाषा नेपाली’ भनेर हामी चिन्छौं । थारु समुदायको अहिले मानक नहुँदा सम्पर्क भाषा नेपाली नै मानक हो । त्यही भाषामा हामी अध्ययन, अध्यापन र सरकारी कामकाज गर्दैआएका छौं । हाम्रो आफ्नो थारु भाषा पनि यथावत कायम छ । सबै भाषिका जिउँदै छन् । त्यसैले त हामी थारु मानक भाषाको वहस गर्दैछौं, आज । सम्पर्क भाषा नेपाली बनाउँदा कुनै स्थानीय भाषिका मरे त ? मरेको त छैन । हो, त्यसैगरी थारु साझा मानक भाषा बनाउँदा पनि हाम्रा थारुको कुनै भाषिका मर्दैन । यथावतै रहन्छ । त्यही भाषिकाबाटै नयाँ भाषाको सिर्जना हुन्छ । जसलाई हामी थारु मानक भाषा (सम्पर्क भाषा) भनेर पहिचान गर्नेछौं । सरकारले औपचारिक मान्यता दिएपछि हामी लेख्यरुपमा प्रयोग गर्नेछौं । थारु भाषाको पत्रपत्रिका, पाठ्यपुस्तक, फिल्म, डकुमेन्ट्री देखि सबै उत्पादन त्यसपछि हामीले मानक थारु भाषामै टेकेर गर्नेछौं ।

थारूको साझा एउटा मानक भाषा बनाउँदा ‘थारु भाषिका मर्छन्’, ‘भाषिक सौन्दर्यता समाप्त हुन्छ’ भन्ने हाउगुजी देखिन्छ ।

‘दन्त्य त, थ, द, ध लेख्दा थारु पहिचान मर्छ’ भन्ने कतिपयको बुझाई छ । यदि त्यसो हो भने थारुको पहिचान ‘दन्त्य’ र ‘तालब्य’ उच्चारणमै सीमित छ ? हाम्रो पहिचान यति कमजोर छ ? दाङ पश्चिमका केही डंगौरा थारुले बोल्ने तालब्य ट, ठ, द, ढ बोल्दैमा समग्र थारूको पहिचान प्रतिविम्बित हुन्छ र ! त्यसैले यो पनि वैज्ञानिक तर्क भएन । केटाकेटी तर्क भयो । अर्को तर्क ह्रस्व ( ि) को छ । ह्रस्व मात्र लेख्यो भने लेखाईमा सहज हुन्छ । एकरुपता हुन्छ भन्ने भनाईमा सहमत हुन सकिदैन । एकै साइड्बाट रोटी पकाउँदा रोटीमा मिठास आउँछ र ! होला, महाभारतका कुन्तीपुत्र भीम (भेवाँ) को रोटीको आकार ठूलो थियो । भीमले खाने रोटी सर्वसाधारणले पल्टाउन सक्दैन्थे । यो त किंवदन्ती हो । सत्य हुन पनि सक्ला, नहुन पनि सक्ला । विश्वासमा अडेको विषय भयो । दानवबाट थारु चेलीबेटीको रक्षार्थ गर्न भीम युद्धमा जाँदा अरुले रोटी पल्ठाउन सकेनन् । रोटी एक तिरबाट मात्र पाक्यो । त्यसैले पश्चिमा थारु समुदायले अहिले अट्वारी पर्वमा एक साइड (अक्के कर) बाट पाकेको रोटी सांकेतिक रुपमा पकाउँछन् । सम्मानका लागि भीमको व्रत बस्छन् । त्यो एउटा पक्ष हो । हामीले भान्सामा नियमित पकाएर खाने रोटी एक साइडबाट मात्र पाकेको त हुँदैन । ‘ह्रस्व मात्र लेख्नुपर्छ’ भन्ने तर्क पनि सधैं ‘रोटी एक साइडबाट मात्र पकाएर खाउँ’ भनेजस्तै हो । कसरी स्वाद आउला ?? जिव्रोको स्वादका लागि दुवै साइडबाट रोटी पाक्न आवश्यक हुन्छ । त्यसैगरी भाषिक स्वादका लागि ह्रस्व ( ि) र दीर्घ ( ी ) लेख्नु अनिवार्य हुन्छ । हाम्रो समुदाय त सीपमा कुशल समुदाय हो । ह्रस्व दीर्घ लेख्न र पहिचान गर्न के को समस्या ? बेउँझा गाँठ पर्ना हो कि हरगोँठा, सट्कन्नी सबैमा हामी कुशल छौं । किन ह्रस्वको सजिलो बाटो मात्र हिड्ने ? बालबालिकालाई कुशल र क्षमतावान बनाउन सिधा बाटो मात्र हिडाएर हुँदैन । बाङ्गो टिङ्गो, उचनिच, समथर पर्वत्वा सबै बाटो हिडाउनु पर्छ । त्यसो गरेमात्र बालबालिकाको बौद्धिक विकास हुन्छ । यदि बोलीको हिसावले हमी थारू ह्रस्व मात्र बोल्छौं कोही भाषा विज्ञले भन्छ भने उसको कमजोरी हो, त्यो ।

नेपाली भाषाको ह्याङ
कतिपय बुज्रुकले थारूहरुमा नेपाली भाषाको ‘ह्याङ’ भएको टिप्पणी गर्छन् । कक्षा शिशुदेखि हामीले पढ्दै आएको भाषा कुन हो ? कुन लिपि हो ? अनि नेपाली भाषाको ह्याङ नभएर के को होला ? त्यही भाषा पढेर आफूलाई ‘विज्ञ’ मान्ने । त्यही भाषाको सहयोगले रोजीरोटी चलाउने । त्यही लिपि टेकेर थारु मानक भाषा वहस गर्ने क्षमता बनाउने । अनि आज नेपाली भाषाको ह्याङ भयो भन्दा अलि सुहाएन कि हुजुर ! हो, हाम्रो थारूको आफ्नै भाषा, भाषिका छ । त्यसको संरक्षण र प्रवद्र्धन हुनुपर्छ । त्यसकैलागि त मानक भाषा बनाउने वहस भइरहेको छ । मानक बनाउनु भनेकै भाषा जोगाउनु हो । मार्नु होइन । थारु ठेट शब्द शब्दावलि मार्ने त कसैले भनेको छैन । थारुको असली ठेट शब्द संकलन गरी त्यसको अर्थसहित शब्दकोष निर्माण गरौं । त्यसलाई बेल्सौं (प्रयोग गरौं) र शब्दभण्डार बनाऔं सबैको समान तर्क छ । फेरि के को नेपाली भाषाको ह्याङ ?? सम्पर्क भाषा हाम्रो नेपाली नै हो । हामी नेपाली धर्ती पूत्रपुत्री हौं । फेरि किन नेपाली सम्पर्क भाषासँग यत्रो दुश्मनी ? नेपाली भाषा, देवनागरि लिपि त्यागेर थारु मानक भाषा बनाउने ‘दम’ छ कसैमा ? छ भने बनाएर देखाउनुस् । छैन भने किन ‘नेपाली भाषा ह्याङ’ मा टाउको दुखाई ? नेपाली भाषा शुद्धसँग लेख्न पढ्न जान्नु त राम्रो हो । ज्ञान हो, सीप र क्षमता बृद्धि हुनु हो । ज्ञान र सीप कहिल्यै खेर गएको छ   र !

केही सुझाव
१) मान्छे कोही जन्मदै ‘विज्ञ’ भएर जन्मिदैन । हुर्कदै, बढ्दै ज्ञान आर्जन गर्छ । आफूलाई निपूर्ण बनाउँछ । तथापि जीवनभर मानिसको सिकाई सकिदैन । कोही मानिस आफैमा ‘पूर्ण’ हुँदैन । त्यसैले ‘मैले भनेकै पूर्ण हो’, तर्क नगरौं ।

२) भाषिकाको शब्द मिलाएर नयाँ मानक बन्छ । भाषिकाको शब्द मर्दैन । एउटा अन्नको विउँको महत्व तब हुन्छ, जब उसको भूमिसँग स्पर्श हुन्छ । जमिनसँग मिलन हुन्छ । विउ जमिनमा नपर्दासम्म उत्पादकत्व क्षमता देखाउन पाउँदैन । त्यसैगरी थारु मानक भाषाका लागि भाषिका जोड्दा नयाँ सिर्जना हुन्छ । भाषा मर्दैन । एउटा पुरुष र महिलाको मिलन हुँदा मात्र नयाँ उत्पादन सम्भव भएजस्तै, हाम्रा सबै क्षेत्रको भाषिकालाई जोडेर नयाँ थारु मानक भाषा बनाउँदा वैज्ञानिक हुन्छ ।

३) काम गर्दैजाँदा समस्या, चुनौति र अप्ठेरा आउँछन् । त्यसको सामना गर्दै सहज बनाउनु नै सफलता हो । अप्ठेरोदेखि भाग्ने मानिस कहिल्यै जीवनमा सफलता गर्न सक्दैन । थारुको एउटा मानक भाषा बनाउन अप्ठेरो छ भनेर भाग्नुभयो भने थारु मानक भाषा कहिल्यै बन्दैन । अप्ठेरोबाटै काम शुरु गर्नुपर्छ र सही नतिजा निकाल्नुपर्छ । त्यही नै सही सफलता हो ।

थारु मानक भाषाका लागि भाषिका जोड्दा नयाँ सिर्जना हुन्छ । भाषा मर्दैन ।

४) अर्जुन गुणरत्नेले थारू समुदायको अध्ययन खोज गर्ने क्रममा ‘मेनी टङ्ग्स वान पिपल’ भनेका थिए, तर हामी अब ‘मेनी टङ्ग्स वान स्टाण्डर्ड ल्याङ्ग्वेज’ बनाउँ । थारु समुदायको पहिचान गर्ने क्रममा उहाँले ‘मेनी टङ्ग्स वान पिपल ः दि मेकिङ अफ थारु आइडेन्टिटी इन नेपाल’ पुस्तक लेखे । त्यसको हामीले सम्मान गर्नुपर्छ । त्यसबाट सिक्नुपर्छ र नयाँ सिर्जना गर्न सक्नुपर्छ ।

५) भनिन्छ नि ‘कि पढेर जानिन्छ कि परेर ।’ कतिपय विषयवस्तु ‘परेर’ विज्ञता हासिल गरिन्छ । कतिमा पढेर । विषय विज्ञ होइन भन्दैमा उसलाई त्यसबारेमा केही जानकारी नै छैन भन्ने ठान्नु हुँदैन । हाम्रा गाउँका पूर्खाहरु अनुभवका खानी हुन् । उनीहरु पढेका नभए पनि परम्परागत ज्ञान, सीप र अनुभवका भण्डार हुन् । यदि त्यसो हुँदो हो त, पत्रकारिता विषय नपढेरै कोही कोही ‘पत्रकार’ किन बन्छन् ? प्रशासनिक विषय नपढेर किन देशको प्रधानमन्त्री बन्छन् । अर्थ सम्बन्धी अध्ययन नगरेर अर्थमन्त्री भएका धेरै उदाहरण हाम्रै सामु छ । कुनै विषयमा मास्टर्स उत्तीर्ण नगरेरै गाउँका विद्यालयमा धेरै मास्टर छन् । गाउँ घरमा धेरैको नाम नै ‘मास्टर’ परिसक्यो । त्यसैले भाषा विज्ञान पढ्नेलाई मात्र त्यससम्बन्धी ज्ञान हुने, अरुलाई नहुने भन्ने हुँदैन । विषय विज्ञता बढी हुन सक्ला, त्यसमा सहमत हुन सकिन्छ ।

६) चार वटा अक्षर ष, स, श र ण मा अर्को तर्क वितर्क छ । कखरा पढ्नेबेला हामीले ‘ष’ लाई ‘ख’ उच्चारण गरेर पढेकै हौं । तर पछि त्यसलाई ‘स’ उच्चारण गर्न थाल्यौं । त्यसैले त ‘कृष्ण’ लाई ‘किरिस्न’ उच्चारण गर्छौं । नत्र अहिले पनि ‘ष’ लाई ‘ख’ उच्चारण गर्ने हो र ‘ण’ लाई ‘न’ उच्चारण गर्ने हो भने त ‘कृख्न’ भन्नुपर्ने हो, होइन र ! के अब नाममा अपभ्रंश गरेर ‘कृख्न’ नै भन्ने र लेख्ने हो त ? त्यसो त होइन, होला । त्यसैले तर्क सुहाउँदो खालको गरौं ।

७) थारु शब्दलाई हामी थारू आफैले परिभाषा गर्नुपर्छ । त्यो छुट हामीलाई छ । तर त्यसकालागि थारु ठेट शब्दको संकलन गरौं, छलफलको निस्कर्षअनुसार त्यसको अर्थ दिउँ र शब्दकोष बनाउँ । यसमा कसैको दुईमत छैन । हामीले आफनो शब्दको अर्थ दिन नसक्दा नै हाम्र्रा ठेट शब्द लोप हुन थालेका छन् । जोगाउने दायित्व र कर्तव्य हाम्रै हो ।

८) भाषालाई तिखार्ने काम अवश्य साहित्यले गर्छ । भाषा जोगाई राख्न साहित्य बाँच्नुपर्छ । थोरबहुत सबै भाषिकामा साहित्य जिउँदै छ । डंगौरा थारु भाषामा तुलनात्मक रुपले साहित्यको प्रयोग बढी हुन सक्ला । तर ‘साहित्य छैन अव ती भाषा मर्छन्’ भनेर अड्कल अहिले नै गर्दा हतारो होला कि । युवालाई सचेत गराउँ । सबै भाषिकाको साहित्यलाई उर्वर हुने वातावरण बनाउँ । भाषा साहित्यमा रुची राख्ने भाषाप्रेमीको हैसियतले जोगाउने कर्तव्य हामी सबैको हो ।

९) भाषा भनेको सञ्चार गर्ने सशख्त माध्यम हो । सूचना प्रवाहको एउटा टुल्स हो । यसको अर्थ यो होइन कि सम्पर्क भाषा नेपालीमा आफ्नो विचार लेख्दैमा, प्रवाह गर्दैमा थारु भाषा नै मरिहाल्छ । थारुमा लेख्दैमा थारु भाषा मानक नै बनिहाल्दैन । सघाउ भने अवश्य गर्छ । अहिले थारू मानक भाषा बन्ने क्रममा छ । पश्चिम र पूर्वको भाषाको उच्चारणमा केही भिन्नता छ । सबैलाई थाहा भएकै कुरा हो । बोल्न सहज नभए पनि कुरा बुझ्न गाह्रो छैन । पश्चिमका थारूको कुरा पूर्वका थारुलाई बुझाउनु पर्दा सहजताका लागि सम्पर्क नेपाली भाषा प्रयोग गरिएको हो । त्यसलाई त्यहीरुपमा बुझ्नुपर्छ । म यहाँ सम्पर्क भाषा नेपालीमा आफ्नो विचार प्रवाह गरिरहेको छुँ भन्दैमा आफ्ना थारु भाषा नै ‘मारिसके’ भन्ने अर्थ नलगाउँ । संसारको एक कुनाबाट अर्को कुनामा साथी बनाउँदा, सम्पर्क गर्दा हामीले साझा भाषा अंग्रेजी प्रयोग गर्छौ । यसको अर्थ हाम्रो सम्पर्क भाषा नेपाली र थारु भाषा मरिहाल्यो भन्नु हुँदैन ।

१०) देवनागरि लिपिको नेपाली वर्णबाट केही अक्षर हटाउँदैमा भाषा शैली बन्ने होइन । नयाँ सिर्जना गरेमात्र नयाँ शैली बन्ने हो । बिगार्न त जे पनि सहज हुन्छ, तर बनाउन त्यतिकै कठिन । भेला, छलफल गरेर केही निस्कर्षमा पुग्नु राम्रो पक्ष हो । सिर्जनात्मक पक्ष हो । तर एउटै भेला र छलफल भाषाको विषयमा पूर्ण होइन । यदि पूर्ण हुँदो हो त यो वहस अहिले किन चल्थ्यो । भेलाले गरेको प्रस्तावलाई सकारात्मक रुपमा लिनुपर्छ । लिन सकिन्छ । यो प्रस्ताव नगरिएको भए थारु मानक भाषाको वहस अहिलेको अवस्थामा आउने थिएन । यसको ‘जस’ दाङ भेलालाई दिन कन्जुस्याई नगरौं । तर ‘प्रस्ताव नै निर्णय हो’ भनेजस्तो दावी गर्नु पनि उचित होइन ।

थारु आपसमै विवाद र झमेला गरिरह्यो भने सरकारले त्यसलाई आधिकारिकता दिंदैन ।

११) थारू समुदायको समग्र हित चाहने हो भने क्षेत्रीयताबाट माथि उठ्न सक्नैपर्छ । दाङ पश्चिमको मात्र थारु मानक बनाउनमा लाग्नै हुँदैन । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्मको समग्र थारुको एउटा थारू मानक भाषा वहसमै जोड दिनुपर्छ । हामी थारु आपसमै विवाद र झमेला गरिरह्यो भने सरकारले त्यसलाई आधिकारिकता दिंदैन । धेरेभन्दा धेरैका स्वीकार्यता भएमात्र त्यसले आधिकारिता पाउँछ । सरकारले आधिकारिता नदिएसम्म थारु मानक भाषा लागु हुन सक्दैन । त्यसमा पनि ध्यान दिउँ ।

१२) ‘जसरी बोलिन्छ त्यसरी लेख्नुपर्छ’ भन्ने कुरा अस्वीकार्य होइन । तर पश्चिमको डंगौरा थारूको ठेट शब्दको एउटा सूची बनाउँ । पूर्वका थारुको ठेट शब्दको अर्को सूची बनाउँ । मध्ये तराईमा बोलिने भाषिका र अन्य भाषिकाको शब्द सूची बनाएर त्यसको अर्थ निक्र्यौल गरौं । विना अर्थको शब्दको के पहिचान ? पश्चिम तराईमा बोलिने थारुको तालब्य ट, ठ, ड, ढ र दन्त्य त, थ, द, ध बाट सिर्जना हुने सबै शब्दको पहिचान गरौं । त्यसको अर्थ दिउँ । पश्चिममा बोलिने तालब्य शब्द मात्र ठीक, मध्ये र पूर्वमा बोलिने दन्त्य त, थ, द, ध बाट बन्ने शब्द बेठिक भन्ने हो भने निस्कर्षमा पुग्न सकिदैन । सबैको जित हुनेगरी एउटा मानक बनाउँ । कसैले छाडौं, कसैको थपौं । कसैले परित्याग गरौं । यसैमा समस्याको निकास नीहित छ ।

(लेखक गोरखापत्र दैनिकका उपसम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया