थारु कल्याणकारिणीसभाको मानक भाषा वहस ५ सम्पन्न, निरन्तरतामा जोड


हमार पहुरा डट कम
काठमाडौं, भदौ २७ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को थारु मानक भाषा वहस भाग ५ शनिबार सम्पन्न भएको छ । आजको भर्चुवल वहसमा महिलाले धारणा राख्नुभयो ।

कार्यक्रममा निरा भगत (मोरङ), शान्ति चौधरी (बारा) पुष्पा चौधरी (वर्दिया) र उन्नति चौधरी (कैलाली) लाई मुख्य वक्ताकोरुपमा आमन्त्रण गरिएको थियो । तर भगत र शान्तिको सहभागिता हुन सकेन । इन्टरनेटको प्राविधिक समस्याका कारण उहाँहरुले धारणा राख्न सक्नु भएन । पुष्पा र उन्नतिले आफ्नो धारणा राख्नुभयो ।

थारु भाषा मानक बनाउँदा महिला शब्दलाई पनि ध्यान दिएर बनाउनु पर्ने, थारु एउटा मात्र मानक बनाउनेमा उहाँहरुको सुझाव रहयो । कतिपय थारु शब्द शब्दावली अश्लील, भड्डा र महिला हिंसा हुने खालका शब्द समाजमा रहेकाले त्यस्तो शब्दलाई राख्दा ध्यान दिनुपर्ने उहाँहरुको सल्लाह छ । नेपाली शब्द ‘यौन सम्पर्क’, लाई थारुमा के भन्ने ? ‘छिनार’, र ‘मेहरी’ शब्दलाई कसरी रुपान्तरण गर्ने जस्तो जिज्ञासा उहाँहरुको थियो ।

त्यस्तै कार्यक्रममा डा. कृष्णप्रसाद पौड्याल, भुलाई चौधरी, बुद्धसेन चौधरी, महेश चौधरी (सप्तरी), रामशरण चौधरी (रौतहट) लगायतले धारणा राख्नुभयो । थाकसले शुरु गरेको मानक भाषा वहसको प्रसंशा गर्दै वक्ताहरुले निरन्तरता दिनुपर्ने र मानक बनाउने अभियानमा लागिहाल्नु पर्ने सुझाव दिनुभयो ।

मानक वहसलाई वहसमा मात्र केन्द्रित गर्दा मानक बन्न नसक्ने बरु सँगसँगै विज्ञहरुको कार्य समिति बनाएर कामको शुरुवात पनि गर्दैजानुपर्ने सुझाव उहाँहरुको थियो । मानक बनाउँदा कुनै भाषिकलाई टेकेर बनाउनुभन्दा पनि साझा शब्द संकलन गरेर नयाँ भाषा बनाउनुपर्ने सुझाव उहाँहरुको थियो ।

तपाईको प्रतिक्रिया