हमार पहुरा डट कम
काठमाडौं, असोज १० गते । थारु कल्याणकारिणी सभा (थाकस) को छैठौं थारु मानक भाषा वहस आज शनिबार सम्पन्न भएको छ । वहसमा विज्ञहरुले सैद्धान्तिक पक्षमा मात्र नगएर व्यवहारिक पक्षलाई पनि ध्यान दिएर साझा थारु मानक भाषा बनाउन सुझाव दिनुभयो ।
थारु समुदाय तराईका जिल्लामा छरिएर रहेको र स्थानअनुसार लवज र उच्चारणमा केही भिन्नता भएपनि त्यसलाई व्यवहारिक रुपमा प्रयोग गर्न सक्ने बनाउन सकिने उहाँहरुको तर्क छ । अरु समुदायले आफ्नो समुदायको मानक भाषा बनाइसके पनि थारु अझै पछि रहेको बताउँदै उहाँहरुले चाँडै मानक बनाउने अभ्यास शुरु गर्नुपर्ने बताउनुभयो ।
थारु मातृभाषा विज्ञ कुछतनारायण चौधरी (दाङ) ले थारु मानक भाषा वहस हुनु राम्रो भएको बताउँदै थारु एउटा मानक भाषा बनाउन सके पाठ्यक्रम एकरुपतामा सहयोग पुग्ने बताउनुभयो । थारु मातृभाषामा अहिले कक्षा ३ सम्म पठन पाठन भएपनि प्रभावकारी हुन नसकेको भन्दै उहाँले ठाउँ अनुसारको मातृभाषाले पाठ्यक्रम निर्माणमा समस्या भइरहेको बताउनुभयो । एउटा मानक बनाएर सबै ठाउँमा सोहीअनुसार थारु मातृभाषाको पाठ्यक्रम बनाउन सके विद्यार्थीलाई सिक्न र शिक्षकलाई सिकाउन सबैलाई धेरै सहज हुने उहाँले बताउनुभयो ।
त्यस्तै, थारु भाषा साहित्यका विज्ञ तथा सञ्चारकर्मी एकराज चौधरी (वर्दिया) ले थारु मानक भाषा बनाउन अव चाँडै काममा जानुपर्ने सुझाव दिनुभयो । वहसले मात्र मानक नबन्ने भन्दै उहाँले कार्य समिति, उपसमिति बनाएर काममा लागिहाल्नुपर्ने सुझाव दिनुभयो ।
अर्का वक्ता भाजुमान महतो (चितवन) ले थारु मानक भाषा बनाउन पहिले भाषिका पहिचान गरी मिल्ने शब्दहरुको संकलन गर्न सुझाव दिनुभयो । शब्दकोष, व्याकरण तयार गरी त्यसलाई प्रयोगमा ल्याउन सके मानक भाषा बनाउनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । एउटा मानक भाषा बनाउँदा सबै वर्णको प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।
साहित्यकार तथा लेखिका मुना चौधरी (सिराहा) ले मानक बनाउने अभियान सकारात्मक भएकाले त्यसको प्रक्रियामा जान ढिलाई गर्न नहुने बताउनुभयो । शब्दकोष, व्याकरण बनाउने काममा चाँडै लाग्न उहाँले सुझाव दिनुभयो । पूर्वदेखि पश्चिमसम्मको थारु मानक भाषा एउटा बनाउन सके थारु भाषा साहित्यको पनि विकास गर्नमा सहज हुने उहाँले बताउनुभयो ।
थाकसले गत साउन ३१ गते शनिबारदेखि मानक भाषा वहस शुरु गरेको थियो । दोस्रो वहस भदौ ६ गते, तेस्रो वहस भदौ १३ गते, चौथो वहस भदौ २० गते भएको थियो । त्यस्तै, पाँचौ वहस भदौ २७ गते महिला वक्ताको सहभािगता थियो । सोहीअनुसार छैठौं वहस असोज १० गते शनिबार सम्पन्न भयो ।