संविधान संशोधनको विकल्प छैनः उपप्रधानमन्त्री गच्छदार


DSC06963

विराटनगर, पुस १४ गते । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले त्याग, बलिदान र लामो प्रतिक्षापछि हासिल भएको अग्रगामी संविधान सबैका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – “मधेस समस्याको समाधान व्यावहारिक र वस्तुपरक भएर खोज्यौं भने भेटिन्छ ।”

उहाँले अगाडि भन्नुभयो – “अर्को संविधान बन्न सक्दैन । अर्को संविधानसभाको निर्वाचन पनि हुन सक्दैन । जे जति गरेपनि संविधान संशोधनबाहेक अर्को बाटो नरहेकाले वार्ताद्वारा नै समस्याको समाधान खोजिनुपर्छ ।”

सीमाङ्कनको विषय जटिल रहेकाले राजनीतिक समितिमार्फत त्यसलाई तीन महिनामा टुङ्ग्याउन मधेसी मोर्चा सहमत हुनुपर्ने उहाँको भनाइ थियो ।

आफूले गत माघ महिनामै आठ प्रदेश निर्माणको सुझाव दिएको उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले मुलुकमा आठ प्रदेश र तराईमा तीन प्रदेश बनाउनु उपयुक्त हुने सुझाव दिनुभयो ।

मन्त्रालय र मन्त्रीको सङ्ख्याको विस्तारको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा उहाँले भन्नुभयो – “प्रधानमन्त्रीले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर यसो गर्नुभएको हो । यो संयुक्त सरकारको बाध्यता पनि हो ।”

तपाईको प्रतिक्रिया