थाकसको आठौं मानक भाषा वहस सम्पन्न, एकताका लागि साझा मानक बनाउन सुझाव


हमार पहुरा डट कम
काठमाडौं, असोज २४ गते । थारु कल्याणकारिणी सभा (थाकस) को मानक भाषा वहस भाग ८ शनिबार सम्पन्न भएको छ । वहसमा रामबहादुर थारु (कैलाली), तुलसीदास चौधरी (सप्तरी), सहदेव चौधरी (उदयपुर) र प्रतिका चौधरी (कञ्चनपुर) प्रमुख वक्ता हुनुहुन्थ्यो ।

थारु भाषा थारु समुदायको पहिचान र एकताको सूत्रधार भएकाले पूर्वदेखि पश्चिमको एउटा साझा मानक भाषा बनाएर थारु एकतालाई मजबुद गर्नुपर्ने सुझाव दिनुभयो । भाषामै राजनीति गरेर थारुबाट राना थारु समुदायलाई फुटाएको टिप्पणी गर्दै वक्ताहरुले फेरि भाषामै राजनीति गरेर अरु भाषी थारुबाट छुट्टिएर नजाउन् भन्नेमा सचेत रहनुपर्ने सुझाव राख्नुभयो ।

भाषा विज्ञ रामबहादुर थारु (कैलाली) ले थारु भाषामा अन्य समुदायले राजनीति गरेर रानाथारुलाई थारु समुदायबाट अलग गराएको बताउनुभयो । ढिलो होस् तर थारुको एउटै मानक भाषा बनाएर अव थारु एकताका लागि सबैले भूमिका खेल्नुपर्ने उहाँले सुझाउनुभयो । थारु भाषाका विभिन्न लवज भएपनि सबै लवज सजिलै बुझिने हुनाले एउटा मानक बनाउन सम्भव रहेको बताउनुभयो । सामाजशास्त्रीय दृष्टिकोणले थारु मानक बनाउनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

अर्का वक्ता तुलसीदास चौधरी (सप्तरी) ले राम्रो कामको सुरुवात हुँदा सबैतिरबाट क्रिया र प्रतिक्रिया आउनु स्वभाविक भएको बताउनुभयो । थारुलाई जोड्न एउटा मानक भाषा बनाउनुपर्छ भन्दा गैरथारु समुदायको टाउको दुखाई भएको उहाँले टिप्पणी गर्नुभयो । संविधानले नै भाषिक संरक्षणको सुनिश्चित्ता गरिसकेपछि थारु समुदाय आफ्नो मानक बनाउनमा केन्द्रित भएर लाग्दा सफलता मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार तथा वक्ता सहदेव चौधरी (उदयपुर) ले थारु मानक भाषा बनाएर त्यसको सवलीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभयो । मानक भाषा बनाउन समय लाग्ने भएपनि असम्भव नरहेको भन्दै चौधरीले व्यवहारतः काम शुरु गर्नमा ढिलाई गर्न नहुने सुझाव दिनुभयो । थारु पहिचान जोगाउन पनि थारु साझा मानक भाषा आवश्यक रहेको भन्दै चौधरीले भाषामा युवाहरुलाई सहभागी गराएर जानुपर्ने बताउनुभयो ।

महिला नेतृ प्रतिका चौधरी (कञ्चनपुर) ले व्यापक छलफल गरेर थारु साझा मानक भाषा बनाएर अघि बढ्नु थारुको हितमा रहेको बताउनुभयो । थारु भाषा ठाउँ ठाउँमा फरक उच्चारण भएकाले त्यसमा एकरुपता ल्याउन मानक आवश्यक रहेको चर्चा गर्नुभयो । मानक भाषा बनाउनमा थारु आयोगले पनि भूमिका खेल्नुपर्ने चौधरीले सुझाउनुभयो । नेपाली सम्पर्क भाषा मानक बनाउँदा विभिन्न आन्दोलन र संघर्ष भएजस्तै थारु मानक बनाउँदा पनि आन्दोलन आवश्यक हुनसक्ने उहाँले बताउनुभयो ।

भर्चुवल वहसमा थारु अगुवाहरु भुलाई चौधरी, थाकसका महामन्त्री प्रेमीलाल चौधरी, महेश चौधरी (सप्तरी) लगायतले धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया