संविधानसभाका पूर्व सदस्य मानपुर चौधरीको कोरोनाका कारण धरानमा निधन


हमार पहुरा डट कम
काठमाडौं, कात्तिक ११ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संविधानसभाका पूर्व सदस्य मानपुर चौधरीको निधन भएको छ । कोरोना संक्रमण भएपछि धरानमा उपचार गराइरहनु भएका चौधरीको आज मंगलबार निधन भएको थारु कल्याणकारिणीसभा (थाकस) का उपत्यका सभापति सुमन चौधरीले जानकारी दिनुभयो ।

चौधरी भदौ ३० गतेसम्म काठमाडौंमा रहनु भएको र विराटनगरमा गएर कोरोना परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको सभापति चौधरीले जानकारी दिनुभयो । घर पुगेपछि कोरोनासँग सम्बन्धित रुघाखोकी समस्या देखिएपछि पुनः धरानमा गएर परीक्षण गराउँदा उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो । चौधरीलाई दाइबिटिजको पनि विरामी थियो ।

सप्तरी निर्वाचन क्षेत्र १ बाट निर्वाचित संविधानसभाका पूर्व सदस्य चौधरी निडर नेता हुनुहुन्थ्यो । संविधान निर्माण ताका थारुसहित आदिबासीको अधिकारको पक्षमा उहाँ खुलेर संघर्ष गर्नुभएको थियो । निधन भएका चौधरीको शव अहिले धरान अस्पतालमै रहेको सभापति चौधरीले जानकारी दिनुभयो ।

कञ्चनरुप नगरपालिका ४, कविलासा सप्तरीका स्थायी निवासी चौधरीको मंगलबार १ बजेतिर निधन भएको जानकारी प्राप्त भएको नेता राजकुमार लेखीले बताउनुभयो । उहाँको शब अझै अस्पतालमै रहेको जानकारी प्राप्त भएको उहाँले हमार पहुरा डट कमलाई बताउनुभयो ।

तपाईको प्रतिक्रिया