नेकपा नेतृ भगवती चौधरी कोरोना मुक्त, संक्रमितलाई मनोबल उच्च पार्न सुझाव


हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा पूर्व राज्यमन्त्री भगवती चौधरी कोरोना संक्रमण मुक्त हुनुभएको    छ । असोज २९ गतेदेखि संक्रमित चौधरीको विहिबारको रिपोर्ट नेगेटिभ आएको हो । उहाँ दुई साता होम आइसोलेशनमा बस्नुभएको थियो ।

सुरुमा सामान्य खोकी तथा घाँटी दुख्ने समस्या देखिएकोमा एक साताअघि नेतृ चौधरीलाई सामान्य ज्वरो पनि आएको थियो । नेपाल सरकारको स्वास्थ्य मापदण्डअनुसार होम आइसोलेसनमै बसेर उहाँले कोरोनालाई परास्त गर्नुभएको छ ।

नेतृ चौधरीले कोरोना भाइरसलाई परास्त गर्न सामाजिक दुरीको विकल्प नरहेको बताउनुभयो । म सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दुई हप्ता घरमै बसें । उच्च मनोबलका साथ सामाजिक दुरी कायम गर्ने हो भने, कोरोना भाइरसबाट बच्न सकिन्छ उहाँले भन्नुभयो ।

नेकपा केन्द्रीय सदस्य समेत रहनुभएका नेतृ चौधरीले कतिपयलाई कोरोना भाइरस लागेर पनि थाहा नहुने तथा कतिपय गम्भिर बिरामी हुने बताउँदै लक्षण नदेखिएकाले पनि हेलचेक्राईं गर्न नहुने बताउनुभयो । हमार पहुरा डट कमसँग कुरा गर्दै उहाँले भन्नुभयो, मलाई सामान्य लक्षण थियो, तथापि, पोजेटिभ भयो भन्ने वित्तिकै मनमा अनेक त्रास उत्पन्न हुँदोरहेछ । यस्तोबेला हामीले उच्च मनोबल कायम गर्नु पर्दोरहेछ ।

कोरोना पोजेटिभ भइ हाल्दैमा कोही मरी हाल्ने हैन, यो सामान्य फ्लुजस्तै हो तर, सावधानी अपनाइएन भने गम्भिर भाइरस हो । त्यसकारण सतर्कता अपनाउने, सामाजिक दुरी कायम गर्ने, इम्युनिटी पावर बढाउने आहार विहार गर्नुपर्छ उहाँले सुझाउनुभयो । उहाँ अहिले पनि घरमै आराम गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया