हमार पहुरा डट कम
काठमाडौं, मंसिर २३ गते । विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चिनद्वारा आज (मंगलबार) भिडियो कन्फरेन्स (भर्चुयल)का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिएको हो ।
नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी पहिलो पटक सगमाथाको उचाई मापन गरिएको हो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनका तर्फबाट चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्तरुपमा सगरमाथा (चोमोलोङमा)को नयाँ उचाई ८८४८.८६ मिटर घोषणा गर्नुभएको हो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्«पति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाउनु भएको थियो । त्यस्तै चिनका तर्फबाट चिनियाँ विदेशमन्त्री यीले चिनियाँ राष्ट्रपती सि जिङफिङको सन्देश पढेर सुनाउनुभयो ।
नापी विभागको प्राविधिक कर्मचारीको टोलीले सर्वोच्च शिखर सगरमाथाको आरोहण तथा फिल्ड सर्वेक्षणका माध्यमबाट प्राप्त तथ्याङ्कलाई प्रयोगशालाबाट प्रशोधन गरी नयाँ उचाई निकालेको थियो । नेपालले सन् २०१८ देखि सर्भेक्षणको काम शुरु गरी उचाई मापनको कार्य शुरु गरेको थियो । नेपालले सगरमाथा आरोहण गरेको एक वर्षपछि चिनले आरोहण गरेको थियो ।
नेपाल र चिनका प्राविधिकद्वारा प्रशोधन गरी निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गरिको हो । गत मङ्सिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्री परिषद्मा पेश गर्नुभएको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।
नेपालले हालसम्म आधिकारिक रूपमा उल्लेख गर्दै आएको ८८४८ मिटर उचाइ भारतले सन १९५४ मा मापन गरेको थियो । सन् १९५४ मा भारतले, सन् १९७५ मा चिनले, सन् १९८७ मा इटालीले, सन् १९९२ मा पुन इटालीले, सन् १९९९ मा अमेरिकाले, सन् २००४ मा इटालीले, सन् २००५ मा पुनः चिनले, सन् २०१० मा डेनमार्कले सगरमाथाको उचाई मापन गरेका थिए । तर, ती सबैले फरकफरक मापन निकालेका थिए ।
वि.सं. २०७२ को भूकम्पपछि नापी विभागले काठमाडौं आसपासका केही ठाउँमा गरेको सर्वेक्षणबाट काठमाडाँैंँका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । त्यसैलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा परिवर्तन आएको हुनसक्ने अनुमान गरेका थिए । यस विषयमा विश्वमा समेत सगरमाथाको उचाई घटेको भनेर चर्चा हुन थालेपछि नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरेर सगरमाथाको उचाई मापन गरेको हो ।
२०७५ चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओली र भूमी व्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाई मापन गर्न जाने आरोहण दलको टोलीलाई शुभकामना दिएर पठाउनुभएको थियो । प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पाले सगरमाथाको उचाइ मापन कार्यका लागि सगरमाथाको आरोहण गरेका थिए ।
सगरमाथाको उचाई घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको आफ्नो स्रोतसाधन, जनशक्तिबाट उचाई मापन गरी अन्तिम रुप दिइएको सगरमाथाको नयाँ उचाई घोषणा हुनु नेपाली प्राविधिक क्षमताको पनि नयाँ उचाईको पनि घोषणा भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री ज्ञवालीले सगरमाथाको बारेमा आधिकारिता, वैज्ञानिक तथ्य प्राप्तीसँग आमसहमती पनि भएको बताउनुभयो । सगरमाथाको उत्तरी भूभाग जनवादी गणतन्त्र चिनसँग सम्बद्ध रहेको भन्दै उहाँले विश्वसनीयताका लागि पनि संयुक्तरुपमा सगरमाथाको उचाई घोषणा गर्नु आवश्यक रहेको बताउनुभयो । ‘आज सगरमाथाको मात्र होइन नेपाली प्राविधिक क्षमताको पनि नयाँ उचाई घोषणा भएको छ ।
मन्त्री ज्ञवालीले उचाई मापनका क्रममा सगरमाथाको आरोहण तथा तथ्यांकहरुको प्रशोधन गरी अन्तिम नतिजा निकाल्नमा आ आफ्नो ठाउँबाट योगदान गर्ने सबै टिमलाई बधाई तथा धन्यवाद समेत दिनुभयो ।
भूमी व्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाई मापन गरी घोषणा गर्ने इतिहासको दुर्लभ क्षणको साक्षी बनेको बताउनुभयो । उचाई घोषणा कार्यको विशिष्ट अतिथि तथा सगरमाथाको उचाई मापन कार्यको अगुवाई गर्नुभएका मन्त्री अर्यालले आजका दिनमा उचाई मात्र नबढेर नेपालको स्वाभिमान र सम्मान पनि बढेको बताउनुभयो ।
सगरमाथा मापनको १७० वर्षको इतिहासमा हामीले आफैले आफ्नो श्रोत साधन र जनशक्ति संसारको सर्बाेच्च शिखर सगरमाथाको उचाइ मापन कार्य सफलतापूर्वक सम्पन्न गरेका छौं मन्त्री अर्यालले भन्नुभयो ।
नापी विभागका महानिर्देशन प्रकाश जोशीले पहिलोपटक आफ्नै स्रोतसाधन, जनशक्तिमा उच्च प्रविधिको प्रयोग गरेर नेपालले सगरमाथाको मापन गरेको भन्दै यो महत्वपूर्ण उपलब्धी रहेको बताउनुभयो । त्यस अवसरमा सगरमाथाको उचाई मापन कार्यका लागि सगरमाथाको आरोहण, तथ्याङ्क प्रशोधन लगायत सम्पूर्ण कार्यमा संलग्न कर्मचारीहरुलाई सम्मानित गरिएको थियो ।