सरकार ढल्ने हावादारी अनुमानः सञ्चारमन्त्री राई


SAM_2435

काठमाडौं, पुस १६ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले सरकार तत्काल ढल्ने अनुमानलाई ‘हावादारी अनुमान’ को संज्ञा दिनुभएको छ । आफ्नो मिसन पूरा नगर्दासम्म सरकार नढल्ने उहाँले दावी गर्नुभयो ।

प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाको तेस्रो साधारणसभाको उद्घाटन सत्रमा विहिबार बोल्नुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री राईले संविधानको रक्षा र त्यसको कार्यान्वयन नै वर्तमान सरकारको प्रमुख अभिभारा भएको बताउनुभयो । “मुलुक संकटमा परेकाबेला सरकारले त्यसको समाधान नगरी विघटन हुँदैन” भन्नुहुँदै मन्त्री राईले हावादारी अनुमान नगर्न विपक्षीदलसँग आग्रह गर्नुभयो ।
“सरकारको आकार ठूलो भयो भनेर टिकाटिप्पणी हुनु स्वाभाविक हो तर अहिलेको विशेष परिस्थितिमा त्यस्तो भएको हो” प्रष्ट पार्नुहुँदै मन्त्री राईले वर्तमान सरकारको जिम्मेवारी ठूलो भएकाले आकार केही ठूलो हुन गएको बताउनुभयो ।

मन्त्री राईले नेपालको संविधान जत्तिको लचिलो र समावेशी विश्वको कुनै पनि संविधान नरहेको दावी गर्नुहुँदै यसको सही कार्यान्वयनमा जुट्न सबैलाई आव्हान गर्नुभयो । नयाँ संविधानले कुनै जाति, वर्ग र समुदायलाई विभेद नगरेकाले आन्दोलन छाडेर कार्यान्वयनमा लाग्न उहाँले आन्दोलनरत पक्षसँग आग्रह गर्नुभयो । “संविधान जलाउने, च्यात्नेजस्ता विषय स्वीकार्य हुँदैन” सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री राईले भन्नुभयो ।

पूर्व उद्योग मन्त्री महेश बस्नेतले विधिको शासनबाटै मुलुकको परिवर्तन सम्भव भएकाले आन्दोलन र अराजकतामा नलाग्न उहाँले आग्रह गर्नुभयो । नेपाली सञ्चार माध्यमले पनि विशेष परिस्थितिमा सकारात्मक भूमिका निर्वाह गर्दैआएकाले अहिलेको अवस्थामा थप रचनात्मक जिम्मेवारी निर्वाह गर्न उहाँले सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य सोम मिश्रले सञ्चारजगत अरुलाई बाटो देखाउने जिम्मेवारीमा रहेकाले आफू जलेर भएपनि अरुलाई प्रकाश दिन आग्रह गर्नुभयो । मुलुकको विशेष परिस्थितिमा प्रेस जगतले अहम् भूमिका निर्वाह गर्दैआएको उदाहरण रहेकाले अहिले संविधान कार्यान्वयनमा पनि प्रेसको भूमिका सकारात्मक हुनुपर्ने बताउनुभयो ।

शाखाका अध्यक्ष सोम शर्माको सभापतित्वमा भएको कार्यक्रममा सांसद केदार सन्जेल, प्रेस चौतरी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, प्रमुख जिल्ला अधिकारी तोयम राय, स्थानीय अधिकारी पशुपतिबाबु पुरी, नेपाल पत्रकार महासंघका भक्तपुर अध्यक्ष अमर भुजू लगायतले धारणा राख्नुभएको थियो ।

अधिवेशनले भक्तपुर चौतारी शाखाको नयाँ कार्यसमिति सर्वसम्मत ढंगले चयन गरेको छ । शाखाको अध्यक्षमा पुनः सोम शर्मा बजगाई नै चयन हुनुभएको छ । सोहीअनुसार चौतारीको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः कविता थापा, रामचन्द्र प्रजापति, हेमराज ढकाल र जितेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यमा क्रमशः जयराम बास्तोला, जितेन्द्र न्यौपाने, सविता हाडा, चुडामणि पौडेल, चन्द्रकिशोर श्रेष्ठ, सरिना श्रेष्ठ चयन हुनुभएको छ । १३ सदस्यीय कार्यसमितिमा दुईजना सदस्यलाई पछि मनोनित गरिने उपाध्यक्ष थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया