थारु भाषाको फिल्म सङ्हातिको शुभ मुहुर्त एक समारोहबीच सम्पन्न


कारी महतो
चितवन (खैरहनी), पुस २ गते । थारु भाषाको कथानक चलचित्र सङ्हातिको आज एक कार्यक्रमबीच शुभमुहुर्त सम्पन्न गरिएको छ । खैरहनीमा रहेको डिज्नी पार्क रिसोर्टमा वडा नं. ७ का वडाध्यक्ष मनेजर चौधरीको प्रमुख आतिथ्यमा शुभमुहुर्त सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मनेजर चौधरी लगायत अतिथिहरु वडा नं. ९ का वडाध्यक्ष होमकुमार पुन, वडा नं. ६ का वडाध्यक्ष रामशरण पाण्डे, थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरी, थारु पत्रकार संघ नेपाल चितवन शाखाका निवर्तमान अध्यक्ष कारी महतो लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अतिथिहरुले थारु भाषाको फिल्मले मनोरञ्जन दिनुका साथै सकारात्मक सन्देश दिने र थारु भाषा संस्कृतिलाई जगेर्ना गरेर जिवन्त तुल्याउने अपेक्षा गर्नुभयो । डियर लव फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता हरिशरण चौधरी र थनबहादुर महतो रहेका छन् ।

फिल्मको लेखन तथा निर्देशन किशोर चौधरीले गर्नुहुँदैछ । फिल्ममा गीतको शब्द, संगीत पनि किशोर चौधरीकै रहेको छ । सुमधुर स्वरका धनी सुरेश लामा, अन्नु चौधरी र आदेशको गायन, किशोर र हिरा चौधरीको नृत्य, मनोज चौधरीको द्वन्द्व, संजय लामाको श्रृंगार, रवि कोइराला र लक्ष्मण घिमिरेको छायाङ्कन रहेको छ ।

चितवन, कैलाली, जनकपुर, राजस्थान लगायत क्षेत्रमा छायाङ्कन गरिने फिल्मको मुख्य भूमिकामा जितेन्द्र चौधरी र शोभा चौधरी नायक नायिकाको रुपमा देखिनु हुनेछ । अन्य कलाकारहरुमा भुलन चौधरी, हरिशरण चौधरी, सरिता महतो, विनिता चौधरी साथै विशेष अतिथि कलाकारमा सुरेश चौधरीको भूमिका रहने जनाइएको छ ।

युवा जगतले आफ्ना बुबाआमा समक्ष अभिव्यक्त गर्न नसक्ने सुखदुखका हरेकक्षण साथी वा सङ्हातिलाई कसरी प्रस्तुत गर्छन् ? साथीका लागि के कस्तो काम गर्न तयार हुन्छन् ? र जीवनसाथीलाई सङ्हातिको रुपमा कसरी प्रस्तुत गरिएको छ ? यो सबै मुल्यांकन गर्नका लागि फिल्म नै हेर्नुपर्ने निर्देशक किशोर चौधरीले बताउनुभयो ।

शुभमुहुर्त कार्यक्रम निर्माता हरिशरण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । यो फिल्म खिचरा र फागुको बीचमा रिलिज गर्ने लक्ष्य रहेको निर्माता चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया