जंग्रार साहित्यिक बखेरीको दशौं वर्षगाँठ, थारु साहित्यिक सम्मेलन सम्पन्न


हमार पहुरा डट कम
वर्दिया, पुस ६ गते । जंग्रार साहित्यिक बखेरीले आफ्नो दशौं वर्षगाँठको अवसरमा बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्वारामा थारु साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । थारु भाषा साहित्य र संस्कृतिको प्रचार प्रचार, विमर्श र संवाद गर्दै संचालित सम्मेलनमा नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने प्रमुख अतिथि रहनुभएको थियो ।

डा. लामिछानेले नेपाल संस्कृत विश्वविदालय थारु सघनबस्तीको बीचमा रहेकोले थारु समुदायले लाभ लिने वातावरण बन्नु पर्नेमा आफु स्पष्ट रहेको बताउनुभयो । यसका साथै थारु भाषा, साहित्य र संस्कृतिको उन्नयनका क्षेत्रमा थारु समुदायका विद्धान लेखक, अनुसन्धानकर्ता र साहित्यिक संस्थाहरुसँग सहकार्य गरेर जाने प्रतिवद्धता जनाउनुभयो । उपकुलपतिले विस्तारै विश्वविद्यालयमा थारु समुदायका विद्यार्थीरु प्नि बढिरहेको जानकारी दिनुभयो

अनुसन्धानकर्ता तथा लेखक र राजनीतिकर्मी डा. गोपाल दहितले थारुहरुले आफ्नो इतिहास आफै लेख्नुपर्ने, पुरानो साँस्कृतिक सम्पदाको संरक्षण नगरी पहिचान स्थापित नहुने भन्दै लेखक अनुसन्धानकर्ताहरुलाई लेख्न हौस्याउँदै उत्कृत कृतिहरुको प्रकाशनका लागि युनिक नेपालले खुल्ला दिलले सहयोग गर्ने बताउनुभयो ।

गुठी संस्थानका पूर्व अध्यक्ष एवं नेत्रलाल अभागी प्रतिठानका संस्थापक लक्ष्मणराज ज्ञवालीले थारु लोकसाहित्यको क्षेत्र वृहत रहेको बताउनुभयो । बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु (कबीर) ले थारु नेपाल संस्कृत विश्वविद्यालयले थारु भाषा विभाग बनाएर काम गर्न सकेमा थप उपलव्धी हुने सुझाव दिनुभयो ।

जंग्रार साहित्यिक बखेरीका संरक्षक सुशील चौधरीले थारु लोककला र सौन्दर्यको विषयमा चर्चा गर्नुभयो । त्यसक्रममा थारु सौन्दर्यशास्त्रको विवेचना हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । लेखक डा. कृष्णराज सर्वहारीले थारु साहित्य सम्मेलनले कोरोनाका बीचमा पनि नयाँ उर्जा थपेको बताउनुभयो ।

थारु कल्याणकारीणी सभाका जिल्ला सचिव हरिहर थारुले साहित्यिक कार्यक्रममा सहभागी हुन पाउँदा नयाँ कुरा सिक्ने अवसर प्राप्त भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले बर्दिया ठुला साहित्यक सम्मेलनको केन्द्रविन्दु बनेको बताउनुभयो ।

जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य र बखेरीको बारेमा उपाध्यक्ष बालिका चौधरीले चर्चा गर्नुभयो । लोकसंस्कृतिकर्मी ठग्गुलाल थारुलाई गुर्वावाका रुपमा सम्मानित गरेर सुरु भएको औपचारिक कार्यक्रममा दसजना स्रष्टाहरुलाई सम्मानित गरिएको थियो । सम्मानित हुनुहुनेमा डा. गोपाल दहित (बर्दिया) थारु जनकवि बमबहादुर थारु (रुपन्देही), एकराज चौधरी (बर्दिया), श्रीराम चौधरी (दाङ्ग), भगवतीप्रसाद थारु (देउखर), दिलबहादुर चौधरी ( कैलाली), शर्मिला चौधरी (सृष्टि) कंचनपुर र सुमित्रा चौधरी (बर्दिया) रहेका छन् ।

युनिक नेपाल र पर्यटन व्यवसायी मोहनलाल थारुलाई साहित्यिक अभियानलाई सघाएकोमा सम्मान गरिएको थियो । कार्यक्रमकै क्रममा जंग्रार साहित्यिक बखेरीको प्रकाशन जंग्रार बखेरी र कवि दशरथ थारु (सुदिन) को प्रगतिशील कविता संग्रह बेलभार विमोचन गरिएको    थियो ।

तपाईको प्रतिक्रिया