आफू कमजोर हुने त्रसित मानसिकता भएकाहरुले पुतला दहन गरेः मन्त्री चौधरी


हमार पहुरा डट कम
काठमाडौं, पुस १५ गते । श्रम तथा रोजगार मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गौरीशंकर चौधरीले आफू मन्त्रीको अवसर पाउँदा कतिपय मानिस आत्तिएर आफ्नो पुतला दहन गरेको टिप्पणी गर्नुभएको छ ।

नेकपाको काठमाडौंमा उपलब्ध सुदूरपश्चिम स्तरीय भेलामा बुधबार बोल्दै मन्त्री चौधरीले सो टिप्पणी गर्नुभयो । गौरीशंकर त ओली पक्षमा गयो, अरु थारुहरु नजाउन् भनेर प्रचण्ड–माधव पक्षका स्थानीय नेता तथा कार्यकर्ता आत्तिएको उहाँले बताउनुभयो । कमजोर हुने र सकिने डरले मानसिकरुपले त्रसित मानसिकताका मानिसहरु आफ्नो पुतला दहन गरेको उहाँले बताउनुभयो । तर त्यसले केही फरक नपर्ने उहाँको भनाई छ ।

यसअघिको आन्दोलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिल्यै सडकमा आएर नारा नलगाएको तर ओली सरकारको विरुद्धमा उहाँ आफै सडकमा आएर नारा लगाइरहनुभएको मन्त्री चौधरीले भन्नुभयो, “पार्टी एकता गर्दा अध्यक्ष प्रचण्डले हामीसँग सल्लाह गर्नुभएन, पार्टी फुटाउँदा पनि गर्नुभएन अनि हामीले किन सोध्ने ?” राष्ट्रिय एकता, मुलुकको समृद्धि र परिवर्तनका लागि आफूहरुको ठूलो पङ्ति प्रचण्डलाई त्यागेर अध्यक्ष ओलीको पक्षमा आएको उहाँले चर्चा गर्नुभयो ।

देशको समृद्धि अध्यक्ष ओलीकै नेतृत्वमा सम्भव भएको भन्दै उहाँले आगामी निर्वाचनमा दुई तिहाई मत ल्याउनेगरी एकतावद्ध भएर लाग्न आवश्यक रहेको बताउनुभयो । मुलुकको परिवर्तनका लागि स्पष्ट योजना र दूरदर्शिता आवश्यक हुने र त्यो सोच र योजना अध्यक्ष ओलीसँग भएको उहाँले प्रष्ट पार्नुभयो । देशी विदेशी शक्तिकेन्द्रहरुले पार्टी फुटाउनमा सक्रिय भएको बताउँदै उहाँले देश भलाईकालागि पनि सबै देशप्रेमीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया