राष्ट्रिय सरकारको खाँचो छः नेता नेपाल


Nepal

काठमाडौ, पुष १६ गते । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समस्या समाधानका लागि नेपाली कांग्रेस सहितको राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको विहिबार यहाँ ज्ञापनपत्र बुझ्नुहुँदै नेता नेपालले कांग्रेस, एमाले, एमाओवादी र अरु दलसहितको राष्ट्रिय सहमतिको सरकार बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । “सबैलाई मिलाएर अघि जानुपर्छ, प्रधानमन्त्री केपी शर्मा ओली सबैलाई मिलाउन सिपालु हुनुहुन्छ, मिलाउनु होला” उहाँले भन्नुभयो ।

नेता नेपालले सरकारको काम कारवाही प्रभावकारी नभएको गुनासो आइरहेका बेला सरकारले कामकाजलाई छिटो छरितो बनाउनुपर्ने उहाँले चर्चा गर्नुभयो । “कुरा भन्दा अब मुलुकलाई काम चाहिएको छ, सरकार त्यता आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ” नेता नेपालले भन्नुभयो । मूल्यबृद्धि र कालोबजारीको तत्काल अन्त्य गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

मधेसमा भइरहेको आन्दोलनले मुलुकको विकास र आर्थिक प्रगतिमा असर पारेको भन्नुहुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न उहाँले मधेसवादी दलका नेताहरुलाई आग्रह गर्नुभयो । “आन्दोलनले जनतालाई पीडा दिनेकाम गरेको छ” भन्नुहुँदै उहाँले स्थिति सामान्य बनाउन आन्दोलनरत पक्षसँग माग गर्नुभयो ।

नेता नेपालले संविधान संसोधन विद्येयक पारित गर्न ढिलाई भएकोमा चिन्ता व्यक्त गर्नुहुँदै यसलाई चाँडोभन्दाचाँडो सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो । “महन्थ ठाकुर र उपेन्द्र यादवजस्ता समझदार नेताहरु मोर्चामा हुनुहुन्छ, वातावरण चाँडो सहज होला भन्ने मेरो विश्वास छ” उहाँले भन्नुभयो ।

“विवादमा रहेको पाँचजिल्ला सुनसरी, मोरङ, झापा, कैलाली र कञ्चनपुरका जनताको भावना बुझेर सीमांकन टुङगो लगाउनु पर्छ तर त्यसको लागि केही समय लाग्छ” उहाँले भन्नुभयो । तीन महिनामा राजनीतिक समिति बनाएर सिमाङ्कनको विषय टुङग्याउनमा मधेसी मोर्चा सहमत हुनुपर्ने उहाँले बताउनुभयो ।
क्लवका अध्यक्ष ऋषि धमलाले नेता नेपाललाई मुलुकको जटिल स्थितिलाई सहज बनाउन मागगर्दै ज्ञापनपत्र बुझाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया