थाकसको अमलटारीमा बसेको विस्तारित बैठक भाँडियो, उपलब्धी शुन्य


हमार पहुरा डट कम
काठमाडौं, पुस २० गते । थारु कल्याणकारिणी सभा (थाकस) र थरुहट थारुवान संयुक्त संघर्ष समिति काठमाडौंको आयोजनामा भएको दुई दिने विस्तारित बैठक उपलब्धीविहिन भएको छ । थरुहट मुद्दामा कार्यगत एकता गरी संघर्षको कार्यक्रम तय गर्ने योजनासाथ शुरुभएको बैठकमा विवाद भएपछि विना उपलब्धी बैठक सकिएको हो ।

थाकस महामन्त्री प्रेमीलाल चौधरीकाअनुसार तत्कालिन समयमा गठित थरुहट थारुवान संयुक्त संघर्ष समितिको व्यानरमै संघर्षको कार्यक्रम अगाडि बढाउने थाकसको प्रस्तावमा अरुले समर्थन नजनाएपछि बैठक विना निस्कर्ष सकिएको हो । थाकसले आफ्नो पदाधिकारी, केन्द्रीय कमिटी सदस्य तथा जिल्लाका सभापतिसहित विभिन्न घटक मोर्चाबाट पाँच जनाको दरले सहभागी गराउने भन्दै करिब ७० जनाको उपस्थितिमा बैठक आव्हान गरेको थियो ।

नवलपरासीको अमलटारीस्थित बाखखोर थारु होमस्टेमा शनिबार र आइतबार (पुस १८ र १९) गते भएको छलफलमा सहभागीहरु अभियानको नाममै अल्झिएपछि बैठक विना निस्कर्ष टुंगिएको थाकसको भनाई छ । थाकसले पुरानै नाम थरुहट थारुवान संयुक्त सघर्ष समितिको व्यानरमा कार्यक्रम अगाडि बढाउने प्रस्ताव गरेको थियो । तर अन्य घटकका पदाधिकारीहरुले थाकस अन्तर्गत रहेको संयुक्त संघर्ष समिति निस्क्रिय भइसकेकाले नयाँ नाम राखेर अगाडि बढ्नुपर्ने प्रस्ताव राखेका थिए ।

अन्य घटकका पदाधिकारीहरुले ‘थरुहट थारुवान एकीकृत संघर्ष समिति’ नाम प्रस्ताव गरेको थरुहट थारुवान राष्ट्रिय मोर्चाबाट प्रतिनिधित्व गर्नुभएका नेता भानुराम थारुले बताउनुभयो । तर त्यो नाममा थाकसका पदाधिकारी सहमत नभएपछि बैठक अगाडि बढ्न सकेन । दुई दिनसम्म छलफल चल्दासमेत बैठकको कुनै निस्कर्ष ननिस्किएको नेता थारुले हमार पहुरा डट कमलाई जानकारी दिनुभयो ।

थाकसको आयोजना र व्यवस्थापनमा भएको दुई दिने छलफलको केही उपलब्धी नभए पनि लाखौं रुपियाँ व्यर्थमा खर्चभएको थाकसले जनाएको छ । विस्तारीत बैठक नाम दिएको सो भेलाले केही निर्णय गर्न नसकेपछि त्यसबारे सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेको  छ । थारु युवाहरुले विभिन्न टिप्पणी गर्दै थारुको विडम्बनाबारे राय तर्क गरिरहेका छन् ।

थाकसकाअनुसार थाकस बाहेक अन्य घटकबाट पाँच जनाको दरले सहभागीता गराउने पत्र गएको भएपनि अनावश्यक मानिसको भींडले बैठक भाँडिन पुग्यो । छलफलको एजेण्डा एकातिर तर्क अर्कोतिर भएपछि विना निस्कर्ष बैठक सकिएको महामन्त्री चौधरीले बताउनुभयो । मोर्चाको तर्फबाट भानुराम थारु, माधव थारु लगायतले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बैठकको कडा आलोचना गर्नुभएको छ ।

थाकस कैलालीका सभापति लाहुराम चौधरीले बैठकको एजेण्डा बाहिर गएर केही व्यक्तिले छलफल गर्न थालेपछि बैठक विना उपलब्धी सकियो । वर्तमान समसामयिक विषय तथा थारु माग मुद्दाको विषयमा विस्तारित छलफल गरी संघर्षको कार्यक्रम अगाडि बढाउने उद्देश्यसाथ शुरुभएको बैठकमा केही व्यक्तिको अनावश्यक भाँडभैलोले बैठक भाँडिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया