थारु समुदायको प्रमुख पर्व माघ १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय


हमार पहुरा डट कम
काठमाडौं, पुस २६ गते । थारु समुदायको प्रमुख पर्व (नयाँ वर्ष) माघ पर्व २०७७ को अवसरमा माघे संक्रान्तिका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघ १ गते यसअघि थारु कर्मचारीलाई मात्र विदा दिने प्रचलन थियो, यस वर्ष सबैलाई विदा हुने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्नुहुँदै मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराउनुभयो । थारु समुदायको विशेष पर्व र अन्य समुदायले पनि मकरसंक्रान्ति मनाउने हुनाले माघ १ गतेलाई सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

तत्कालिन लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले २०५९ सालदेखि माघी पर्वको अवसरमा थारु कर्मचारीलाई विदा दिने निर्णय गरेको थियो । देश संघीय व्यवस्थामा गएपछि थारु बहुल क्षेत्रको प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिंदै आएका थिए । खासगरी प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा माघीको अवसरमा सार्वजनिक विदा दिंदैआएका छन् ।

थारु कल्याणकारिणीसभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीले सरकारको निर्णय स्वागतयोग्य भएको बताउनुभयो । थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा सरकारले सार्वजनिक विदा दिनु थारु समुदायप्रतिको सम्मान हो महामन्त्री चौधरीले भन्नुभयो, “ढिलै भएपनि सरकारले सही निर्णय गरेको छ, यसलाई थाकसले स्वागतयोग्य निर्णयकोरुपमा स्वीकार गर्नेछ ।”

त्यस्तै, थाकस दाङका सभापति भुवन चौधरीले लुम्बिनी प्रदेशले माघ १ र २ गते दुई दिन माघी पर्वको अवसरमा सार्वजनिक विदाको व्यवस्था गरेको बताउनुभयो । लुम्बिनी प्रदेश थारुको सघन बसोबास भएको प्रदेश भएकाले दुई दिनको विदाको व्यवस्था गरेको हुनसक्ने चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया