माघीको अवसरमा भजनी नगरपालिकाले दियो माघ २ गते सार्वजनिक विदा


हमार पहुरा डट कम
धनगढी, पुस २८ गते । सुदूरपश्चिम प्रदेश अन्तर्गतको कैलालीको भजनी नगरपालिकाले थारु समुदायको महानपर्व माघ २०७७ को अवसरमा माघ २ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशले त्यहाँको पहाडी क्षेत्रमा मनाइने ‘भुवा’ पर्वको अवसरमा पुस २९ गते विदा दिने निर्णय पनि गरेको छ ।

भजनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीद्वारा सोमबार जारी सार्वजनिक विदासम्बन्धी सूचनामा माघ २ गते विदा दिने निर्णय भएको जानकारी गराइएको छ । माघ १ गते माघे संक्रान्तिका दिन संघीय सरकारले सार्वजनिक विदा घोषणा गरिसकेको छ । माघ २ गते थारुको खिच्रहवा पर्व हो । खिचडी भात खाएर रमाइलो गरिन्छ ।

सुदूरपश्चिम सरकारले दिएको २९ गतेको विदा, संघीय सरकारले दिएको माघ १ गतेको विदा र नगरपालिकाले दिएको माघ २ गतेको विदाले नगरबासीलाई तीन दिनको विदा अवसर प्राप्त भएको छ । माघी पर्वमा थारु समुदायले साताभर राम रमाइलो गरी मनाउने गर्छन् । तीन दिनको लगातारको विदाले यस वर्षको माघीमा रमाइलो हुने स्थानीय नगरबासी थारुले बताएका छन् ।

तपाईको प्रतिक्रिया