थारु गाउँ बस्तीमा खोज्नीबोज्नी शुरु, नयाँ बरघर (भलमन्सा) धमाधम छानिदै


हमार पहुरा डट कम
धनगढी, माघ २ गते । थारु समुदायको बरघर छान्ने प्रक्रियाअनुसार माघ २ गते खिच्रहुवाको दिनदेखि खोज्नीबोज्नीको काम शुरुभएको छ । गाउँको भेलाले आफ्नो ठाउँको नेतृत्वकर्ता बरघर छान्ने काम शुरु गरेका छन् ।

गोदावरी नगरपालिका ८, मजगाउँ कटान कैलालीमा शुक्रबार बसेको गाउँको भेलाले बुद्धिराम चौधरीको नेतृत्वमा नयाँ बरघर कार्य समिति चयन गरेको छ । स्थानीय कर्मराज चौधरीकाअनुसार गाउँको भेलाले सर्बसम्मत बरघर समितिको चयन गरेको हो ।

सोहीअनुसार गोदावरी ८ फकलपुर गाउँको भेलाले पनि बरघरसहित नयाँ कार्य समिति चयन गरेको छ । सो गाउँको भेलाले यमबहादुर चौधरीलाई बरघर नेतृत्वका लागि सर्वसम्मत चयन गरेको छ । त्यस्तै, गोपीलाल चौधरीलाई ओरगानको जिम्मेवारी तोकेको छ । स्थानीय माधव थारुकाअनुसार बरघर सहयोगी समितिमा भागीराम चौधरी, खुशीराम चौधरी, फुलराम चौधरी चयन हुनुभएको छ ।

यसैगरी धनगढी उपमहागरपालिका ५, जाइँ गाउँको थारु भेलाले कुलवीर चौधरीलाई पुनः एक वर्षका लागि बरघरको जिम्मेवारी तोकेको छ । आज विहान बसेको भेलाले सर्वसम्मत जिम्मेवारी तोक्ने निर्णय गरेको बरघर चौधरीले बताउनुभयो । ७० वर्षिय चौधरी वि.सं. २०२१ सालदेखि बरघरको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

खासगरी पश्चिम नेपालका थारुमा बरघर प्रथा रहेको छ । गाउँको नेतृत्वकर्ताको भूमिका निर्वाह गर्ने बरघर छनौट गर्दा लोकतान्त्रिक प्रक्रिया अपनाउने गरिन्छ । गाउँको विकास, आपतविपदमा सहयोग तथा गाउँको निर्णय गर्दा बरघरको भूमिका निर्णायक हुनेगर्छ । भलमन्सा (बरघर) छान्ने प्रक्रिया शुरुभएकाले पहिलो सातासम्म प्राय सबै थारु गाउँमा चयन हुनेछन् । सर्वसम्मत, गोलाप्रथा, निर्वाचन आदि मार्फत जिम्मेवारी तोक्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया