कमल चौधरी
कपिलवस्तु, माघ २ गते । बाणगंगा नगरस्तरीय तेस्रो माघी महोत्सव आज शुक्रबारदेखि सुरु भएको छ । “हम्मनके भाषा, भेषभुषा आउर संस्कृति राष्ट्रके शान, संरक्षण सम्बद्र्धन आवर प्रवद्र्धन कइना हम्मनके अभियान” मुल नारासाथ शुरुभएको माघी महोत्सवको समुद्घाटन बाणगांगा नगरप्रमुख मंगलप्रसाद थारुले गर्नुभयो ।
नगर प्रमुख थारुले समुदायको भाषा, धर्म, संस्कार र संस्कृति संरक्षणको लागि माघी पर्वले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । माघी पर्व थारु समुदायको नयाँ बर्ष अनि ऐतिहासिक एकताको पर्व समेत रहेको बताउनुभयो ।
नगरप्रमुख थारु समुदायलाई कोरोना (कोविड–१९) ले पनि एकजुट हुन सिकाएको भन्दै प्रत्येक वडा वडामा हुने माघी महोत्सव यस बर्ष एउटै मञ्चमा हुनु राम्रो भएको बताउनुभयो । लोप हुन लागेको हाम्रो भेष, भुषा, धर्म, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै प्रत्येक बर्ष नगरस्तरीय माघी महोत्सवलाई निरन्तर दिनुपर्ने सुझाव दिनुभयो । अब थारु समुदायमा संस्कृति विकास साथसाथै शिक्षा र राजनीतिक रुपमा पहुुँच हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले थारु समुदायको हक अधिकार र पहिचानका लागि राजनीतिक अधिकार स्थापित गर्न जरुरी रहेको भन्दै थारु समुदायमा राजनीतिक अधिकार स्थापित नभएसम्म माग मुद्दाहरु सुनुवाई नहुने जोड दिनुभयो । त्यस्तै थारुले कपिलबस्तुको राजापानीमा नेपालकै नमुना थारु संस्कृति झल्कीने राजापानी थारु संग्रहालय निर्माण गर्न लागेको बताउनुभयो ।
विघटित प्रतिनिधीसभा सदस्य अतहर कमालले तराईका धर्तीपुत्र थारु समुदायले माघी पर्वलाई मनाउँदै गर्दा राजनैतिक अधिकारलाई भुल्न नहुनेमा जोड दिनुभयो । उहाँले धेरै संघर्षपछि आज हामीले खुलेर संस्कृतिक पर्व मनाउन पाएका छौं भन्दै अब उत्पीडित जातजाति, समुदायको हक अधिकार सुनिश्चित गर्न आफुहरु राजनीतिक अधिकार लिनुपर्ने बताउनुभयो ।
थारु कल्यणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा थारुले एकजुट भएर अधिकार र पहिचानको लागि लड्नुपर्नेमा जोड दिनुभयो । उहाँले थारु समुदायमा देखिएका पुराना परम्पराहरुलाई निर्मुल गर्दै अगाडि वढ्नुपर्नेमा जोड दिनुभयो ।
नागरिक समाज कपिलबस्तुका अध्यक्ष दोलखबहादुर पछाई, हेमराज मावि हथौसाका प्रध्यापक तुल्सीराम यादव, वडा अध्यक्ष सोमनाथ अर्याल लगायतले माघीको शुभकामना दिनुभएको थियो । कार्यक्रम माघी महोत्सव मूल संयोजक एंव थारु कल्याणकारिणी सभाका नगर अध्यक्ष भग्गुप्रसाथ थारुको अध्यक्षतामा भएको थियो ।
माघ २ देखि ४ गतेसम्म चल्ने माघी महोत्सवको पहिलो दिन आज माघी महोत्सव स्थल हथौसमा रक्तदान कार्यक्रम समेत गरिएको थियो । थारु समुदायमा भाषा, धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने मात्र नभएर नेपाली समाजमा सकारात्ममक सन्देश दिने उद्देश्ले रक्तदान कार्यक्रम गरेको थाकसका जिल्ला अध्यक्ष उमाशंकर चौधरीले बताउनुभयो ।
पहिलो दिन थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न नाच तथा झाँकी प्रदर्शनी गरिएको थियो । साथै भोलीदेखि थारु संस्कृति झल्कने झुमरा, झर्रा, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने आयोजकले जनाएको छ ।