धनगढी गाउँका सरोजलाई लगातार २६ औं पटक भलमन्साको जिम्मेवारी


अविनाश चौधरी
धनगढी, माघ ४ गते । कैलाली धनगढी गाउँका सरोजकुमार चौधरीले लगातार २६ औं पटक भलमन्सा (बरघर) को जिम्मेवारी प्राप्त गर्नुभएको छ । उहाँको परिवारमा तीन पुस्तादेखि निरन्तर बरघरको जिम्मेवारी आइरहेको छ ।

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँवासीले उहाँलाई यस वर्ष पुनः भलमन्साको जिम्मेवारी दिएका हुन् । चौधरीले २०५२ सालदेखि लगातार गाउँमा भलमन्साको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

थारु समुदायमा माघी पर्वसँगै भलमन्सा चयनको कार्य सुरुहुने गर्दछ । भलमन्साको पदावधि एक वर्षको तोकिएको हुन्छ । तर, राम्रो काम गर्नेलाई गाउँवासीले पुनः जिम्मेवारी सुम्पिने गर्छन् ।

धनगढीमा आफ्नो परिवारले तीन पुस्तादेखि भलमन्साको भूमिका निर्वाह गर्दैआएको चौधरीले बताउनुभयो । ‘मेरो बाजे र बुबाले पनि आफ्नो जीवन रहेसम्म गाउँको भलमन्साको जिम्मेवारी निर्वाह गर्नुभयो, उहाँले भन्नुभयो । २०५२ पुसमा बुबाको स्वर्गारोहणपछि त्यो भूमिकामा लगातार आफूमा आएको चौधरीको भनाई छ ।

धनगढी गाउँ थारु समुदायको सबैभन्दा पुरानो बस्तीको रुपमा परिचित छ । सो गाउँमा भलमन्सा प्रथालाई स्वीकार गर्ने ४५ घरपरिवार रहेका छन् । लगातार भलमन्साको भूमिका निर्वाह गर्दै आउनुभएका चौधरी व्यवसायी पनि हुनुहुन्छ । आफूले व्यवसाय गर्ने गरेका कारण गाउँ समाजलाई अब धेरै समय दिन नसक्ने भन्दै आएपनि गाउँवासीले जहिल्यै सर्वसम्मतिले आफूलाई भलमन्सा बनाउने गरेको चौधरीले बताउनुभयो ।

माघी पर्व आएसँगै ‘खोज्नीबोज्नीको काम शुरु हुन्छ । हरेक वर्ष कोही इच्छुक भए जिम्मेवारी लिनका लागि आग्रह गर्ने गरेको भएपनि कोही तयार नहुनेगरेको चौधरीले बताउनुभयो । म त गाउँको स्थायी भलमन्सा जस्तै भइसकेँ’ उहाँले भन्नुभयो । गाउँवासीको मन जित्ने गरी काम गर्न नसक्ने भलमन्सालाई एक वर्षमै सम्मानका साथ विदाई गर्ने गरिन्छ । सम्भवतः आफूले काम गरेर गाउँ समाजको मन जितेकाले लगातार एउटै जिम्मेवारी पाउने गरेको चौधरीको बुझाई छ ।

(गोरखापत्र अनलाइनबाट)

तपाईको प्रतिक्रिया