मेरो मूल लक्ष्य देश बनाउने हो, कसैसँग प्रतिशोध गर्नु होइनः प्रधानमन्त्री ओली


हमार पहुरा डट कम
काठमाडौं, माघ ९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मूल लक्ष्य देश बनाउने भएको बताउनुभएको छ । त्यसकैलागि सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा तय गरेर स्पष्ट लक्ष्यसाथ काम गरिरहेको उहाँले प्रष्ट पार्नुभएको छ ।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज विहिबार यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । “मेरो र मेरो पार्टीको मूल लक्ष्य देश बनाउने हो, कसैसँग प्रतिशोध गर्नु होइन” उहाँले भन्नुभयो, “हाम्रो स्पष्ट गन्तव्य छ, उज्यालोतिरको गन्तव्य, समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य, देशभक्ति र राष्ट्रियताको गन्तव्य ।”

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर संकेत गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो मन कालो छैन, हाम्रो सोच र कार्यशैली कालो छैन, हामी कालो सपना पनि देख्दैनौं, केवल उज्यालो र देश बनाउने सपना देख्छौं ।” आफूले देशको लोकतन्त्र, सार्वभौमसत्ता, गणतन्त्र र संविधानको रक्षाका लागि काम गरिरहेकाले कसैको भ्रममा नपर्न उहाँले सबैमा आव्हान गर्नुभयो ।

“कसै कसैले आफ्नो स्वार्थका लागि, आफ्ना सन्तान र आफन्तका लागि राजनीति गर्छन्, गरेका छन्, तर मेरो सन्तान र आफन्त भनेकै देशका जनता हुन्, म देश र जनताको लागि काम गर्छु” प्रधानमन्त्री ओलीले थप्नुभयो, “दश वर्ष जनयुद्ध लडेका घाइते, अङ्गभङ्ग भएकाहरुको पीडा नदेख्ने, आफ्नो छोराछोरी, ज्वाँई, आफन्त र आफ्नो स्वार्थका लागि मात्र राजनीति गर्ने ?” आफू नेतृत्वको सरकारले ती जनयुद्धका घाइते, पीडित सबैको पक्षमा काम गरिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

अहिले आफूहरु राजनीतिक र वैचारिक लडाईमा रहेको प्रष्ट पार्नुहुँदै अध्यक्ष ओलीले आफूहरुको स्पष्ट वैचारिक लक्ष्य रहेको पनि बताउनुभयो । “जनताको सुख, देशको विकास, मुलुकको सुशासन, संविधानको रक्षा र गरिबी अन्त्यगरी सुखी नेपाली बनाउने स्पष्ट लक्ष्य हाम्रो छ, त्यसकैलागि हामीले काम गरिरहेका छौं” उहाँले भन्नुभयो, “आफ्नो स्वार्थका लागि काम गर्नेहरु कालो सोच लिएर सडकमा सिनेमा देखाइरहेका छन्, त्यसबाट सबै सचेत रहौं ।”

नेपालका केही पत्रकार अस्वस्थ पत्रकारिता गरिरहेको टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री अ‍ोलीले पत्रकारलाई स्वस्थ, मर्यादित, तथ्यमा आधारित र देशभक्तिपूर्ण भावनाले पत्रकारिता गर्न आग्रह गर्नुभयो । सडकमा कसैले भ्रम फैलाउने तमासा देखाइरहेको छ भन्दैमा त्यहीलाई सत्य मानी समाचार सम्प्रेषण गर्दा जनतालाई भ्रमित पार्ने काम हुन्छ प्रधानमन्त्री ओलीले थप्नुभयो, “पत्रकारको बुद्धि कोल्टे नपरोस्, सामाजिक न्याय, समतामूलक समाज निर्माण र वास्तविक पीडामा परेकाहरुको पक्षमा कलम चलाइदिनुहोस् ।”

नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको राम्रो कामलाई समेत तथ्य बंग्याएर केही मिडियाले समाचार सम्प्रेषण गरिरहेकाले त्यसप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो । आन्दोलनका नाममा जनतामा भ्रम फैलाउने काम केही राजनीतिक दलबाट भएको भन्नुहुँदै उहाँले अध्यक्ष प्रचण्डले ‘ढाडमा टेकेर नेतृत्वलाई हिर्काउने’ प्रयास गर्दा आफै सडकमा पुगेको टिप्पणी गर्नुभयो ।

जनतामाझ जानु अग्रगमनको बाटो भएको चर्चा गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले केही नेताहरुको कुण्ठा, हिनताबोध र स्वार्थका कारण पार्टी फुटको संघारमा पुगेको बताउनुभयो । पत्रकारले वास्तविकता, सत्यतथ्यको खोजी गरेर सही र स्वस्थ समाचार जनतामाझ लग्नुपर्ने उहाँले आग्रह गर्नुभयो ।

नेकपा स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अहिले अग्रगमन र पश्चगमनबीचको लडाई भएकाले आफूहरु अग्रगमनको बाटोमा रहेको बताउनुभयो । अध्यक्ष प्रचण्ड पद र स्वार्थका लागि राजनीति गर्ने नेता भएको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीलाई प्रचण्डले पछार्न खोज्नुभएको थियो, तर आफै पछारिनुभयो ।” मांसाहारी आन्दोलन गर्छु भन्नेहरु पाखण्डी भएको उहाँले टिप्पणी गर्नुभयो ।

सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकमा फेरि राजनीतिक अस्थिरता ल्याउने प्रयास केही शक्तिबाट भएकाले त्यसतर्फ सबै पत्रकारलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो । मुलुकको अग्रगमनलाई पछार्न प्रतिगामी तत्वहरुले टक्कर दिइरहेको भएपनि अग्रगमनकै जित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेकपाका महासचिव विष्णु पौडेलले संविधानको रक्षा गर्दै युगिन परिवर्तनका लागि सरकारले काम गरिरहेकाले सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । मुलुक निर्वाचनमा जाने वातावरण बनिसकेकाले त्यसको तयारीका लागि भूमिका निर्वाह गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । न्यायालयको निर्णयको आफूहरुले पूर्णतः स्वागत गर्ने चर्चा गर्नुहुँदै अर्थमन्त्री समेत रहनुभएका पौडेलले प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै सम्भावना नरहेको प्रष्ट पार्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकको निकासका निम्ति बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरिएको बताउनुभयो । केही शक्तिहरुले मुलुक प्रतिगमनतिर जानलाग्यो भनेर अनेक भ्रम फैलाउने कसरतमा लागेकाले पत्रकारले त्यसलाई चिर्नुपर्ने उहाँले बताउनुभयो । समाज रुपान्तरणको काममा पत्रकारको भूमिका महत्वपूर्ण रहने भएकाले सबै किसिमको भ्रम चिर्दै समृद्धिका लागि कलम चलाउन उहाँले पत्रकारसँग आग्रह गर्नुभयो । पत्रकारको हक हित र अधिकारको पक्षमा सरकारले काम गरिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा पत्रकार नेताहरु डा. महेन्द्र विष्ट, गोपाल बुढाथोकी, यशोदा तिमिल्सिना, उजीर मगर, डण्ड गुरुङ, राजु लामा लगायतले धारणा राख्नुभएको थियो । भेलाले गणेश बस्नेतलाई संगठनको संयोजक चयन गरेको छ । यसअघि संगठनको अध्यक्ष महेश्वर दाहाल हुनुहुन्थ्यो । उहाँलाई संयोजकबाट हटाई बस्नेतलाई जिम्मेवारी दिएको हो । हालसम्म संयोजकको जिम्मेवारी निर्वाह गर्ने दाहाललाई धन्यवाद व्यक्त गर्दै भेलाले १५ बुँदे प्रस्ताव पारित गरेको छ । भेलाले बस्नेतको संयोजकत्वमा ३५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।

(गोरखापत्र अनलाइनबाट)

तपाईको प्रतिक्रिया