ठाकुरबाबा नगरपालिकाले पनि बरघरलाई कानूनी मान्यता दिने


सोम डेमनडौरा
वर्दिया, माघ २२ गते । ठाकुरबाबा नगरपालिकाका बरघरहरुको क्षमता विकासका लागि एक दिने अभिमुखीकरण कार्यक्रम ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा सम्पन्न भएको छ । कार्यक्रममा बरघरको वर्तमान अवस्था र सवाल, बरघरको भूमीका र जिम्मेवारी, बरघर प्रणाली संरक्षण र प्रवद्र्धनमा स्थानीय तहको दायित्व लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो ।

अभिमुखीकरणको शुभारम्भमा बोल्दै बरघर सन्जाल ठाकुरबाबा नगरपालिकाका सल्लाहकार मोहन थारुले बरघरहरुको क्षमता विकासका लागि माइन्युट लेखन, लेखा विधी र दस्तावेजीकरणजस्ता अत्यावश्यक तालिम दिनुपर्ने बताउनुभयो । यसैगरी, थारुले बरघरहरु गाउँमा मात्र सीमित नभएर वडा अध्यक्ष र नगर प्रमुखको तहसम्म पुग्ने क्षमता बढाउनु पर्ने बताउनुभयो ।

ठाकुरबाबा नगरपालिका बरघर सन्जालका अध्यक्ष तथा बरघर बुधराम थारुले सरकारी र गैरसरकारी निकायले बरघरहरुलाई बेठबेगारीको काममा लगाउने, सहभागी जुटाउनमा सहयोग माग्ने तर विकास निर्माण र निर्णायक तहमा सहभागी नगराएको गुनासो पोख्नुभयो । बरघरहरुले पनि आफ्नो अधिकार प्राप्तिका लागि सशक्त हुनुपर्ने सुझाव दिनुभयो ।

ठाकुरकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले ठाकुरबाबा नगरपालिकाले बरघरलाई कानूननी मान्यता दिने कुराको उठान पहिलो पटक गरेको बताउनुभयो । उहाँले बरघरलाई पहिलो पटक कानूनी मान्यता दिएकोमा बारबर्दिया नगरपालिकालाई धन्यवाद दिनुभयो । नगरपालिकाले बरघरहरुको सुझाबसहित ऐन बनाएर, बरघरहरुलाई कानूनी मान्यता दिइने बताउनुभयो ।

नगरपालिकाको उप–प्रमुख कृष्ण कुश्मा थारुले बरघरहरुलाई अनुगमनकर्ताकोरुपमा राख्दै कानूनी मान्यता दिन आफु तयार रहेको बताउनुभयो । ठाकुरबाबा नगरपालिकाका अध्यक्ष भिखु थारुको संयोजकत्वमा महिला तथा बालबालिका कल्याण उपशाखाकी प्रमुख रीता थारु सदस्यसचिब र ठाकुरबाबा नगर स्तरीय बरघर सन्जालका अध्यक्ष बुधराम सदस्य रहने गरी ३ सदस्यीय समिति गठन गरेका छन् ।

कार्यक्रमका सभाध्यक्ष भिखु थारुले नगरपालिकाको समग्र विकास गर्न थारु समुदायको विकास अनिवार्य रहेको बताउनुभयो । उहाँले बरघर थारु समुदाय पहिचान दिने प्रणाली रहेको भन्दै अबका बरघर आधुनिक विचारवान र बौद्धिक हुनुपर्ने समेत आग्रह गर्नुभयो ।

थारु समुदायमा बरघर प्रणालीमा रहेका बरघर र चौकीदारहरुको क्षमता विकासका लागि आयोजना गरिएको सो कार्यक्रमको सहजीकरण मानव अधिकारकर्मी सोम डेमनडौराले गर्नुभएको थियो । ५० बढि बरघर र चौकिदारहरुको सहभागितामा भएको सो कार्यक्रम आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद, ठाकुरबाबा नगरपालिकाको समन्वय र ठाकुरबाबा नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया