माग सम्बोधन गर्न थरुहट संघर्ष समितिको सरकारसँग पुनः आग्रह

सम्बोधन नभए माघ ४ बाट तराईको राजमार्ग थप्प पार्ने चेतावनी


Dang

काठमाडौं, पुस १७ गते । थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले थारु समुदायले उठाउँदै आएको मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरेको छ । शान्तिपूर्ण तवरले मागको सुनुवाई नभए माघ ४ गतेबाट तराईका सबै राजमार्ग थप्प पार्ने चेतावनी संघर्ष समितिले दिएको छ ।

संघर्ष समितिको शुक्रबार बसेको बैठकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रममा आन्दोलन परिचालन समितिको तयारी बैठक पौष १९ गते तराईका सबै जिल्लामा बस्ने, अपिल छपाई तथा वितरण सबै जिल्लाहरुमा गर्ने, पूर्ववत निर्णयका कार्यक्रमहरुः भित्तेलखन, तुल ब्यानर झुण्ड्याउने, कोणसभा, बिरोधसभा, जुलुश, धर्ना, आदि निरन्तर गर्दैजाने समितिले बताएको छ ।

संघर्ष समितिका संयोजक धनीराम चौधरीका अनुसार थरुहट÷थारुवान तराई भूभागमा चल्ने सबै यात्रुबाहक बस तथा मालबाहक यातायातका साधनहरुमा “थरुहट÷थारुवान स्वायत्त प्रदेश” लेखिएको स्टीकर माघ १ गते भित्रमा लगाउनु पर्ने, स्टीकर नलगाएको यातायातका साधनहरु चल्न रोक लगाइने बताएको छ ।

त्यस्तै, गाउँ, नगर, शहर तथा सदरमुकाममा जनजागरण तथा प्रशिक्षण अभियान प्रभावकारी ढंगले निरन्तर गर्दैजाने, संघर्ष समिति बिस्तार तथा परिचालन (बरघर÷महटाँवा, भलमन्सा, किसान, महिला, पेशाकर्मी, कर्मचारी, कमैया, कम्लहरी र यूवा विद्यार्थीको संगठन सशक्तरुपले) गर्ने, पुष २२ गते काठमाण्डौमा सर्वपक्षीय बृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्ने संघर्ष समितिले निर्णय गरेको छ ।

सोहीअनुसार थरुहट÷थारुवान जिल्ला लगायत काठमाण्डौ उपत्यकामा बृहत मशाल जुलुश सहित सात प्रदेशको खाका र संविधान संशोधन विधेयक पुष २१ गते साँझ ४ बजे जलाउने, संघर्ष समितिका केन्द्रीय सदस्यहरु पुष २१ गतेबाट काठमाण्डौ उपत्यका छोड्ने, थरुहट÷थारुवानमा रहेको सबै जिल्लाहरुमा पौष २२ देखि २९ गतेसम्म बृहत बिरोधसभा गर्ने संघर्ष समितिको कार्यक्रम छ ।

संयोजक चौधरीका अनुसार थप भेलाका कार्यक्रममा कञ्चनपुरमा पुष २२ गते, कैलालीमा २३ गते, बर्दिया २४ गते, बाँके २५ गते, दाङ्ग २६ गते, कपिलबस्तु र रुपन्देही (संयुक्त) २७ गते, नवलपरासी २८, चितवन २९ गर्ने आमसभा हुनेछ । त्यसैगरी पूर्वका पर्सा र बाराको संयुक्त पौष २२ गते, रौतहट २३ गते, सर्लाही महोत्तरी र धनुषा संयुक्त २४ गते, सिरहा २५ गते, सप्तरी २६ गते, उदयपुर २७ गते, मोरंग र सुनसरी २८ गते र झापा २९ गते बृहत बिरोध सभा गर्ने समितिले बताएको छ ।

Tharu

दवावस्वरुप थारु यूवा, विद्यार्थी, थारु यूवा स्वयम्सेवक (फेटा सहित) पौष २६ गते सबै जिल्लाहरुमा जुलुश प्रदर्शन गर्ने, महिलाहरुको झाडु तथा कुचो सहित जुलुश प्रदर्शन पौष २७ गते, राष्ट्रिय पर्व माघीलाई आन्दोलनको रुपमा देशव्यापीरुपमा मनाउने निर्णय संघर्ष समितिको छ ।
त्यस्तै, जारी शान्तिपूर्ण आमहडताल लाई सफल बनाउन माघ ४ गतेबाट राजमार्ग र सहायक मार्ग केन्द्रीत आन्दोलन गर्ने, गाँउ, नगर, शहर, सदरमुकाम आदि मुख्य मुख्य क्षेत्र निर्धारण गरी १२१ स्थानमा आन्दोलनको केन्द्रबिन्दू बनाउने र सो अनुरुप केन्द्रीय नेताहरुको नेतृत्वमा संघर्ष गर्ने तयारी भएको संयोजक चौधरीले बताउनुभयो ।

थारुले आन्दोलन थालेको १४२ दिन पूरा भइसक्दासमेत सरकारले वार्ताको नाममा थारु समुदायलाई अल्झाएकाले सशक्त दवावको कार्यक्रम गर्न बाध्य भएको संघर्ष समितिको बैठकले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया