थरुहट थारुवान राष्ट्रिय मोर्चाको सम्मेलन आजदेखि, हजारौंको सहभागिता रहने


हमार पहुरा डट कम
हसुलिया, (कैलाली) फागुन १५ गते । लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाको राष्ट्रिय सम्मेलन आजदेखि हुँदैछ । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा आजदेखि सम्मेलन हुन गइरहेको आयोजकले बताएको छ । सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहटले कार्यक्रममा युवा दस्तासमेत सार्वजनिक गर्ने भनेको छ ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा हजारौं थारुको सहभागिता रहने बताइएको छ । कार्यक्रममा अन्य राजनीतिक दलका नेता र संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा सहभागिताका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु हसुलियामा आउनेक्रम जारी रहेको आयोजकले बताएको छ । कार्यक्रमको करिब सबै तयारी पूरा भएको बताउँदै आज मध्याह्न १२ बजे देखि कार्यक्रम शुरुहुने मोर्चाका प्रवक्ता मिनराज थारुले बताउनुभयो । प्रवक्ता थारुका अनुसार कार्यक्रममा थरुहट युवा दस्ताको मार्च पास समेत हुनेछ । सम्मेलनमा ५० हजार व्यक्तिको सहभागिता रहने आयोजकले दावी गरेको छ ।

सम्मेलनको उद्घाटनपछि १६ गते आइतबार बन्दसत्र सुरु हुने र घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने प्रवक्ता थारुले बताउनुभयो । कार्यक्रमको उदघाटनसत्रमा थारु नेतासहित अन्य दलका नेताहरुले समेत सम्बोधन गर्ने बताइएको छ । टीकापुर घटनापछि थारुमाथि अन्याय भएको र झुठा आरोपमा पक्राउ परेका थारु राजबन्दीलाई विना शर्त रिहाई गर्नुपर्ने मुख्य माग आयोजकको रहेको छ ।

तपाईको प्रतिक्रिया