थरुहट थारुवान मोर्चाको सम्मेलन, टीकापुर घटनाका राजबन्दी रिहाईको माग


हमार पहुरा डट कम
हसुलिया (कैलाली), फागुन १५ गते । थरुहट थारुवान राष्ट्रिय मोर्चाका नेताहरुले राज्यको सबै निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीता सुनिश्चित्ताको माग गरेका छन् । थारु समुदायमाथि राज्यले सदियौंदेखि विभेद गर्दैआएको भन्दै अव सहेर नबस्ने चेतावनी दिएका छन् ।

मोर्चाको शनिबारदेखि शुरुभएको दुई दिवसीय सम्मेलनको उदघाटनसत्रमा शनिबार यहाँ बोल्दै नेताहरुले त्यस्तो बताउनुभयो । २०७२ भाद्र ७ गते घटेको टीकापुर घटनामा निर्दोष थारुलाई फँसाइएको भन्दै विना शर्त रिहाईको माग पनि वक्ताहरुले गरेका छन् । राजनीतिक घटनालाई जवर्जस्ती अपराधी घटना बनाई थारुमाथि दमनको नीति राज्यले लिएको आरोप थारु अगुवाहरुले लगाउनुभयो ।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितले टीकापुर घटना राजनीतिक घटना भएपनि थारुमाथि दमन गरी राज्यले निर्दोष थारुलाई पक्राउ गरी मुद्दा लगाएको टिप्पणी गर्नुभयो । तत्कालिन सरकारले टीकापुर घटना राजनीतिक आन्दोलन हो भन्दै मुद्दा खारेज गर्ने निर्णय गरेपनि कार्यान्वयनमा नआएको बताउनुभयो । टीकापुर घटनामा पीडितका लागि साढे १३ करोड रुपियाँ क्षतिपूर्तिको निर्णय आफू सरकारमा रहँदा गराएको उहाँले चर्चा गर्नुभयो ।

थरुहट थारुवान मोर्चाले उठाएको मुद्दा सम्बोधनमा आफ्नो साथ समर्थन रहेको भन्दै डा. दहितले भन्नुभयो, “पार्टीभित्र अन्तरसंघर्ष गर्दै टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाएर जेलबन्दीलाई रिहाई गराउनुपर्छ ।” पहिचान पक्षीय सबैसँग सहकार्य गरी राज्यलाई दवाव दिनुको विकल्प नभएको उहाँले बताउनुभयो ।

मोर्चाका संयोजक लक्ष्मण थारुले दासता विरुद्धको आफूहरुको अभियान नरोकिने बताउनुभयो । आफूहरु अपराधी र ज्यानमारा नभए पनि राज्यले जवर्जस्ती अपराधी बनाएको भन्दै नेता थारुले सरकारले माग सुनुवाई नगरे विद्रोह गर्ने चेतावनी दिनुभयो । खसान, लिम्बुवान, मगरातका समूहसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । ‘टीकापुर झुठा मुद्दा खारेज गर, राजबन्दीलाई रिहा गर’ नारा सो अवसरमा थारुले लगाएका थिए । थारुले भाषणको भ्वाईस रेकर्ड गरेर कार्यक्रममा पठाउनुभएको थियो । उहाँको उपस्थिति थिएन ।

मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज थारुले वर्तमान संविधानले थारुमाथि विभेद कायमै राखेकाले संशोधन नगरेसम्म चुप लागेर नबस्ने बताउनुभयो । थारुमाथि राज्यले सदियौंदेखि विभेद गर्दैआएकाले अव चुपलागेर नबस्ने, विभेदको पर्खाल भत्काएरै छाड्ने चेतावनी दिनुभयो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले थरुहटको आन्दोलनमा लिम्बुवानको साथ रहेको बताउनुभयो । टीकापुर घटना अरुले रचेको षडयन्त्र भएकाले थारुलाई दुःख दिन नमिल्ने उहाँले बताउनुभयो । टीकापुर घटनालाई अन्तर्राष्ट्रियकरण गरी त्यसको पर्दाफास गर्नुपर्ने उहाँले चर्चा गर्नुभयो । टीकापुर घटनामा पक्राउ परी कारागारमा रहेका सबै थारुलाई विना शर्त रिहाई गर्न उहाँले माग गर्नुभयो ।

मगरात संघर्ष समितिका संयोजक राम मगरले अव पार्टीभन्दा माथि उठेर जातीय सचेतना आवश्यक रहेको बताउनुभयो । पार्टीभित्र लागेर योगदान दिंदा पनि आदिबासी जनजातिको भलाई नभएको भन्दै उहाँले अव जातीयरुपमा अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा मोर्चाका सल्लाहकार गणेशमान महतो, प्रभा चौधरी लगायतले धारणा राख्नुभयो ।

तस्विरः सामाजिक सञ्जालबाट ।

तपाईको प्रतिक्रिया