हमार पहुरा डट कम
हसुलिया (कैलाली), फागुन १५ गते । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रामजनम चौधरीले थरुहट अधिकार प्राप्त गर्न सबै थारुको एकता अनिवार्य रहेको बताउनुभएको छ । मोर्चा एक्लैले संघर्ष गरेर अधिकार प्राप्त हुन नसक्ने उहाँले बताउनुभयो ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा आयोजित सम्मेलनमा शनिबार यहाँ बोल्दै पूर्वमन्त्री चौधरीले सो कुरा बताउनुभयो । थारुको अधिकार सुनिश्चित गराउन नेपाली काँग्रेस, नेकपा, जसपासहित सबै दलमा आवद्ध सबै विचारका थारुको एकता आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । हामी गोलबद्ध नहुँदासम्म अधिकार प्राप्त हुँदैन उहाँले भन्नुभयो ।
टीकापुर घटना घटिरहँदा आफूहरु ऋषि धमलाको रिपोर्टस क्लवमा रहेको भएपनि थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरी लगायतमाथि मुद्दा लगाइएको उहाँले चर्चा गर्नुभयो । टीकापुर घटनामा थारुमाथि राज्यले दमन गरेको उहाँले तर्क गर्नुभयो ।
लक्ष्मण थारु बाहिर रहँदा आन्दोलन उठाइरहन्छ भन्ने डरले अदालतले थारुलाई कैदको फैसला गरेको उहाँले टिप्पणी गर्नुभयो । काँग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई ललिता निवास जग्गा प्रकरणमा मुद्दा लगाइनु गलत भएको भन्दै पूर्वमन्त्री चौधरीले जिज्ञासा गर्नुभयो, “सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीलाई मुद्दा नलाग्ने, मन्त्रीहरुलाई किन मुद्दा लाग्ने ? राजनीतिक रङको आधारमा पक्षपातपूर्ण व्यवहार भएको उहाँले टिप्पणी गर्नुभयो ।
थरुहट आन्दोलन दवाउन खोजीखोजी थारु नेतृत्वकर्तालाई मुद्दा लगाउने काम भएको चर्चा गर्नुहुँदै पूर्वमन्त्री चौधरीले भन्नुभयो, “थारु आन्दोलन उठाउन पूर्वका थारु, आदिबासी जनजातिको पनि सहयोगको आवश्यक्ता छ ।” नेता चौधरी टीकापुर घटनाअघि थरुहट थारुवान संयुक्त संघर्ष समिति अन्तर्गतको थारु सांसदहरुको संयोजक भूमिकामा रहनु भएको थियो ।