हमार पहुरा डट कम
काठमाडौं, फागुन २० गते । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच तीन बुँदे सहमति भएको छ । जारी वार्ताका क्रममा राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने र सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको हो ।
त्यस्तै, सरकारले नेपाल कम्युनिष्ट पार्टी माथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । पक्राउ परेका सो समूहका सम्पूर्ण बन्दीहरुको रिहा र मुद्दा खारेजी लगायतका विषय सहमतिमा समेटिएको छ । सरकारसँग भएको सो समूहको सहमतिका बारेमा शुक्रबार दुवै पक्षले औपचारिक रुपमा कार्यक्रम मार्फत जानकारी गराउने प्रतिवद्धता जनाउनुभएको छ ।
सरकार र विप्लब समूहबीच विभिन्न चरणमा छलफल र वार्ता भएपछि हिंसात्मक राजनीतिमा रहेको सो समूह शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने सहमतिमा हस्ताक्षर गरेको छ । यसलाई ठूलो राजनीतिक सफलताको रुपमा सरकारले हेरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुुरुङले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) लाई शान्तिपूर्ण राजनीतिमा ल्याएर सरकारले ठूलो राजनीतिक सफलता हात पारेको बताउनुभएको छ ।