थारु आयोगको कार्यक्रमः थर सूचीकरणले थारु पहिचान कायम हुने विश्वास


हमार पहुरा डट कम
काठमाडौं, फागुन २८ गते । थारु आयोगले थारु समुदायको थर सूचीकरण सम्बन्धमा थारु अगुवाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार यहाँ आयोजित कार्यक्रममा थारुहरुको थर उपथरका बारेमा अन्तरक्रिया गरिएको हो ।

आयोगले त्रिभुवन विश्व विद्यालयको मानवशास्त्र विभागलाई थारु थर सूचीकरणका लागि जिम्मेवारी दिएको थियो । सो विभागले थारु समुदायका अनुसन्धानकर्ताहरुसँगको सहकार्यमा २०७७ असोजदेखि फागुनसम्म ६ महिना लगाएर अनुसन्धानको काम गरेको हो । सो विभागका प्रमुख डा. डम्बर चेम्जोङले बजेट सीमित्ता र समय सीमित्ताकाबीच काम गरिएको बताउनुभयो । छोटो समयमा कम बजेट र कम जनशक्तिमा गरिएको काम भएकाले पर्याप्त नरहेको उहाँले प्रष्ट पार्नुभयो ।

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा आयोगका सचिव कृष्णकान्त उपाध्यायले आयोगले आफ्नो बजेट अनुकुलतामा थारु समुदायको अधिकार तथा सांस्कृतिक संरक्षणमा भूमिका निर्वाह गरिरहेको बताउनुभयो । थारु थर सूचीकरणको कामले समुदायलाई लाभ पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

आयोगका सदस्य भोलाराम चौधरीले थारु समुदायको हकहित र सशक्तिकरणमा आयोग काम गरिरहेको बताउनुभयो । थारु संस्कृति, थारु ज्ञान सीपको संरक्षण तथा आयोग सञ्चालन ऐन र विनियमले दिएको क्षेत्राधिकारभित्र रहेर आयोगले काम गरिररहेको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा कृष्णराज सर्वहारी, छविलाल कोपिला, एकराज चौधरी, चन्द्रनारायण चौधरी, राकेश चौधरी, हरिमाया थनेट, रामसागर चौधरी लगायतले थर सूचीकरणको काम गर्नुभएको हो । सूचीकरण गरिएको थरमा थारु अगुवाहरुसँग छलफल र परामर्श गरी त्यसलाई अन्तिमरुप दिएर प्रकाशन गर्ने आयोगले बताएको छ । आयोगले करिब १६ लाख रुपियाँको बजेटमा सो कामको जिम्मेवारी टि.यू.लाई दिएको बताएको    छ ।

छलफल कार्यक्रममा थारु थर सूचीकरणले थारु पहिचान कायम हुने भन्दै थारु अगुवाले आयोगलाई धन्यवाद व्यक्त गर्नुभयो । थर सूचीकरणले थारुको इतिहास पहिचान गर्नमा समेत सघाउ पुग्ने उहाँहरुको भनाई छ । संकलित थर अझै पर्याप्त नरहेको र आगामी दिनमा थप थर संकलन गर्दै दस्तावेजीकरणको काम गर्नुपर्ने सुझाव वक्ताहरुको थियो ।

कार्यक्रममा भुलाई चौधरी, लक्की चौधरी, छविलाल कोपिला, फुलमान चौधरी, रामसागर चौधरी, सहदेव चौधरी लगायतले प्रतिवेदनबारेमा सुझाव दिनुएको थियो ।

तपाईको प्रतिक्रिया