हमार पहुरा डट कम
काठमाडौँ, चैत ४ गते । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको हो ।
महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । महासंघका उपाध्यक्ष दिलिप थापामगरकाअनुसार चैत २५ गते बुधबारका लागि निर्वाचन गर्ने आजको बैठकले निर्णय गरेको हो ।
चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाएको छ । समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहनुभएको छ ।
यसअघि पार्सद छनौट गरेर निर्वाचन हुने गरेपनि यस वर्षदेखि महासंघको निर्वाचन प्रत्यक्षमा गएको छ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निर्णय भएपछि महासंघका लागि यो नौलो अनुभव हो । महासंघका करिब १३ हजार साधारण सदस्यले आफ्नै जिल्ला शाखाको तोकिएको ठाउँबाट मतदान गर्न पाउनेछन् ।