राना र कठरिया थारु समुदायमा होरीको रौनक शुरु, गाउँघरमा रमझम


अविनाश चौधरी
धनगढी, चैत ५ गते । कैलाली र कञ्चनपुरमा बसोबास रहेको आदिवासी राना र कठरिया थारु समुदायमा ‘होरी’ पर्वको रौनक सुरु भएको छ । एक महिनाभन्दा बढी दिन धुमधामकासाथ मनाइने पर्वमा दुवै समुदायका मानिस रमाउन थालेका छन् । राना समुदायले माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म एक महिना आठ दिन र कठरिया थारु समुदायले करिब एक महिनासम्म होरी पर्व मनाउछन् ।

स्थानीय भाषामा होरी भनेको होली पर्व हो । दुवै समुदायको यो सबैभन्दा ठूलो पर्व हो । पर्व सुरु भएसँगै यी समुदायमा बसोबास रहेको गाउँबस्तीमा खुशीयाली । राना गाउँहरुमा राति होरी नाच नाचिन्छ । माघ पूर्णिमादेखि नै होरी सुरु भइसकेको राना समुदायका अगुवा नारायण रानाले बताउनुभयो ।

खक्डेहरा फुटाउने दिनसम्म गरेर एक महिना आठ दिन होरी पर्व मनाउने चलन रहेको उहाँले बताउनुभयो । यो समुदायमा चीर दहन नगर्दासम्म राति होरी नाच नाच्दै रमाउने चलन छ । यसरी होलिका दहनभन्दा अगाडिसम्म ‘जिन्दा होरी’ भन्ने गरिन्छ । त्यसैगरी, चीर दहनपछि भने रङ, अबिरको साथमा दिनमा होरी खेल्ने गरिन्छ । जसलाई ‘मरी होरी’ भन्ने गरिएको रानाले बताउनुभयो ।

राना समुदायको होरी पर्वको अन्तिम र सबैभन्दा महत्वपूर्ण दिन खक्डेहरा हो । यो दिन होरी पर्व बिसर्जन गरेर मिठो, मिष्ठान खाने चलन छ । खक्डेहराको दिन सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिँदैआएको छ । होरी पर्वमा साली नाता पर्नेले आफ्नो भिनाजु वा नजिकका मित्रलाई निम्तो गरेर मिठो मसिनो खुवाउने चलन छ । पाहुना बस्न गएका भिनाजु वा मित्रले आफ्नो क्षमतानुसारको रुपियाँ वा श्रृङ्गारका सामानसहित सालीलाई दक्षिणा दिने चलन छ ।

यस्तै, कैलालीमा बसोबास गर्ने कठरिया थारु समुदायले पनि धुमधामसँग होरी पर्व मनाइरहेका छन् । युवायुवती तथा महिला घरघरमा होरी नाच नाचेर उल्लासपूर्वक पर्व मनाउन थालेका हुन ।

कठरिया थारु समुदायमा चार प्रकारको होरी नाच हुनेगरेको छ । सो समुदायका अगुवाकाअनुसार ठर्मा होरीमा पुरुषमात्रै सहभागी भएर नाचगान गर्छन् । यसैगरी, पाका पुरुष मात्रै सहभागी भएर नाचिने होरीलाई बन्ना होरी भनिन्छ । महिला मात्रै नाच्ने मिच्चा होरी र महिला पुरुष दुवै मिलेर नाच्ने होरीलाई आधुनिक होरी भन्ने गरिएको छ । होरी पर्वमा मिठा परिकार बनाएर खाने चलन रहेको कैलारी गाउँपालिका–१ मझरा गाउँका डिल्लीराज कठरियाले बताउनुभयो ।

कैलाली, कञ्चनपुरमा बसोबास रहेको दुवै समुदायको जनसंख्या थोरै छ । छुट्टै सांस्कृतिक पहिचान भएका दुवै समुदायले धुमधामकासाथ होरी पर्व मनाउँदैआएका छन् । दुवै समुदायको भेषभूषा, रहनसहन एक–आपसमा नमिले पनि मनाउने पर्वको नाम भने मिल्छ । दुवै समुदायले होरी नाच नाचेर होरी पर्व मनाउँछन् ।

गोरखापत्र अनलाइन डट कम बाट ।

तपाईको प्रतिक्रिया