हमार पहुरा डट कम
काठमाडौं, चैत १० गते । थारु कल्याणकारिणी सभा (थाकस) नेतृत्वको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आफ्नो अगुवाईमा जारी राखेको धर्ना कार्यक्रमलाई आज तेस्रो दिन पनि निरन्तरता दिएको छ । टीकापुर घटनाका राजबन्दीको तत्काल रिहाई तथा झुठा मुद्दा खारेजको माग गर्दै समितिले धर्ना कार्यक्रम आइतबारदेखि शुरु गरेको हो ।
थाकसका महामन्त्री प्रेमीलाल चौधरीकाअनुसार पहिलो चरणको धर्ना कार्यक्रम आगामी शुक्रबारसम्म जारी रहनेछ । सरकारलाई दवाव दिने उद्देश्यसाथ धर्ना कार्यक्रम आयोजना गरिएको जानकारी दिनुहुँदै महामन्त्री चौधरीले आज मंगलबारको धर्ना कार्यक्रममा ४८ जनाको सहभागीता रहेको बताउनुभयो ।
थाकसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सोही मागको ज्ञापनपत्र पनि बुझाएको छ । आजको धर्ना कार्यक्रममा थाकस मोरङका सभापति प्रदीप भगत थारु र संविधानसभाका पूर्व सदस्य राजकुमार लिम्बुले धारणा राख्नुभयो । थारु समुदायको राजनीतिक माग सम्बोधनका लागि दवावस्वरुप कार्यक्रम गर्नेक्रममा षडयन्त्रपूर्वक टीकापुर घटना घटाइएको भन्दै रेशमलाल चोधरीसहित सबै नर्दोष थारुलाई विना शर्त रिहाईको माग उहाँहरुले गर्नुभयो ।
धर्ना कार्यक्रममा कार्यबाहक सभापति कन्नुलाल चौधरी, संगठन विभाग प्रमुख रुक्मिणी चौधरी, महामन्त्री प्रेमीलाल चौधरीसहित महिला, युवा विद्यार्थीहरुको सहभागिता थियो ।