हमार पहुरा डट कम
काठमाडौं, चैत ११ गते । विश्व शान्तिका लागि कार्यरत हेवेनली कल्चर वल्ड पिस रिसेरेशन अफ लाइट (एचडब्ल्यूपीएल) गैर सरकारी अन्तर्राष्ट्रिय संस्थाले म्यानमारको हालको स्थितिलाई लिएर गहिरो चिन्ता व्यक्त गरेको छ ।
म्यानमारमा सैनिक कू भएपछि त्यहाँको अवस्था तनावग्रस्त छ । ठूलोमात्रामा जनधनको क्षति भइरहेको छ । “कुनै पनि परिस्थितिमा मानव जीवनलाई बेवास्ता गर्नु हुँदैन, स्वार्थको कुनै द्वन्द्वले नागरिकमाथि हुने हिंसालाई जायज ठहराउन सकिदैन” सो संस्थाले भनेको छ ।
शान्तिपूर्ण प्रदर्शन र परिवर्तनका लागि उठेको आवाजलाई दवाउन हिंसाको प्रयोग म्यानमारका लागि जनताको इच्छा विपरित भएको एचडब्ल्यूपीएलको ठहर छ । म्यानमार सरकारले मानवाधिकार तथा जनताको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने सो संस्थाले आग्रह गरेको छ । समस्या समाधानका लागि बार्तामा संलग्न हुन आग्रह पनि सो संस्थाले गरेको छ ।
अहिले अन्तर्राष्ट्रिय समुदायको ध्यान म्यानमारमा केन्द्रित रहेको चर्चा गर्दै सो संस्थाले भनेको छ, “आउँदो पुस्ताका लागि पनि परिस्थितिलाई निस्पक्ष र शान्तिमय ढङ्गले समाधान गर्नुपर्छ ।” सबै पक्षलाई दमन र बल प्रयोग नगरी आपसी सम्मान र समझदारीबाट समस्या समाधान गर्न सो संस्थाले आव्हान गरेको छ ।
एचडब्ल्यूपीएलका शान्ति अधिवक्ता मान ही लीले एक विज्ञप्ती जारी गर्दै संयुक्त राष्ट्र संघलाई म्यानमारमा आवश्यक कदम चाल्न आग्रह गर्नुभएको छ । म्यानमारका जनताको मानवअधिकार र सुरक्षाको विषयमा राष्ट्रसंघले भूमिका खेल्नुपर्ने सो संस्थाले आग्रह गरेको छ ।