सरकारी वार्ता टोली गठनको थाकसद्वारा स्वागत, बार्ता टोली घोषणाको तयारी


हमार पहुरा डट कम
काठमाडौं, चैत १६ गते । थारु कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग बार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सरकारले तीन सदस्यीय बार्ता टोली गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्ता टोली गठन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार बार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेकपा (एमाले) केन्द्रीय सदस्य भगवती चौधरी रहनुभएको छ ।

थाकसले १९ बुँदे माग राखी एक साता धर्ना कार्यक्रम गरेपछि सरकारले वार्ताका लागि बार्ता टोली गठन गरी आज सोमबार सार्वजनिक गरेको हो । सरकारका प्रवक्ता समेत रहेका पार्वत गुरुङले वार्ता टोलीले थाकससँग बार्ता गरी ठोस सहमति गर्ने बताउनुभयो ।

थाकसको स्वागत
थारु कल्याणकारिणी सभा (थाकस) ले सरकारले वार्ता टोली गठन गरी सार्वजनिक गरेको कदमको स्वागत गरेको छ । थाकसको संगठन विभाग प्रमुख तथा पूर्व सांसद रुक्मिणी चौधरीले सरकारले वार्ता टोली गठन गरेकोमा खुशी व्यक्त गर्दै थाकसले सकारात्मक रुपमा लिएको बताउनुभयो । थाकसले आज सोमबार साँझसम्म वार्ता टोली सार्वजनिक गर्ने बताएको छ ।

वार्ता टोली गठन गर्ने जिम्मेवारी केन्द्रीय अध्यक्ष चौधरीलाई अख्तियारी दिएको थाकसले जनाएको छ । केन्द्रीय कमिटी बैठकले सो अख्तियारी दिएको संगठन विभाग प्रमुख चौधरीले जानकारी दिनुभयो । “हामी बार्ता विरोधी होइनौं, हाम्रो १९ बुँदे मागमै केन्द्रित भएर सरकारसँग वार्ता गर्न हामी तयार छौं” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया