सरकार र थरुहटबीच आज वार्ता, गृह मन्त्रालयमा दिउँसो १ बजेदेखि बार्ता हुने


हमार पहुरा डट कम
काठमाडौं, चैत १७ गते । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीच आज दिउँसो वार्ता हुँदैछ । गृहमन्त्रालयमा आज १ बजेपछि दुई पक्षबीच वार्ता हुने समितिका सदस्यहरुले जानकारी गराउनुभएको छ ।

थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आज मंगलबार विहान पाँच सदस्यीय बार्ता टोली गठन गरेपछि सरकारसँग बार्ता हुन लागेको हो । सरकारले सोमबार नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी बार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहनुभएको छ ।

थाकसद्वारा गठित वार्ता टोलीको संयोजकमा पूर्व सांसद रुक्मिणी चौधरी रहनुभएको छ । संघर्ष समितिकी उपसंयोजक तथा थाकसको संगठन विभाग प्रमुख समेत रहनुभएकी चौधरीलाई संयोजकको जिम्मेवारी दिइएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिनुभयो ।

वार्ता टोलीका सदस्यमा महामन्त्री प्रेमीलाल चौधरी, सांसद एवम् नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरी, थाकस केन्द्रीय सदस्य प्रभातकुमार चौधरी र थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी रहनुभएको छ । महामन्त्री चौधरीकाअनुसार यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा केन्द्रित भएर सरकारी वार्ता टोलीसँग छलफल हुनेछ ।

मागमा सांसद रेशम चौधरी तथा टीकापुर घटनाका दोसी करार गरिएकाहरुको रिहाई, झुठा मुद्दा खारेजी, २०७२ भदौ ८ गते टीकापुर घटनापछि थारुहरुको घरमा भएको लुटपात, आगजनी, चेलीबेटीमाथि गरिएको हातपातमा संलग्न दोसीको पत्ता लगाई कारवाहीको मागसमेत गरिएको छ । त्यस्तै, राज्यको सबै निकायमा समानुपातिक प्रतिनिधित्व, जनसंख्याको आधारमा लोकसेवा आयोगमा प्रतिशत निर्धारण र संविधान संशोधनको मुद्दासमेत छन् ।

गोरखापत्र अनलाइन डट कमबाट

तपाईको प्रतिक्रिया