जनगणनाबारे जागरण कार्यक्रम आवश्यक रहेको थारु अगुवाहरुको भनाई


हमार पहुरा डट कम
काठमाडौं, चैत २९ गते । जनगणना २०७८ बारे थारु समुदायमा ‘जनगणना जागरण’ कार्यक्रम आवश्यक रहेको थारु अगुवाहरुले बताउनुभएको छ । अहिलेसम्म भएका ११ वटा जनगणनाले थारुको वास्तविक जनसंख्या ल्याउन नसकेकोभन्दै यसपालीको जनगणनामा थारुको जनसंख्या ल्याउने बारेमा थारु समुदाय सचेत हुनुपर्ने सुझाव वक्ताहरुले दिनुभयो ।

उदयपुर थारु जागरण समाजद्वारा आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ तथा थारु भाषा कार्यक्रम गोष्ठीमा बोल्दै वक्ताहरुले सो सुझाव दिनुभयो । जनगणनाबारे अझै थारु समुदायमा सचेतना जगाउन नसकिएकाले वास्तविक तथ्याङ्क आउन नसकेको केहीको बुझाई छ ।

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले राज्यको हरेक निकायमा थारुको सहभागिता सुनिश्चित् गर्न जनसंख्या महत्वपूर्ण औजार भएको बताउनुभयो । वास्तविक तथ्याङ्क आउन नसक्दा अधिकारबाट थारु समुदाय बञ्चित भइरहकेो उहाँले बताउनुभयो । यसअघि गरिएका जनगणनामा थारु समुदायको वास्तविक तथ्याङ्क आउन नसक्नुको कारणबारे अध्ययन गर्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।

प्रतिनिधिसभाका सदस्य तेजुलाल चौधरीले थारु समुदायमा जनगणनाबारे जागरण ल्याउने काममा थारु आयोग र थारु कल्याणकारिणी सभा (थाकस) ले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । थारु समुदायको वास्तविक तथ्याङ्क आउन नसक्नुमा शिक्षाको कमजोरी रहेको भन्दै सांसद चौधरीले युवाहरुलाई शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।

नेता राजकुमार लेखीले संविधानले सुनिश्चित् गरेका अधिकार समेत कार्यान्वयन नभएको बताउनुभयो । भएको अधिकार सम्बोधनका लागि थारु संघ संस्थाले दवावमूलक कार्यक्रम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । संविधान कार्यान्वयन नहुनुमा थारु समुदायको पनि कमजोरी रहेको उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा थाकसका उपाध्यक्ष कन्नुलाल चौधरी, महामन्त्री प्रेमीलाल चौधरी, आयोगका सदस्य भोलाराम चौधरी, थारु विज्ञ भुलाई चौधरी, थारु मानक भाषा निर्माण मस्यौदा समितिका संयोजक कुछतनारायण चौधरी, पत्रकार लक्की चौधरी, किशोर चौधरी लगायतले जनगणनाको महत्व र थारु समुदायको अवस्थाबारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रम जागरण समाजका अध्यक्ष रमानन्द चौधरीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया