मानक भाषा निर्माणमा सहकार्य गरेर अघि बढ्ने थारु आयोगको प्रतिवद्धता


हमार पहुरा डट कम
काठमाडौं, चैत ३१ गते । थारु मानक भाषा मूल मस्यौदा समितिका पदाधिकारीहरुले थारु आयोगका अध्यक्षसहित सदस्य र कर्मचारीहरुसँग थारु मानक भाषा निर्माणको विषयमा छलफल गरेका छन् । आयोगका पदाधिकारीहरुले मानक भाषा बनाउने विषयमा आफूहरुको दायित्व र कर्तव्य भएकाले सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

आयोगको कार्यकक्षमा भएको दुई पक्षीय छलफल सकारात्मक रहेको आयोगको तर्फबाट हुनसक्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु मानक भाषाको लेखन निर्देशिका तयार गरी अगाडि बढ्न सुझाव दिनुभयो । थारु मानक बनाउँदा सबै क्षेत्रका थारुलाई स्वीकार्य हुनुपर्ने भएकाले समय लागेपनि सरल र व्यवहारिक बन्न आवश्यक रहेको बताउनुभयो ।

आयोगका सदस्य भोलाराम चौधरीले थारु साझा मानक भाषा बन्न जरुरी रहेको र त्यसकालागि चुनौति भने कम नरहेको बताउनुभयो । भाषिक सर्वेक्षण र वर्ण पहिचान नै प्रमुख चुनौतिको काम भएको चर्चा गर्नुहुँदै सदस्य चौधरीले नमिल्ने शब्दलाई प्रयायवाचीकोरुपमा राखेर साझा मानक बनाउन सम्भव रहेको बताउनुभयो । मानक बन्नेक्रममा आयोगको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

आयोगका सदस्य सुवोधसिंह थारुले साझा थारु मानक भाषा बन्न अति आवश्यक रहेकाले आयोगको तर्फबाट हुनसक्ने सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । मानक बन्न नसक्दा थारुको लेखनशैलीमा एकरुपता आउन नसकेको उहाँले बताउनुभयो ।

आयोगका सचिव कृष्णकान्त उपाध्यायले आयोगले गर्नुपर्ने कामको अगुवाई थारु कल्याणकारिणी सभा (थाकस) ले गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो । आयोगको जिम्मेवारी नै थारु भाषा संस्कृतिकको संरक्षण र प्रवद्र्धन गर्नु रहेकाले सहकार्य गरेर अघि बढ्न आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो ।

छलफल कार्यक्रममा मस्यौदा समितिका संयोजक कुछतनारायण चौधरीले पहिलो तीन वर्षे कार्ययोजनाबारे प्रष्ट पार्नुभएको थियो । मानक भाषा बनाउन जटिल भएपनि असम्भव नरहेको चर्चा गर्दै संयोजक चौधरीले आयोगसहित अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोग र समन्वयमै काम अघि बढ्ने बताउनुभयो । मानक निर्माणको प्रक्रिया शुरु भइसकेकाले समिति आन्तरिकरुपमा सक्रिय भएर काम गरिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

बैठकमा मस्यौदा समितिका सहसंयोजक बुद्धसेन चौधरी, सदस्यसचिव लक्की चौधरी, सचिवालय सदस्य रामबहादुर चौधरी तथा आयोगका प्रवक्ता पद्मनिधि सोती, सूचना अधिकारी जागुराम चौधरी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया