थारु पत्रकार संघ, नेपालको राष्ट्रिय भेला सम्पन्न, देशभरबाट पत्रकार सहभागी


हमार पहुरा डट कम
बारवर्दिया, वैशाख ६ गते । थारु पत्रकार सघ, नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ । हिजो आइतबारदेखि शुरुभएको भेला सोमबार सम्पन्न भएको हो । वर्दियाको रम्मापुर थारु होमष्टेमा भएको भेलामा पूर्व सुनसरीदेखि पश्चिम कञ्चनपुरसम्मका करिब ५० जना थारु पत्रकारको सहभागिता थियो ।

रम्मापुर ७, मा पर्ने थारु होमष्टेमा भएको भेलामा थारु पत्रकारको अवस्था, नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको समिक्षा तथा आगामी रणनीति, महासंघमा नवनिर्वाचित थारु पत्रकारलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम गरिएको छ ।

संघका अध्यक्ष सन्तोष दहितकाअनुसार कार्यक्रम दुई चरणमा सम्पन्न भएको छ । आइतबार साँझ संघको केन्द्रीय कमिटी बैठक, सोमबार विहान थारु पत्रकार र नेपाल पत्रकार महासंघ निर्वाचनको समिक्षात्मक छलफल तथा थारु बरघर प्रणाली, कानुनी मान्यता र कार्यान्वयनका विषयमा समेत छलफल भएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघमा नवनिर्वाचित थारु पत्रकारलाई संघले बधाई तथा सम्मान गरेको छ ।

संघका महासचिव सन्तकुमार चौधरीकाअनुसार पहिलो सत्रमा आज विहान थारु पत्रकार र महासंघको रणनीतिक योजना र आगामी कार्यनीतिबारे महासंघका पूर्व केन्द्रीय सदस्य लक्की चौधरीले कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसैगरी दोस्रो सत्रमा थारु बरघर प्रणाली, कानुनी मान्यता र कार्यान्वयनको विषयमा पत्रकार एकराज चौधरीले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

बारवर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर चौधरीले कृषि पर्यटनका लागि बारबर्दिया सम्भावित क्षेत्र भएको जानकारी दिनुहुँदै त्यसबारे समाचार प्रकाशन गरेर सहयोग गर्न पत्रकारसँग आग्रह गर्नुभयो । थारु समुदाय आफै पछाडि नपरेको बल्की पछाडि पारिएको समुदाय भएकाले पहिचानका लागि एक भएर संघर्ष गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

थारु पत्रकार तथा लेखकको राज्यको उपल्लो निकायमा सहभागीता नभएकै कारण थारुको पहिचान र इतिहास बंग्याउने काम भइरहेको चर्चा गर्नुहुँदै नगरप्रमुख चौधरीले पत्रकारलाई चनाखो भएर पहिचान कायम गर्नमा जुट्न आग्रह गर्नुभयो । इतिहास रचना गर्ने काममा पत्रकारको भूमिका महत्वपूर्ण रहने उहाँले चर्चा गर्नुभयो ।

नगर उपप्रमुख अन्जु दहित चौधरीले राम्रो कामलाई राम्रो भनेर समाचार प्रकाशन प्रशारण गर्न पत्रकारलाई आग्रह गर्नुभयो । नगरपालिकाकाले राम्रो काम गर्दा समेत पत्रकारले समाचार नलेखिदिंदा जनतामा सकारात्मक सन्देश जान नसकेको भन्नुहुँदै उपप्रमुख दहितले पत्रकार महासंघमा थारु पत्रकारको नेतृत्वका लागि एक भएर लाग्न पत्रकारहरुलाई सुझाव दिनुभयो ।

संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा बरघर सञ्जाल वर्दियाका अध्यक्ष रामशरण चौधरी, थारु लेखक तथा अभियन्ता सुशील चौधरी, थारु पत्रकास संघ नेपालका कानुनी सल्लाहकार ठाकुरसिंह थारु, युनिक नेपाल वर्दियाका प्रेम चौधरी, संघका उपाध्यक्ष उन्नति चौधरी लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

दोस्रो चरणको बरघर प्रणालीबारेको विचार गोष्ठीमा स्थानीय करिब ५० बढी बरघरहरुको सक्रिय सहभागिता थियो । गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथि साहित्यकार सुशील चौधरीले टिप्पणी गर्नुभयो । कार्यक्रममा बरघरहरुले समेत आफ्नो धारणा राख्नुभयो ।

२०६७ चैत १६ गते विधिवत दर्ता भई सञ्चालनमा रहेको संघमा करिब चार सय थारु पत्रकार आवद्ध छन् । त्यस्तै, महासंघमा दुईसय बढी पत्रकार साधारण सदस्यता लिई आवद्ध रहेको आयोजकले जनाएको छ । हालसालै महासंघमा करिब ३७ जना थारु पत्रकार विभिन्न पदमा निर्वाचित भएका छन् । महासंघको देशर १७ जिल्लामा कार्यसमिति रहेको छ ।

तपाईको प्रतिक्रिया