तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न, अब्बल पत्रकार बन्न सुझाव


हमार पहुरा डट कम
सुख्खड (कैलाली)ं, वैशाख ९ गते । थारु पत्रकारका लागि आयोजना गरिएको तीन दिने आधारभूत पत्रकारिता तालिम विहिबार सम्पन्न भएको छ । गत मंगलबारदेखि कैलालीको सुख्खडमा आयोजित तालिम विहिबार समापन भएको हो ।

हरचाली त्रैमासिक पत्रिका तथा थारुनके डट कमको आयोजनामा भएको तीन दिने तालिममा कैलाली र कञ्चनपुरका गरी २६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिममा पत्रकार लक्की चौधरी र चाँदनी आचार्यले प्रशिक्षण दिनुभएको थियो । तालिममा १५ जना महिला र ११ जना पुरुष प्रशिक्षार्थी सहभागी रहेका थिए ।

कार्यक्रमको समापनमा बोल्नुहुँदै घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले पत्रकारिता विशिष्ट पेशा व्यवसाय भएकाले पत्रकार पेशाप्रति संवेदनशील बन्न आवश्यक रहेको बताउनुभयो । पत्रकारहरु समाजप्रति उत्तरदायी हुनुपर्ने चर्चा गर्दै प्रमुख चौधरीले भन्नुभयो, “पत्रकारको दायित्व विशिष्ट हुन्छ, पत्रकारले आफूलाई समयानुकुल परिस्किृत र अब्बल गर्दैजानुपर्छ ।” पत्रकारले समाचार तयार पार्दा सत्य र तथ्यमा ख्याल गर्न अनिवार्य रहेको उहाँले बताउनुभयो ।

प्रमुख प्रशिक्षक लक्की चौधरीले पत्रकारिता पेशा चुनौति र अवसरले भरिएको पेशा भएकाले पत्रकारले आफूलाई प्रतिस्पर्धी, सक्षम र समयानुकुल अपडेट बनाउन अनिवार्य रहेको बताउनुभयो । समाज समयानुकुल सक्षम र प्रगतिशील हुँदैगएकाले पत्रकार आफूलाई अब्बल र प्रतिस्पर्धी बनाउन नसक्ने हो भने सफलता प्राप्त हुन नसक्ने उहाँले बताउनुभयो । पत्रकारिता पेशा समाजलाई बाटो देखाउने अगुवा पेशा भएकाले सहीलाई सही र गलतलाई गलत भन्ने आँट पत्रकारमा हुनुपर्ने उहाँले चर्चा गर्नुभयो ।

हरचाली साहित्यिक पत्रिकाका सम्पादक प्रकाशक सागर कुश्मीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रशिक्षक चाँदनी आचार्य, प्रशिक्षार्थी रविता चौधरी, अंकर अन्जान चौधरी, शान्ति चौधरी लगायतले तालिममा सिकेको विषयबारे धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया