संविधानसभा सदस्य रबनी चौधरीको कोरोनाका कारण धनगढीमा निधन


हमार पहुरा डट कम
धनगढी, वैशाख १९ गते । संविधानसभाका सदस्य रवनी चौधरीको निधन भएको छ । कोरोना संक्रमित भएपछि कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार गराइरहनुभएका चौधरीको आइतबार दिउँसो १ बजेतिर निधन भएको एमाले नेता तथा स्थानीय केवालाल चौधरीले जानकारी दिनुभयो ।

पहिलो संविधानसभामा चौधरी नेकपा (एमाले) को तर्फबाट समानुपातिक सभासद हुनुहुन्थ्यो । कोरोना संक्रमण भएपछि उहाँ चार दिनदेखि उपचाररत हुनुहुन्थ्यो । स्थानीय एमाले नेता चौधरीकाअनुसार उहाँलाई श्वास प्रश्वासमा समस्या भएपछि चारदिन अघि नवजीवन अस्पताल भर्ना हुनुभएको थियो ।

कैलाली क्षेत्र नं. २ स्थित, लम्कीचुहा ६, बाघमारा निवासी पूर्व कमैया परिवारका चौधरीका दुई छोरा छन् । पछिल्लो समय चौधरी नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो । उहाँलाई मृगौलासम्बन्धी समस्या रहेको स्थानीय नेता केवालाल चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया