प्रधानमन्त्रीको विश्वासको मत अस्वीकृत, पक्षमा ९३ विपक्षमा १२४ मत


हमार पहुरा डट कम
काठमाडौं, वैशाख २७ गते । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको विश्वासको मत अस्वीकृत भएको छ । प्रधानमन्त्रीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको छ । त्यस्तै १५ सांसद तटस्थ बसे । यो सँगै प्रधानमन्त्री ओलीले संसदबाट बहुमत गुमाउनुभएको छ ।

सोमबार दिउँसो बानेश्वरस्थित संसद भवनमा भएको संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत प्रस्ताव गर्नुभएको थियो । बैठकमा जम्मा २३२ सांसद उपस्थित भए । हाल कायम रहेको कुल २७१ सांसद मध्ये एमालेका नेता माधव नेपाल पक्षका सांसदहरुको उपस्थिति रहेन । मतदानमा ३९ सांसद अनुपस्थित रहे ।

सो अघि बैठकमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशको राजनीतिक स्थायित्व र स्थायित्वका लागि आफूलाई मतदान गर्न आव्हान गर्नुभएको थियो । मतदानमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रले विपक्षमा मत हाले । जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद तटस्थ बसे भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदले विपक्षमा मतदान गरे ।

संसदबाट प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएसँगै उहाँ पदमुक्त हुनुभएको छ । संवैधानिक व्यवस्थाअनुसार अर्को सरकार गठन नहुँदासम्मका लागि यही सरकार कामचलाउ सरकारको रुपमा काम गर्नेछ ।  प्रधानमन्त्री ओलीलाई आफ्नै दलका २८ जना सांसदले मतदान गरेनन् । नेता नेपाल पक्षका प्रत्यक्ष र समानुपातिक गरी २८ सांसद मतदानमा भाग लिएनन् ।

तपाईको प्रतिक्रिया